|

इलाम : जापानी येन बनाउन प्रयोग गरिदै आएको अर्गेली र लोक्तामा किसानको आकर्षण बढ्दो छ।

सरकारी अनुदान पाउन नसक्दा किसान र व्यवसायीहरु पलायन हुने क्रम समेत उस्तै छ। जापानी येन र नेपाली कागज बनाउन प्रयोग हुने अर्गेली र लोक्तामा सरकारी अनुदान छैन।

नेपालबाट निर्यात हुने १९ वटा वस्तुको सूचीमा रहेको नेपाली कागजका उद्योगको विकासका लागि सरकारी ध्यान नपुग्दा आम्दानी लिन सकिएको छैन। इलाम र पाँचथरका विभिन्न स्थानमा संचालनमा आएका कागज उद्योग परम्परागत रुपमा संचालन हुँदै आएका छन्।

किसानले स्थापना गरेका कागज उद्योगको विस्तारका लागि सरकारी सहयोग नभएको र उद्योगीले थप लगानी गर्न क्षमता नभएकाले संकटमा परेको हो।

राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषकमा अर्गेली विस्तार गर्ने आत्मविश्वास बढे पनि सरकारी उदासीनताले धेरै अर्गेली प्रशोधन उद्योग दर्ता भएका छैनन्। उद्योग दर्ता नभएपछि बैंकहरुले लगानी नगर्ने भएकाले पूँजी अभावले अर्गेली प्रशोधन उद्योग बन्द हुन थालेका छन्।

४ ग्रेडमा उत्पादन हुने नेपाली कागज मध्ये उच्च गुणस्तरणको जापान निर्यात हुन्छ। 'जापान इन्टरनेसनल को अपरेसन एजेन्सी' (जाइका)ले नेपालमा अर्गेली खेतीको सम्भावनाबारे अध्ययन गरेको थियो। हस्तकलाका सामग्रीका रुपमा र त्यहाँको जापानी येन छाप्न तथा पासपोर्ट निर्माणमा समेत नेपाली कागजको प्रयोग हुँदै आएको छ।

नेपाली कागजको कच्चापदार्थ जंगल नै हो। अहिलेसम्म स्थानीयस्तरमै सहज रूपमा कच्चा पदार्थ उपलब्ध हुने भएकाले जनताको आय आर्जन बढिरहेको छ। तर, अर्गेली प्रवर्द्धनमा सरकारी लगानी नहुँदा संकट रहेको देखिन्छ।

अर्गेली र लोक्ताबाट उत्पादित कागज नरम र टिकाउ हुनुका साथै किराहरुबाट नष्ट गर्ने जोखिम कम हुने भएकाले माग उच्च रहेको छ। चीन, भारत, फिलिपिन्स थाइल्यान्ड लगायतका मुलुकमा उत्पादन हुने कागज भन्दा फरक र गुणस्तरीय भएको कारण नेपाली लोक्ता र अर्गेलीको कागजको माग जापानमा उच्च छ। माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ संकलन हुन सकिरहेको छैन।

इलाम नगरपालिका र सन्दकपूर गाउँपालिका भित्रका किसानले उत्पादन गर्ने अर्गेली जापान निर्यात हुँदै आएको छ। लेकाली बस्तीमा जंगली जनावरबाट खेतीबाली जोगाउन बारको रुपमा किसानले अर्गेलीको रोपण गर्छन्। सोही अर्गेली प्रशोधनबाट विदेशी मुद्रा आर्जन राम्रो भएपनि सरकारी सहयोग नपुग्दा उद्योग बन्द हुने क्रम बढ्दो छ।

उद्योग दर्तामा झन्झटिलो सरकारी प्रक्रिया, दक्ष प्राविधिक तथा आधुनिक प्रविधि हस्तान्तरणमा नहुँदा अर्गेली खेती गर्ने किसान र उद्यमी समस्यामा पर्दै आएका हुन्।

