पार्टीको कारबाही मानेर जनताको साथमा अघि बढ्छुुु : पौडेल

|

काठमाडौं : ‘प्रचण्डको अस्थिरताको कारण छोरीलाई भरतपुर महानगरको मेयर कताबाट बनाउन पाइन्छ भन्नेमै हो। कुन पार्टीबाट कसरी भन्नेमा के भन्ने पनि छैन। उहाँको गन्तव्य छोरीलाई भरतपुरको मेयर। अरू केही छैन। कांग्रेससँग प्रचण्डले गरेको चर्को ‘बार्गेनिङ’ त्यही हो’ एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए। 

ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिएर त्यति मात्रै भनेनन् ०७४ को निर्वाचनमा पनि आफूले रेनुलाई मेयर नबनाउने बताएपछि कांग्रेससँग गठबन्धन गर्न पुगेको बताए। 

‘उहाँले मैले रेनुलाई मेयर नबनाउने भनेपछि म छोरीलाई मेयर नबनाइ छोड्दिनँ भनेर लागौँ त आफ्नो बाटो भन्नुभयो। मैले म छोरीलाई मेयर बनाउन त सक्दिनँ तर भएसम्म मिलेर जाऔँ भन्दा भन्दै झोला टिपेर हिँड्नुभएको थियो। कहाँ जानुभएछ भन्दा त बूढानीलकण्ठ पुगेछन्’  ओलीको भनाइ थियो। 

०७४ को निर्वाचनमा पनि भरतपुर महानगरको मेयरमा प्रचण्डले आफ्नी छोरी रेनुलाई कांग्रेससँग तालमेल गरेर जिताएका थिए। अहिले पनि पाँच दलीय गठबन्धनको मुख्य भागबण्डाको केन्द्र भरतपुर महानगर नै बनेको थियो। प्रचण्डको रेनुलाई दोहोर्‍याउने आकांक्षाले चितवन कांग्रेसमा विद्रोह हुन थालेको छ। 

०७४ को निर्वाचनमा पनि माओवादीलाई बाध्य भएर छाडेको भरतपुर महानगर अहिले फेरि केन्द्रले रेनुलाई नै टिकट दिएपछि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ। गठबन्धनको साझा उम्मेदवारको रूपमा रेनुले उम्मेदवारी दर्ता गर्दै गर्दा कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गरेका छन्। 

पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ सक्रिय भएर लागेका छन्। 

देउवाको दूत बनेर पौडेललाई फकाउन गृहमन्त्री खाँण बुधबार चितवन गएका थिए। खाँण चितवनमा रहेको बेलामा राज्यमन्त्री श्रेष्ठ पनि बिहीबार भरतपुर पुगेका छन्। पौडेलको घरमै भेटेर फर्केपछि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। त्यसो त पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि बुधबार मंगलबार प्रचण्ड भरतपुर सुटुक्क पुगेर फर्किएका थिए। ​

‘ब्याक हुन्न’

तर, गृहमन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठसँग भेटेपछि उम्मेदवार पौडेल भने अब पछि हट्न नसक्ने बताउँछन्। उनले थाहाखबरसँग भने, ‘गृहमन्त्रीज्यूले मलाई पार्टी र गठबन्धनलाई सहयोग गर्न उम्मेदवार फिर्ता गर्न भन्नुभयो। तर, मैले धेरै अगाडि बढिसकेको कारणले पछि हट्न नसक्ने जवाफ दिएँ।’

भरतपुरका कांग्रेसका नेता कार्यकर्ताको बलियो साथ पाएकाले आफूले उम्मेदवारी दिएको दाबी गर्छन्। उनले कांग्रेसकै रक्षा गर्नको लागि उम्मेदवारी दिएको बताउँछन्। 

तपाईं पार्टीको निर्णयविपरीत जानु भएकाले कारबाही गर्ला नि भन्ने प्रश्नमा उनले भने, ‘पार्टीको निर्णय नमानेपछि कारबाही सामान्य कुरा हुने नै भइहाल्यो। तर, अब जनताको भावनाविपरीत फिर्ता हुन सक्दिनँ।’ 

