|

हेटौंडा : २०६४ साल जेठ २८ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको हेटौंडा–६ स्थित गौरीटार रंगशाला अझै निर्माणाधीन अवस्थामा छ।

शिलान्यास भएको करिब १५ वर्ष भइसक्दा पनि रंगशाला निर्माण सकिएको छैन। शिलान्यास भएदेखि हालसम्म रंगशालाको आसपासमा भएका खाली जग्गा घरले भरिए, छेउछाउका स-साना घरसमेत महलजस्ता बनिसक्दा पनि रंगशाला निर्माणले गति पाएन। यसबीच संघमा र प्रदेशमा गरी निकै पटक सरकार फेरिए।

रंगशाला शिलान्यास गर्ने तत्कालीन प्रधानमन्त्री नेपालले यसबीच नेकपा एमाले त्यागेर नयाँ पार्टीसमेत निर्माण गरिसक्दा पनि यहाँको रंगशाला भने शिलान्यास भएको १५ वर्षपछि बल्ल बन्न थालेको छ। नेपाली खेलकुदको ड्रिम प्रोजेक्टका रूपमा शुरु भएको रंगशालाको निर्माण डेढ दशकपछि बामे सर्न थालेको हो।

शिलान्यास गरेपछि राष्ट्रिय खेलकुद विकास परिषद्‌ले अलपत्र छोडेको रंगशाला निर्माणमा बागमती प्रदेश सरकारले तदारुकता देखाए पनि अझै निर्माणले राम्रो गति लिन भने सकेको छैन। खेलकुदको करिब १९ वटा संरचना बनाउने गरि शुरु भएको रंगशालामा हाल फुटबल रंगशालाको चौर निर्माण गरि पर्खाल लगाउने र प्यारापिट निर्माण गर्ने काम भइरहेको छ।

हालसम्म गौरीटारमा संघीय सरकारले करिब ८ करोड रूपैयाँ र बागमती प्रदेश सरकारले ४ करोड रूपैयाँ खर्च गरिसकेको छ। प्रदेश सरकारले चालू आव ०७८/७९ मा रंगशालाका लागि ८ करोड रूपैयाँ विनियोजन गरेको भएपनि खर्च हुन सकेको छैन।

गौरीटारमा हालसम्म फुटबल मैदान तयार भएपनि खेल्न लायक भने बनिसकेको छैन। केन्द्रीय सरकारमातहत रहेको रंगशाला प्रदेश सरकार गठन भएसँगै प्रदेशमातहत ल्याउने र भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने घोषणा गरिएको थियो। तर ४ वर्षमा पनि रंगशालामा देखिने गरी केही काम हुन सकेको छैन।

प्रदेशका हालसम्मका तीनवटै मुख्यमन्त्रीले रंगशालाको स्थलगत निरीक्षण गरिसकेका छन्, कामले भने गति लिएको छैन। फुटबल मैदान तथा एथलेटिक्सतर्फको फिल्ड एन्ड ट्र्याकले आकार लिए पनि ठेकेदारको ढिलासुस्तीका कारण काम अझै पूरा भएको छैन। गिरी कन्स्ट्रक्सनले ट्र्याक एन्ड फिल्डसहितको फुटबल मैदान निर्माण करिब एक वर्ष ढिला गरी पूरा गरेको थियो। तैपनि अझै फिनिसिङ गरिसकेको छैन।

२३ बिघामा फैलिएको खेल मैदानमा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ हुँदा काममा समस्या भएको रंगशालाको प्राविधिक पक्षको अनुगमन गर्ने सामाजिक विकास मन्त्रालयअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइका प्रमुख दीपेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार हाल खेल मैदान, एथलेटिक्स ट्र्याक र ३ हजार ५ सय सिट क्षमताको भिआइपी प्यारापिट निर्माण भइरहेको छ।

गिरी कन्स्ट्रक्सनले काम पूरा नगरेपछि ३ वर्षमा सम्पन्न गर्ने गरी केसी/सप्तकोसी/ओम साई एन्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको एक वर्षपश्चात् बल्ल निर्माण शुरु गरेको छ। प्रदेश सरकारले करिब ९० करोड रूपैयाँ बराबरको फुटबल रंगशाला मात्रै निर्माण गर्ने गरी डिपिआर तयार गरेको छ। अहिले पहिलो चरणमा २५ करोड बराबरको निर्माण गर्न लागेकोमा हालसम्म १३ करोड रूपैयाँ बराबरको मात्र टेन्डर आह्वान भएको छ।

गौरीटारमा कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुषको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण गरिने बताइएको छ। केही वर्षअघि संघीय सरकारअन्तर्गत ८ करोडमा निर्माण भएको छात्रावास पनि अब प्रयोग गर्न नमिल्ने अवस्थामा छ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले महिला खेलाडी आवासका लागि बनाइएको भवन खेलाडी बस्नका लागि उपयुक्त नभएको बताए। ‘कोठा एकदमै साना छन्, ट्वाइलेट बाथरुमको पनि व्यवस्था छैन। यत्रो ठूलो भवन त बनाइयो तर खेलाडीहरू राख्न प्रयोग हुँदैन। अन्तरराष्ट्रिय स्तरका खेलाडीहरू पनि आउँछन्, उनीहरूलाई यस्तोमा राख्न सुहाउँदैन’, भण्डारीले भने। अहिले उक्त भवनमा परिषद्को कार्यालय राखिएको छ।

निर्माणमा ढिलाइ हुँदा ३ अर्ब भार थप

करिब १५ वर्षअघि अन्तरराष्ट्रिय मोडालिटीमा राखेपले गौरीटार रंगशाला बनाउने योजना बनाएको थियो। खेलकुदका सबै संरचना एकै ठाउँमा बनाउन त्यति वेला करिब ३ अर्ब रूपैयाँ लागत अनुमानसमेत गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव भण्डारी बताउँछन्।

राखेपको स्वामित्वमा रहेको जग्गामा उत्तम सेवा सुविधासहित खेलकुदका व्यवस्थित संरचना बनाउने योजना राखेपले बनाए पनि त्यसलाई पूर्णता दिएन। यसले गर्दा सोही योजनाअनुसार गौरीटार रंगशालामा सबै संरचना निर्माण गर्न करिब ५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको भण्डारीले जानकारी दिए।

‘त्यति वेला यी सबै संरचना बनाउन ३ अर्ब रूपैयाँजति लाग्ने अनुमान गरिएको रहेछ। अहिले हामीले प्रारम्भिक रुपमा अनुमानित बजेट ५ अर्ब रूपैयाँ लाग्ने आँकलन गरेका छौं’, उनले भने। निर्धारित समयमा रंगशाला निर्माणमा सरोकारवालाले चासो नदिँदा आर्थिक डेढ गुणाभन्दा धेरै‌ बढेको छ। १५ वर्षअघि ३ अर्बमा बन्नसक्ने रंगशाला बनाउन अब ५ अर्ब रूपैयाँ लाग्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.