|

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। सम्बन्धित स्थानीय तहका उम्मेदवारले पनि घोषणापत्र  मतदातासामु पेश गरिरहेका छन्।

स्थानीय तहलक्षित गरेर प्रमुख दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका विषय पनि समेटिएका छन। नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा  लोकप्रिय हुने खालका स्वास्थ्यका कार्यक्रम समेटेका छन्। उनीहरूले निःशुल्क उपचार, स्वास्थ्य बिमादेखि वडा–वडामा अस्पताल र गाउँमा विशेषज्ञ चिकित्सा सेवासहितका कार्यक्रम समेटेका छन्। माओवादी केन्द्रले भने स्थानीय निर्वाचनका लागि केन्द्रबाट घोषणापत्र ल्याएन।

यस्तो छ काँग्रेसको घोषणापत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने आधार

काँग्रेसले यस पटकको घोषणापत्रमा आगामी पाँच वर्षमा स्थानीय तहमा स्वास्थ्यको बजेट स्थानीय तहबाट स्वास्थ्यमा १० प्रतिशत बजेट,सुत्केरी महिलालाई ५ हजार भत्ता दिने, नियमित परीक्षण गर्न वडामै प्रयोगशाला सुविधा र टेलिमेडिसिन सेवा तथातीन वर्षभित्र सबै विद्यालयमा नर्सको व्यवस्था गर्ने उल्लेख गरेको छ।

नसर्ने रोगको वर्षमा एकपटक निःशुल्क परीक्षण गर्ने र सहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गर्ने विषय पनि समेटिएको छ। मेरो स्वास्थ्यः म स्वस्थ र मेरो गाउँ नगर स्वस्थ अभियान  एक स्थानीय तह–एक पार्क, गाउँ–नगरमा फार्मेसी सञ्चालनः अस्पताल फार्मेसी सुलभ बनाउनेजस्ता विषय पनि उल्लेख छन्।

आपतकालीन स्वास्थ्य संयन्त्र र द्रुत प्रतिकार्य टोली बनाउने, दुर्गममा आकस्मिक उद्धार कोषमार्फत सेवा दिने र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर स्थानीय तहको सेवामा सहभागी गराउने जस्ता लोकप्रिय कार्यक्रम समेटिएका छन्।

यस्तै नसर्ने रोगहरूको बढ्दो चापलाई न्यून गर्न ४० वर्ष माथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मृगौला रोग, श्वासप्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिब लगायतका लागि नियमित जाँच र वर्षमा एक पटक निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भनिएको छ।

मानसिक स्वास्थ्यको रोकथाम र उपचारका लागि आधारभूत स्वास्थ्य केन्द्र, जनता स्वास्थ्य केन्द्र र अस्पतालबाट परामर्श र सेवा प्रदान, गाउँ–नगरपालिकामा न्युनतम एक पुन:स्थापना केन्द्रस्थापना गर्ने लगायत विषय कांग्रेसको घोणणापत्रमा उल्लेख छ।

यी हुन् एमालेले समेटेको स्वास्थ्यका विषय

स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) को घोषणापत्रमा आगामी पाँच वर्षमा गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा आफूहरूले गर्नसक्ने केही योजना समेटेको छ। आगामी पाँच वर्षमा नि:शुल्क आधारभूत स्वास्थ्य सेवा, तथा जटिल रोगको नि:शुल्क उपचार गर्ने तथा प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने उल्लेख छ।

प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने, स्थानीय सूचना प्रणालीलाई केन्द्रीय सूचना प्रणालीसँग आबद्ध गराउने स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गम्भीर प्रकृतिको अपांगता भएका व्यक्तिको पुन:स्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलब्ध गराउने व्यवस्था गर्ने लगायत प्रतिबद्धता जनाइएको छ।

एकीकृत समाजवादी : घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने 

 एकीकृत समाजवादी पार्टीले पनि आफ्नो चुनावी घोषणा पत्रमा लोकप्रिय स्वास्थ्यका कार्यक्रम समेटेको छ। समाजवादीले आफ्नो घोषणापत्रमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्राथमिकता दिने भनेको छ। यसलाई स्थानीय सरकारको बजेटको १ नम्बर प्राथमिकतामा राखेको एमालेले बताएको छ। यस्तै जटिल खालका शल्यक्रिया बाहेकका सेवा निःशुल्क गर्ने बताएको छ।

