|

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि केन्द्रबाट पाँच दलीय गठबन्धनलाई उत्साहजनक रुपमा लैजाने निर्णय भयो। केन्द्र बाटै मुख्य आकर्षणको केन्द्र महानगर र उपमहानगरको भागबण्डा पाँच दलले मिलायो।

तर गाउँ/नगरमा भने पाँच दलबीच अपेक्षा गरिए अनुसार गठबन्धन जान सकेन। गठबन्धनमा सामेल भएका केही शीर्ष नेताहरु नै अहिले निरास भएका छन्।

गठबन्धनमै सकस परिरहेकाे बेलामा महानगर र उपमहानगरका भागबण्डा केन्द्रबाट मिलाइएको छ।

प्रमुख पदमा गठबन्धनकै शीर्ष नेताहरुका आफन्तलाई अगाडि सारिएकाे छ। ६ महानगरको मुख्य भागबण्डामै शीर्ष नेताहरुका आफन्त हाबी भएपछि त्यसकाे चाैतर्फी आलोचना भइरहेको छ। 

६ वटा महानगरमध्ये आकर्षणको केन्द्र बनेको थियो चितवनको भरतपुर महानगर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र मात्रै नभएर उनकै छोरी रेणुलाई दोहोर्‍याउने आकांक्षाले याे आलोचित बन्न पुग्याे। ०७४ को निर्वाचनमा पनि कांग्रेसले माओवादीलाई सघाएको थियो।

प्रचण्डले अहिले पनि गठबन्धनको साझा उम्मेदवारको रुपमा आफ्नै छोरी रेणुलाई महानगरको टिकट दिलाए। प्रचण्डले केन्द्रबाट छोरीलाई टिकट दिलाए पनि चितवन कांग्रेस सन्तुष्ट छैन।

०७४ सालकाे निर्वाचनमा झिनो मतले जितेकी रेणुलाई अहिले महानगरमा बाजी मार्न मुस्किल छ।

चितवनमा एमालेले लाेकप्रिय उम्मेदवार विजय सुवेदीलाई अगाडि सारेको छ। उनलाई राप्रपा र राप्रपा नेपाल दुवैको साथ छ। चितवनको नतिजा उल्टाउन राप्रपाकाे भूमिका महत्वपूर्ण हुन्छ। 

प्रचण्डकाे ठूलाे बलले टिकट पाएकी रेणु  प्रचण्डको छोरी भएको कारणले आफूले टिकट नपाएको दाबी गर्छिन्।

‘दुःख लाग्छ, २५/३० वर्ष भयो म राजनीतिमा सक्रिय छु। हिजोको त्यो कहालीलाग्दो अवस्थाबाट जुन संघर्षको मैदानबाट लड्दै पड्दै आजसम्म निरन्तर जनताको सेवामा छु। मलाई यत्तिकै ‘बा’(प्रचण्ड) ले  टपक्क टिपेर ल्याएर यो कुर्सीमा राखिदिएको त होइन नि!’ उनले थाहाखबरसँगको अन्तर्वार्तामा भनेकी थिइन्। 

त्यसो त सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेता सिर्जना सिंह पनि पछिल्लो राजनीतिमा सक्रिय थिइनन्।

राजनीतिमा सक्रिय भएका नेताहरुलाई पछाडि पारेर टिकट दिनुमा श्रीमान प्रकाशमान सिंहकै हात छ।

कांग्रेसले पाएका ३ महानगरमध्ये  नेता सिंहले काठमाडाैं, सभापति देउवाले ललितपुर र अर्का नेता डा‍‍. शेखर कोइरालाले विराटनगर महानगर भाग पाए।

नेता सिंहले श्रीमतीलाई टिकट दिँदै गर्दा नेता काेइरालाले विराटनगरमा उनका आफन्त समेत रहेका नागेश कोइरालालाई टिकट दिए।

देउवाले प्रकाशमानलाई १४ औं महाधिवेशनमा सभापतिमा सघाएको गुन तिर्नकै लागि मेयरकाे टिकट दिएकाे राजनीतिक वृत्तमा चर्चा छ। सभापितकाे दाैडमा रहेका नेता सिंहले अन्तिम अवस्थामा देउवालाई साथ दिएका थिए।

श्रीमती सिंह भने श्रीमान् प्रकाशमानको कारणले मात्रै टिकट पाएको स्वीकार्न तयार छैनन्। 

उनले मनोनयन दर्तापछि भनिन्, ‘मैले राजनीति छाडेको छैन। मैले कुनै पद लिएकाे थिइनँ। तर म सधैंँ महाधिवेशन प्रतिनिधि भएर सहभागी भइरहेकै थिएँ।  विभिन्न भातृ संगठनहरुमा सक्रिय भएर लागेको छु।’

विराटनगरमा पनि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई टिकट दिइएको छ। उनी उपेन्द्रकै सचिवालयमा बसेर काम गरेको भएपनि राजनीतिमा रुझेका व्यक्ति होइनन्।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले पनि आफ्नै भाइ कृष्णप्रसाद सापकोटालाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाकाे मेयर टिकट दिलाएका छन्। 

चौताराको मेयरको टिकटको बिषयलाई लिएर सोमबार उम्मेदवारी दर्ता गर्ने बेलामा समेत झडप भएको थियो। अग्निका भाइ कृष्णप्रसादले टिकट पाएपछि निवर्तमान मेयर अमानसिं तामाङ पक्षसँग झडप भएको थियो।

निवर्तमान मेयर तामाङलाई अध्यक्ष प्रचण्डले टिकट दिइसकेको अवस्थामा अग्निको  पावरमा कृष्णप्रसादले टिकट अपहरण गरेको उनको आरोप छ।

‘यहि वैशाख ३० गतेको स्थानीय निर्वाचनमा पार्टी अध्यक्ष क. प्रचण्डले बारबार टिकट मलाई दिँदा पनि बीचबाट अग्नि सापकोटाको पावरमा कृष्णप्रसाद सापकोटाले अपहरण गरेका छन्’ नेता तामाङको भनाइ थियो।

त्यसो त ०७४ को स्थानीय तहको निर्वाचनमा पनि अमानसिं र बागमती प्रदेशको पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद)बीच टिकटको टकराब परेको थियो।

प्रचण्डले अमानसिंलाई फिर्ता ल्याउन पहल गरेपनि उनी बागी उम्मेदवारी दिन तयार भएपछि प्रचण्ड समेत पछि हटेका थिए।

अमानसिंले अडान नछाडेपछि दुलाललाई प्रदेशको टिकट सुनिश्चित गराएर ‘ब्याक’ हटाएका थिए। अहिले पनि नेता तामाङले जनताको माग भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी माओवादीबाट टिकट नपाए एमाले या कांग्रेसमा जाने सम्मकाे तयारीमा थिए।

तर, टिकट दिने आश्वासन दिएर अन्तिम समयमा आएर खोसेको उनको आरोप छ।   

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले पनि भाइलाई उम्मेदवार बनाएका छन्। गृहमन्त्री खाँणले भाइ रामकृष्ण खाँणलाई रुपन्देहीकाे तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनाएका छन्। यसअघि राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका खाँणलाई यसपटक गठबन्धनबाट अगाडि सारिएको हो। 

कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले पनि एमालेसँगको गठबन्धनमा तनहूँ व्यासको मेयरमा छाेरा दीपकराज जोशीलाई अगाडि सारेका छन्। लामो समय अमेरिका बसेर फर्केर दीपकराज पछिल्लो समय राजनीतिमा सक्रिय थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.