|

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने तयारी गरेको छ।  मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई प्रमुख डा समिर अधिकारीका अनुसार हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एउटा स्वास्थ्यकर्मीहरुको टोली राख्ने निर्णय भएको बताए।

‘हाल सम्म हरेक मतदान केन्द्रमा स्वास्थ्यकर्मीहरुको एउटा टोली राख्ने निर्णय भएको छ तर कति स्वास्थ्यकर्मीको टोली खटाउने भन्ने बारे हामीले तयारी गरिरहेका छौँ, त्यस टोलीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने छ, थप अन्य स्वास्थ्य सेवाको आवश्यकता पर्ने अवस्था आयो भने नजिकको स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्ने छ’ उनले भने।

यस्तै हरेक मतदान स्थलबाट नजिक पर्ने स्थानीय स्वास्थ्य संस्थालाई  तयारी अवस्थामा राख्ने समेत निर्णय भएको डाक्टर अधिकारीले बताए। ‘हरेक मतदानस्थलबाट नजिक रहने स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने निर्णय समेत भएको छ’ उनले भने।  

यस्तै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा मतदानस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइ कसरी गर्न सकिन्छ भनेर निर्वाचन आयोग संग पनि छलफल भइरहेको उनले बताए। ‘हामी संग अहिले पनि कोरोना संक्रमणको जोखिम छ यस्तो अवस्थामा कसरी जनस्वास्थ्यको मापदण्ड पालना कडाइका साथ लागू गराउने पनि हामीले निर्णय गरेका छौँ,कोरोना संक्रमणको जोखिमलाई हेरेर निर्वाचनसँग हामीले सहकार्य गरेर जनस्वास्थ्यको मापदण्ड कडाइ गर्ने हाम्रो लक्ष्य छ’ उनले भने।

हरेका मतदानस्थलमा अहेव,स्वास्थ्य स्वयंसेविका सहितको टोली खटाउने मन्त्रालयको तयारी रहेको छ। 

निर्वाचन आयोगले  मतदानका लागि  देशभरि १० हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकेको छ। सातवटा प्रदेशका कुल ७५३ स्थानीय तहमा छ वटा महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.