|

कञ्चनपुर : विभिन्न आयोजनाका नाममा लामो समयदेखि कञ्चनपुरमा सञ्चालनमा रहेका तीन क्रसर बन्द गरिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सो सम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताए।

'हामीकहाँ उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी समक्ष उक्त विषय अगाडि बढाउन भनेका थियौँ।' उनले भने, 'जिल्ला अनुगमन समितिको निर्णयपछि तीन क्रसर बन्द गरिएका हुन्।'

अख्तियारका अनुसार आज बेदकोट नगरपालिकामा निर्माण सामग्री केन्द्र, दोधारा चाँदनीमा रहेको बासुलिङ्ग कन्सट्रक्सन र कृष्णपुरमा रहेको गौरव बिल्डर्सले सञ्चालन गरेको गैरकानुनी क्रसर बन्द गरिएका हुन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि तीन वटा क्रसर बन्द गर्ने निर्णय गरेको जानकारी दिए।

'सडक आयोजनाका नाममा क्रसर राख्ने, बालुवा धुन भन्ने तर गिट्टी अरु प्रयोजनमा लग्ने गरेको पनि देखियो', उनले भने, 'आयोजनाका नाममा क्रसर राख्न पाउने प्रावधान रहे पनि दुरुपयोग भएको देखियो।'

अनुगमन समितिले क्रसर राखिएका पालिका र आन्तरिक राजस्व कार्यालयलाई थप कारबाहीका लागि प्रक्रिया अघि बढाउन भनिएको उनकाे भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.