स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवाको व्यवस्था गर्ने, पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गर्ने,  स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोक्ने, मोबाइल नर्सिङ, घुम्ती स्वास्थ्य शिविर र टेलिमेडिसिनसहित टोल—टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने विषय समेटिएको छ।

घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने, सबै पालिकामा बर्थिङ सेन्टर र प्रयोगशाला,  सबै पालिकामा एम्बुलेन्स सेवा, स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई तालिम र प्रोत्साहन, स्वास्थ्य बिमा सहज र सुलभ बनाउने पनि दाबी गरिएको छ।  अस्पताल र स्वास्थ्य संस्था स्तरोन्नति, साधन स्रोत र जनशक्तियुक्त बनाउने  र, बौद्धिक अपांगता भएकाको उपचारको व्यवस्था गर्ने लगायतका लोकप्रिय विषय एकीकृत समाजवादीले घोषणापत्रमा उल्लेख गरेको छ।

जसपाको घोषणापत्र : वृद्धवृद्धाको स्याहार–सुसार गर्न विशेष आवास गृह 

स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले सार्वजनिक गरेको घोषणापत्रमा वृद्धवृद्धाको स्याहार–सुसार गर्न नसक्ने परिवारका लागि विशेष आवास गृह सञ्चालन गर्ने  उल्लेख छ। यस्तै हरेक वडामा जेष्ठ नागरिक भेटघाट केन्द्र निर्माण गर्ने बताइएको छ।यस्तै विशेषज्ञ सेवा सहितको एउटा स्वास्थ्य संस्था खोल्ने,प्रत्येक पालिकामा वर्थिङ सेन्टर स्थापना गर्ने, प्रत्येक वडामा एक चिकित्सक सेवासहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने बताइएको छ। 

स्वास्थ्य चौकी वा केन्द्रहरूको भौतिक पूर्वाधार र जनशक्तिलाई एउटै मापदण्डमा सञ्चालन गर्ने, नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा ५–१५ बहु विशेषज्ञ सेवा सुविधासहितको अस्पताल स्थापना गर्ने विषय जसपाले समेटेको छ। पाँच वर्षभित्र सबैस्तरका पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गर्ने र अति विपन्नको बिमा शुल्क स्थानीय तहले उपलब्ध गराउने जस्ता मतदाता आकर्षित हुने कार्यक्रम समावेश गरिएको छ। युवा तथा लैङ्गिक मैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा सचेतना सञ्चालन गर्ने पनि जसपाको भनाइ छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी : सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि  चुनावी घोषणा पत्रमा सबै नागरिकलाई अनिवार्य र निःशुल्क स्वास्थ्य बिमाको विषय उठाएको छ। 

हरेक वडामा स्वास्थ्य चौकी, निःशुल्क गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवा।

सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम।

प्रत्येक वडामा प्रसूति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई मासिक तीन हजार भत्ता।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता।

सिकलेस एनिमियाजस्ता रोगका बिरामीलाई निःशुल्क उपचार।

क्यान्सर, मिर्गौला र मेरुदण्ड रोगबाट पीडितलाई मासिक स्वास्थ्य भत्ता। 

प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप।

प्रत्येक स्थानीय तहमा कम्तीमा एक सुलभ औषधि पसलको व्यवस्था गर्ने।

विवेकशील साझा पार्टी : मातृशिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षा​

विवेकशील साझा पार्टीले पनि आफ्नो घोषणापत्रमा लोकप्रिय स्वास्थ्यका कार्यक्रम समेटेको छ। मातृशिशु र ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति र सुविधा वृद्धि गर्ने, सबै उमेर समूहका नागरिकको मानसिक तथा मनोसामाजिक स्वास्थ्यका लागि स्वास्थ्य केन्द्रमा विशेषज्ञको व्यवस्था गर्ने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.