|

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १७ दिन मात्र बाँकी छ। विभिन्न राजनीतिक दलले स्थानीय तहमा धमाधम उम्मेदवार छनोट गरिसकेका छन्। 

स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्। कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। विभिन्न दलले आफ्नो उमेदवार दर्ता गरिरहेका छन्। नेपाली कांग्रेससँगको गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका तर्फबाट पोखरा महानगरपालिकामा धनराज आचार्यको उम्मेदवारी दर्ता भएको छ। 

यतिवेला  पोखरामा कांग्रेसले रुखबाहेक अरु कुनै पनि चुनाव चिह्नमा भोट नहाल्ने भन्दै स्ठानीय कांग्रेस कार्यकर्ताले विरोध जनाइरहेका छन्। यसरी विवादको बीचमा स्थानीय निर्वाचन कसरी जित्नु हुन्छ?  गठबन्धन विवादले कस्तो असर पर्ने देखिन्छ ? चुनाव जित्ने आधार के छ? र आगामी योजनालगायत विषयमा पोखरा महानगरपालिकाको प्रमुखका उम्मेदवार धनराज आचार्यसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी :

पोखरा महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गर्नु भएको छ। कस्तो छ तयारी? 

व्यक्तिगत हिसाबले नेकपा एकीकृत समाजवादी पार्टीका रुपमा पोखरा महानगरपालिकाको प्रमुख (मेयर) मा सोमबार मनोनयन पत्र दर्ता भएको छ। दर्तामा जाने क्रममा गठबन्धनमा रहेका राजनीतिक दलका तर्फबाट संयुक्त रुपमा उपप्रमुखमा नेपाली कांग्रेसकी नेता कोपिला रानाभाटसहित निवेदन दर्ता  गरेका छौं।  

मेयरको उम्मेदवारीभन्दा पनि यो हाम्रो उम्मेदवारी हो। वैशाख ३० मा हुने निर्वाचनका लागि प्रारम्भिक तयारी पूरा भइसकेको छ। पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। वैशाख १५ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छौं। साना योजना बनाउनका लागि सुक्ष्म ढंगबाट काम भइसकेको छ। समग्रमा भन्नु पर्दा सबै तयार पूरा भइसकेको अवस्था छ।

तपाईं गठबन्धनमाथि कति भर पर्नु भएको छ? 

मनोनयन दर्ता गर्नुभन्दा पहिला विवाद आएको थियो। सोमबार सबै पार्टीका शीर्ष नेताबीच भएको छलफलबाट त्यो समस्या हल भयो। गठबन्धनबाट अरुको उम्मेदवारी दर्ता भएको छैन। त्यसकारण पनि विवाद छैन। गठबन्धनमा मलाई पूरा भर छ। समस्या हुने देखिएको छैन। 

गठबन्धनमा देखिएको  विवादले असर पर्छ कि पार्दैन?

विवादले  कुनै असर पर्ने अवस्था छैन। तर स्वतन्त्र उमेदवारहरू अभियानकै रुपमा आउनु भएको छ। जसका कारण भोट काटिने अवस्था भने छ। असर पर्छ, तर गठबन्धनको विवादले भने असर पर्दैन। त्यसमा हामी ढुक्क छौं। 

के छन् तपाईंका चुनावी एजेण्डा?

आफ्नो-आफ्नो पार्टीका तर्फबाट चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छौं। बिहीबार सबै पार्टीको संयुक्त कार्यक्रम समेटेर आधुनिक महानगर बनाउने घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छौं। अबको ५ वर्षमा पोखरालाई के गर्ने‚ कस्तो बनाउने भन्ने विषयमा काम भइरहेको छ। संयुक्त एजेण्डा र नारा सार्वजनिक गर्ने तयारीमा रहेका छौं।  

नेपालका मुख्य शहरमध्ये पोखरा पर्छ त्यति हुँदाहुँदै पनि यहाँका ८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन्। आगामी २ वर्षमा सो संख्या शून्यमा झार्ने छौं। सुन्दर, शान्त र प्राकृतिक हिसाबले अझ मनोरम बनाउन धेरै कार्यक्रम अगाडि सारिएको छ। त्यसमा पनि पूरा गर्न सकिने विषय मात्र अगाडि सारेका छौं।

चुनाव जित्ने तपाईंका आधारहरू के के छन्? 

मेरो जितको आधार नै गठबन्धन हो। गठबन्धनमा मिलेर अगाडि बढेका छौं‚ जसमा शक्ति छ। त्यो नै जितको मुख्य आधार हो। चुनाव जित्नेमा कुनै आशंका छैन। त्यसमा कुनै विशेष आधार खोज्नुपर्ने कुनै विषय नै रहँदैन। 

यसको मतलब एकीकृत समाजवादी एक्लै जाँदा हारिन्थ्यो भन्न खोज्नु भएको हो? 

