|

म्याग्दी : स्थानीय तह निर्वाचन आउन ९ दिन बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।

चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने गरेको छ।  राजनीतिक दलका नेता तथा कार्यकर्ता बिहान ६ बजेदेखि नै आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिँड्ने गरेका छन्। 

अचेल झिसमिसेदेखि साँझको घुर्मौलोसम्म उम्मेदवार र  समर्थक मतदाताकै घरदैलोमा हुन्छन्। अघिपछि बाटोमा भेट्दा पनि तर्किनेहरू हात जोड्दै मतदाता रिझाउन लागिपरेका छन्।घरदैलोका शैली पनि फरक–फरक छन्। कोही नाचगानबाट त कोही हात जोड्दै मतका लागि अनुनय–विनय गरिहेका छन्।

अन्तरदलीय उम्मेदवारको जम्काभेट अँगालो हालेर आत्मीयता साटासाट

आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै जनताका घरदैलोमा भोट माग्दै हिँडेका उम्मेदवार र कार्यकताका बीचमा विगतका निर्वाचनको जस्तो तिक्तता देखिँदैन। चुनाव प्रचारका क्रममा अन्तरदलीय उम्मेदवार र कार्यकर्ताको जम्काभेट हुँदा अँगालो हालेर आत्मीयता साटासाट गरेको दृश्य निकै रोमाञ्चक देखिएको छ।  

सत्तारुढ गठबन्धनका दल, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी  र अन्य राजनीतिक दल आ–आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुगेर मत मागिरहेका छन्। यातायात, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साहित छन्।

विगत भन्दा यस पटकको निर्वाचनमा प्रचार शैली र उम्मेदवारको व्यवहारमा समेत परिवर्तन देखिएको मतदाताले बताएका छन्। उम्मेदवार गाउँमा पुग्दा मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा प्राथमिकताको आधारमा जनताका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने गरेका छन्। 

मतदाता पनि के कम! जुनै उम्मेदवार आए पनि हाँसेर स्वागत मात्रै गर्दैनन्, ‘मत दिन्छौँ’ भनेर ढुक्क पारिदिन्छन्। अहिले म्याग्दीका दुर्गम ग्रामीण क्षेत्रमा समेत चुनावी माहोल यस्तै देखिन्छ। निर्वाचन आयोगले आचारसंहिता पालनामा अघिल्लोपटक भन्दा कडाइ गरेकाले भड्किलो प्रचार रोकिएको देखिन्छ। उम्मेदवार र उनका समर्थक सभ्य तरिकाले प्रचारमा होमिएका छन्। 

बेनी नगरपालिका-२ ज्यामरुककोटका नारायणप्रसाद सापकोटा विगतमा भन्दा यसपालि चुनावअघिको दृश्य फरक रहेकोे बताउँछन्। ‘मतदातामा  चेतना बढेको हो वा उम्मेदवार र नेता,कार्यकर्ताको व्यवहार फेरिएको हो’, उनी भन्छन्, ‘यसपटक दलहरूको चुनाव प्रचार गर्ने तरिका मलाई नौलो लागेको छ।’ उनका अनुसार विगतमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो। कसले ठूलो झण्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो। यसपालि सबै ठाउँ शान्त छन्।​​​​​​​

मालिका गाउँपालिका ५ की ७० वर्षीया तीलु बूढा विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको बताउँछिन्। ‘पहिला–पहिला त घरघरमा झण्डा राखिदिने, चुनाव प्रचारमा हिँडेवापत दैनिक ज्याला दिने, जाँडरक्सी खाने,आपसमा कुटपिट गर्नेसम्म गर्थे’, उनी भन्छिन्, ‘तर यसपटक भने त्यस्तो केही भएको छैन, भोट हाल्ने दिन आउनै लाग्दा समेत शान्तिपूर्णरूपमा चुनाव प्रचार गरेका छन्।’ 

उम्मेदवारहरूले आफूलाई योग्य देखाउन प्रयत्न गरेका छन्। मतदाताले पनि योग्य प्रतिनिधि छान्न आफ्नो विवेक प्रयोग गर्ने बताएका छन्। पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिन लागेकीबेनी नगरपालिका ४ की लक्ष्मी पौडेल निकै उत्साही छिन्। उनी भन्छिन् ‘कसैको करकापमा परेर वा अभिभावकले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्नँ। युवाको समस्या समाधान गर्नेलाई दिन्छु।‘ उनले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेको बताइन्।

यसपालि गाउँको अगुवा, परिवारका सदस्य र साथीसंगी बीचमा पनि कसलाई भोट दिने र किन दिने भन्ने विषयमा छलफल हुने गरेको मतदाता बताउँछन्। जुनसुकै पार्टी भए पनि ‘हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ’ भन्दै सरसल्लाह हुने गरेको बगरफाँटका युवा सचिन कार्कीको भनाइ छ। उनले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा राखेको बताए। ‘हामी तपाईँलाई मत दिन्छाैँ’, उनी भन्छन्, ‘जितेपछि हामीलाई विकास दिनुहोस्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.