|

पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मध्य पहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्डमा अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आइतबार बिहान करिब आठ बजेको समयमा दुर्घटना भएको थियो।

पोखराबाट पर्वतका लागि छुटेको ग३च ३५२५ नम्बरको निजी कारले ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

उक्त मोटरसाइकल पर्वतको कुश्मा नगरपालिका–४ का ४५ वर्षिय जितबहादुर पुनले चलाएका थिए भने पछाडि उनकै छोरी १८ वर्षीया सबिना पुन बसेकी थिइन्। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी सबिनाको घटनास्थलमै मृत्यु भएको थियो भने उनका बाबु जितबहादुरको गम्भीर अवस्थामा मेट्रोसिटि हस्पिटल पोखरामा उपचारका लागि राखिएको थियो। तर, उपचारकै क्रममा सोमबार बिहान जितबहादुरको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

दुर्घटनालगत्तै फरार रहेका कार चालक अझैसम्म पनि फेला परेका छैनन्। तर उनी पर्वतकै कुश्मा नगरपालिका–१ पाङकै एन्जील बम मल्ल रहेको प्रहरीले बताएको छ। कास्की प्रहरी र पर्वत प्रहरीले उनको खोजी गरिरहेको भए पनि फेला पार्न सकिएको छैन।

कारको ठक्करबाट बाबु छोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबिच अहिले परिवार र आफन्तले वार्ता गरिरहेका छन्। पीडित परिवारले कारका चालकलाई पक्राउ नगरेसम्म मृतक बाबु छोरीको शव नबुझ्ने अडान राखेको छ। बाबु छोरी दुवैको शव मेट्रोसिटि हस्पिटल पोखरामा नै राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.