सिमराबाट नेपाल प्रवेश गरी नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने

|

काठमाडौं :  संघीय राजधानी काठमाडौंको २२ डिग्री तापक्रम। बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तिर यात्रुको भीडभाड।

समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो। सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक टर्मिनलमा तर, यो भीडभाड व्यवसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चढ्न तम्तयार यात्रु थिए।

आन्तरिक यात्रुले यसै पनि भीडभाड हुने आन्तरिक टर्मिनलमा एकैपटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो। नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ठ व्यक्ति एवं चालक दलका सदस्य २६० यात्रु सवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सको) वाइड बडी जहाजमा थिए।

काठमाडौं विमानस्थलबाट साँझ ५ :१२ बजे मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजले उडान भरेर ५: ५५ बजे अवतरण भएको थियो। काठमाडौंबाट भैरहवा २७ मिनेटको उडान भएपनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गरेर राउण्ड लाएपछि अवतरण गरेको थियो।

भैरहवाको ३८ डिग्री तापक्रमको प्रवाह नगरी काठमाडौंबाट ओर्लिएको भीडले विमानस्थलमा थप उल्लासमय बनायो। स्थानीयको उपस्थिति, सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो। वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई राउण्ड मारेर अवतरण गर्दा जहाजभित्र गडगडाहत ताली बजे।

जहाज अवतरण भएपछि पानीका फोहोरालाई स्वागत गरियो। विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीड देखियो।

सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पनि चानचुने विषय थिएन। वाइड बडी जहाजको चालकदलका सदस्यको नेतृत्व गरेका वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति भएको बताए।

यसले गर्दा नेपालको लुम्बिनीलाई संसारभर चिनाउँछ नै यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाइ थियो। 'यसले इन्धन बचतमा समेत सहयोग पुग्ने। हरेक उडानमा ३५० किलो हवाई इन्धन पनि बचत हुने भएकाले यो राज्यको बचत पनि गराउँछ', उनले भने।

'अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएको छ। 'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट, प्रोसिउडर डिजाइनिङ लगायत केहिमा समस्या छैन', क्याप्टेन रिजालले भने।

विमानस्थलको धावनमार्ग काठमाडौंबाट आउने २–८ र पश्चिमतर्फ लुम्बिनीबाट आउने १–० रुटको दुवैतर्फबाट वाइड बडीले अवतरणको प्रयास गरेको थियो। दुवैतर्फबाट जहाज सहज रुपमै अवतरण गर्न सकिने क्याप्टेन रिजालको भनाइ छ। काठमाडौंबाट आएको वाइड बडी जहाज २–८ बाट अवतरण भएको थियो। अहिलेको लागि १–० रुट नै सहज हुने क्याप्टेन रिजालले बताए।

अब अन्तर्राष्ट्रिय उडानका जहाज नेपालको हवाई प्रवेश बिन्दु सिमराबाट नेपाल प्रवेश गरी नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन्।

वाइड बडी जहाजको भैरहवा अवतरण सामान्य थिएन। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो जहाजले उडान भरेको क्षण नयाँ परिघटना नै थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

 'नेपालको भूमिमध्ये काठमाडौं बाहेक अन्य भूमिमा पहिलो पटक वाइड बडी जहाज अवतरण गर्दैछ। नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षमा यो कोशेढुंगा भएको छ। अहिलेसम्म ठूला जहाज काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए', उनले भने।

विमानस्थलमा करिब दुई घण्टाको औपचारिक कार्यक्रमपछि काठमाडौंबाट गएको मन्त्रीसहितको टोली वाइड बडी जहाजमार्फत राति १०:३० बजे काठमाडौं फर्किएको थियो। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहु प्रतिष्ठित गौतमबुद्ध गौतमबुद्ध विमानस्थल वैशाख १५ देखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ।

महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए।

अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आइसकेको छ। यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ।

जजीरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ। अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।

 सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले अवरोध भएको थियो। पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। हालसम्म विमानस्थलको मुआब्जासहित ३१ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावन मार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।

तस्वीर : न्युज एजेन्सी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.