उच्चस्तरको प्रशोधित अर्गेलीको माग भए पनि मागबमोजिमको निर्यात योग्य बनाउन आधुनिक प्रविधिको अभाव छ। उद्योग क्षेत्रको विकासका लागि हरेक स्थानीय तहमा लघु उद्यम विकास कार्यक्रम संचालन भए पनि अर्गेली खेती र प्रशोधनबारे स्थानीय तहको ध्यान पुगेको छैन।

समुद्र सतहको १ हजार पाँच सय देखि २ हजार ३ सय मिटर सम्म अर्गेली र समुद्र सतहदेखि १ हजार ८ सय देखि २ हजार ६ सय मिटरसम्म लोक्ताको खेती हुने गरेको डिभिजन वन कार्यालय इलामले जनाएको छ।

व्यवस्थापनका लागि समुदायमा हस्तान्तरण गरिएका वन, राष्ट्रिय वन बाहेक अहिले किसानस्तरमा यसको व्यवसायिक खेती बढ्दै गएको छ।

प्रशोधित अर्गेली प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भइरहेको इलाम नगरपालिका ३ का किसान सन्तोष राईले बताए। यसवर्ष पूवामझुवा क्षेत्रका किसानले २० टन अर्गेली संकलनबाट प्रशोधन गरी जापान निर्यात गर्ने लक्ष्य राखेका छन्। रोपिएको अर्गेलीको बिरुवा तीन वर्षमा संकलन गर्न मिल्छ। एक पटक संकलित अर्गेली पुनः पलाउने र तीन वर्षमा संकलन गर्न सकिने भएकाले थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिन्छ।

चिसो मौसम र हावापानी भएका स्थानमा खेर गइरहेको कान्ला र पाखो बारीमा लगाउन मिल्ने अर्गेलीको रोपण र प्रशोधनका लागि आधुनिक प्रविधि हस्तान्तरणको आवश्यकता रहेको किसानको माग छ। नेपालबाट हरेक वर्ष ६० टन अर्गेली जापान निर्यात हुने गरेको छ।

नेपाल भित्रै हाते कागज बनाउन अर्गेलीको माग धेरै छ। तर, यसको व्यावसायिक रुपमा गुणस्तरीय खेती यहाँ हुन सकेको छैन। अर्गेलीको विरुवाबाट बन्ने कच्चा पदार्थलाई गुणस्तर अनुसार ए, बी, सी र डी वर्गमा वर्गीकरण गरिन्छ। उच्च गुणस्तरलाई धेरै मूल्य र कम गुणस्तरलाई कम मूल्य निर्धारण गरेर बिक्री गरिन्छ।

मध्य पहाडी भेगमा पाइने रेसादार वनस्पति अर्गेली प्रसिद्ध नेपाली कागजको कच्चा पदार्थ हो। सामान्यतया उत्पादनका सबै प्रक्रियाहरू हातैले गरिने र पहाडी क्षेत्रमा उत्पादन हुने भएकाले यसको नाम पनि नेपाली हाते कागज वा पहाडे कागज रहन गएको हो। हेर्दा आकर्षक देखिने यो कागजको टिकाउपना (भण्डारण क्षमता) अत्यधिक र जस्तो मसीले लेखे पनि यसमा कुनै अनावश्यक दाग धब्बा नदेखिने भएकोले लिखित दस्तावेजहरूमा यसको प्रयोग बढी पाइन्छ।

त्यसैले नेपाली कागज प्रयोग सरकारी कामकाजलगायत प्रशासनिक निकायहरूमा अनिवार्य जस्तै गरिएको छ। कानुनी कामकाजका लागि त यो सबै ठाउँमा अनिवार्य नै मानिन्छ। दुई–तीन मिटरसम्मको अग्लो बोट हुने अर्गेलीलाई कास्टिक सोडासँग पकाउने गरिन्छ।

पाकेको अर्गेलीलाई घोल बनाएर बिशेष क्षमता भएको कालीगढबाट विभिन्न आकार र तौलमा यो कागज तयार गरिन्छ। नेपालका ७७ मध्ये ५५ जिल्लामा उत्पादन हुन्छ। बिशेष गरेर प्रदेश नम्बर एक, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशमा यसको उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.