पक्कै पनि एक्लाएक्लै जाँदा भोट बाँडिने कुरा हुन्छ। त्यसले गर्दा पनि जित सुनिश्चित हुँदैनथ्यो। एक्लाएक्लै हिँड्नु र शक्ति समूहमा हिँड्नुमा फरक पर्छ। गठबन्धनमा गयौं र जितको आधार तयार भयो। एकतामा नै बल छ भन्ने कुरा पुष्टि भयो।

पोखराको प्रमुख निर्वाचित हुनु भयो भने के के गर्ने योजना बनाउनु भएको छ? 

गठबन्धनले जितेमा पहिला हामी गरिब को हुन्, कहाँ बस्छन् खोजेर एउटा कार्ड दिन्छौँ। उनीहरूलाई रातो परिचयपत्र दिनुपर्छ। रोजगारी, स्वास्थ्य र उनीहरूका छोराछोरीलाई पढाउने व्यवस्था हामी गर्छौँ। मध्यम वर्गलाई हामी शहर मिलेर बनाउनु पर्छ भनेर सँगै लैजान्छौँ। र, माथिल्लो वर्गलाई आफ्नै पीडा छन्। त्यो वर्गका छोराछोरी यहाँ छैनन्, विदेशमा छन्। उनीहरू मृत्यु भएपछि पनि ४ दिन बरफमा बस्नुपर्ने अवस्थामा छन्। हामीले उनीहरूलाई फर्काउने कार्यक्रम ल्याउनु पर्छ।

मध्यमालाई पहेँलो र माथिल्लोलाई हरियो कार्ड दिन्छौँ। दाबी गर्छु, राम्रोसँग योजना बनाएर काम गर्‍यौँ भने दुई वर्षमा रातो कार्ड लिएकालाई पहेँलो, पहेँलो भएका १० प्रतिशतलाई हरियो कार्ड लिने बनाउन सक्छौँ। पोखराका मान्छे खुशी छन्, समृद्ध छन् भन्ने बुझाउँछौँ। कुनै लोभ र डर भएन भने सिस्टम बन्छ। नेतृत्वमा बसेकामा लोभ र डर भएकाले सिस्टम नसुध्रिएको हो। हामी नेतृत्वमा गयौँ भने सुशासन दिन सक्छौँ। 

सतही रुपले हेर्दा हामीले गर्छु भनेका काम असम्भव जस्तो देखिन्छ। तर आम्दानी जुटाउने धेरै ठाउँ छन्। कसैले दिन खोज्छ भने मैले दिएको कुरा सही ठाउँमा लगानी हुन्छ भन्ने कुराको ग्यारेन्टी हुनुपर्छ। त्यसका लागि जनताको मन जित्नुपर्छ, कहाँ काम गर्दै छु भन्ने देखाउन सक्नुपर्छ‚ पार्टनरसिप पाइन्छ। थुप्रै अन्तरराष्ट्रिय संस्था छन् जसले पोखरामा आएर काम गर्दिन सक्छन् तर हामीसँग योजना हुनुपर्छ। 

पोखराको फेवातालमाथि थुप्रै अनुत्तरित प्रश्नहरु छन् त्यसको खोजी गर्ने काम गर्छु। सरकारले मलाई केही दिएको छ भन्ने जनताले अनुभूत गर्नुपर्छ। देख्नेबित्तिकै ठग्न आयो भन्ने वातावरण रहनु हुँदैन। सरकार हाम्रो साथी हो, अप्ठेरो पर्दा यसले हामीलाई छाता ओढाउँछ भन्ने अनुभूति दिन सक्नुपर्छ र जनतासँग सहकार्य गर्नुपर्छ। जनताबाट कर लैजाने, त्यो कहाँ प्रयोग भएको छ भन्ने देखाउनुभयो भने समस्या हुँदैन।  

गठबन्धनबाट जोसुकै मेयर भए पनि गरेका वाचा पूरा किन नगरेको भनेर बाटोमा बोलाएर सोध्न सक्नुहुन्छ भनेर घोषणापत्रमा लेख्छौँ। गठबन्धनको उम्मेदवारलाई गलत काम गर्ने छुट हुने छैन। हामी जनताका प्रतिनिधि हुन जाने हो, नेता हुन होइन। यो संस्थामा पुर्ख्यौली सम्पत्तिजस्तो गरेर रजाइँ गर्ने काम भयो। जुन काम जनप्रतिनिधिले गर्नु हुँदैनथ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.