|
फाइल तस्वीर

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जन फेरि रोकिएको छ।  

पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम नगर्दा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकावासीले भोग्नुपरेको छ। पछिल्लो समय यही वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन रोकिएको हो।

हाल फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण ६ दिनदेखि सडकमै फोहर थुप्रिएको छ। 

१८ स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन्। उनका अनुसार ०७० सालमा शुरु गरिएको सडक हालसम्म पनि नबनेपछि स्थानीयले पटकपटक अवरोध गर्दा फोहर विसर्जनमा रोकिँदै आएको छ।

‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ‚’ उनले भनिन्, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।’ उक्त स्थान भरिएकाले पनि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो। हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा २ किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन स्थलको काम निर्धारित समयमा हुन नसक्दा पनि समस्या आएको कामपाले जनाउँदै आएको छ। 

गत फागुन र चैतमा गरी ३२ दिन फोहर व्यवस्थापन हुन सकेको थिएन। वर्षाको समय नजिक आइसकेको र यसरी फोहर व्यवस्थापन हुन नसक्ने हो भने ठूलो समस्या आउने देखिएको छ। हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिकटन फोहर सिसडोलमा फालिँदै आएको छ। 

यसमध्ये सबैभन्दा बढी कामपाबाट दैनिक ५ सय मेट्रिकटन फोहर निस्किने गर्छ। निजी र कामपाको गरी दैनिक कम्तीमा २ सय गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.