भरतपुर कांग्रेसका नेता कार्यकर्ताले रूखमै भोट हाल्न नपाए पनि व्यक्ति हेरेर आफूलाई मतदान गर्ने उनको विश्वास छ। ‘मैले एक्लै यो निर्णय गरेको होइन। त्यसैले अब निर्वाचनका प्रक्रियामा अघि बढिसकेको छु। चुनाव चिह्न पाएपछि अभियानमा लाग्छु’ उनले भने। 

गृहमन्त्री खाँणले आफूसँग वार्तामा बस्न भनेको समेत बताए। यता, पौडेलसँग भेटेर फर्किएको गृहमन्त्री खाँण भने पार्टीको निर्णयमा मान्ने विश्वास व्यक्त गर्छन्।

खाँणले पत्रकारसँग कुरा गर्दै भने , ‘उहाँले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने मेरो विश्वास छ। पार्टीको निर्णय सबैले मानेर जानुपर्छ।’ 

एमाले-राप्रपाको चुनौती 

भरतपुर महानगरमा एमालेले राप्रपा र राप्रपा नेपालसँग तालमेल गरेको छ। प्रचण्डले भरतपुर महानगरमा रेनुलाई जिताउने रणनीति अख्तियार गरिरहेको बेलामा एमालेले काउण्टर दिनको लागि दुवै राप्रपासँग हातेमालो गरेको छ। 

एमालेले भरतपुर महानगरमा लोकप्रिय उम्मेदवार विजय सुवेदीलाई खडा गरेको छ। प्रचण्डलाई काउण्टर दिन महानगरको उपमेयर छाडेर एमालेले राप्रपाका हिमला गुरुङले उम्मेदवारी दिएकी छन्। 

एमाले र दुई राप्रपाबीच वडा तहसम्म तालमेलको सहमति गरेकाले गठबन्धनकी उम्मेदवार रेनुलाई चुनौती छ।

एमालेका उम्मेदवार सुवेदी गठबन्धनले आफूलाई चुनौती दिन नसक्ने दाबी गर्छन्। 

उनी भन्छन्, ‘गठबन्धनले मलाई चुनौती दिन सक्छ जस्तो लाग्दैन। चितवनबासीले मलाई मत दिन तयार हुनुहुन्छ। यहाँको जनताको ममाथि ठूलो विश्वास र भरोसा छ।’ 

भरतपुर महानगर बनाउने योजनाको साथ अगाडि बढेको उनको जिकिर छ।

०७४ को निर्वाचनमा रेनुले ४३ हजार १ सय २७ मत ल्याएर विजयी भएकी थिइन। उनलाई कांग्रेसले समर्थन गरेको थियो। कांग्रेसको समर्थन पाउँदासमेत उनले एमालेका उम्मेदवार देवी ज्ञवालीसँग थोरै मतले जितेकी थिइन्। 

एमालेका ज्ञवालीले ४१ हजार ९ सय २४ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमल्सिनाले ४ हजार ४ सय ८१ मत ल्याएका थिए। गठबन्धनभित्र बागी उम्मेदवारी परेको बेलामा एमाले-राप्रपाको तालमेलले गठबन्धनमा चुनौती थपिएको छ। 

गठबन्धनको डर 

गठबन्धनबारे शीर्ष तहमा सहमति बनेपछि तल्लो तहमा विवाद बढ्दो छ। केन्द्रमा शीर्ष नेताहरूमा सहमति बनेपछि जिल्ला तहमा विवाद बनपछि केन्द्रबाट कडाइ गरिएको छ। पार्टी सहमतिविरुद्ध गठबन्धनभित्र बागी परेको उम्मेदवार फिर्ता गराउने शीर्ष नेताहरूले निर्देशनसमेत दिइसकेका छन्। 

बुधबार बालुवाटारमा बसेको बैठककाे सात बुँदे निर्देशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका थिए। 

६ महानगर र ११ उप-महानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्वन्धित दलले फिर्ता गर्ने, गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारहरू फिर्ता गराउन सम्वन्धित दलले आवश्यक कार्य गर्ने सहमतिपत्रमा उल्लेख गरिएको थियो। 

शीर्ष तहमा गठबन्धनमा सहमति बनेपछि जिल्ला तहमा विवाद बढ्दै गएपछि गठबन्धनमा डर बढेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.