विरासत जोगाउने दाउमा एमाले, कांग्रेसको पनि आफ्नै दाबी

|

धनगढी : स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारी दिएर दलहरू चुनावी मैदानमा होमिएका छन्। कैलालीमा पनि चुनावी कार्यक्रम तय गरी उम्मेदवारहरू अघि बढेका छन्।

सुदूरपश्चिमको स्थायी राजधानी घोषित गोदावरी नगरपालिकाको मेयरका लागि ९ जना चुनावी मैदानमा छन्। उनीहरूले अहिले टोलटोलमा प्रचारप्रसार तथा मत माग्ने अभियान चलाइरहेका छन्। गोदावरीमा १२ वटा वडा छन्।

प्रत्येक वडामा वडाध्यक्षसहित ५ जना, नगर प्रमुख र उपप्रमुख गरि ६२ जना जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ। नगर प्रमुखका लागि ९, उपप्रमुखका लागि ५ सहित २ सय ९० जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सहायक निर्वाचन अधिकृत शिवराज भाटले बताए।

उनले भने, ‘३ सय १६ जना मनोनयन दर्ता गर्न आउनु भएको थियो। जाँच गर्दा ३ सय ७ जना रहे। ९ जनाको बदर भयो। १७ जनाले नाम फिर्ता लिए। २ सय ९० जनाको अन्तिम उम्मेदवारी सार्वजनिक गरिएको छ। २० जना स्वतन्त्र हुन् भने अन्य दलगत रुपमा चुनाव लड्दैछन्।’

उम्मेदवारहरू कार्यकर्ता तथा सहयोगीको साथमा जनताको घरदैलो पुग्न थालेका छन्। उनीहरू नगरको विकास निर्माण, सुशासन, राजनीतिक अजेण्डासहित भोट मागिरहेका छन्।

गोदावरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट गोकर्ण भट्ट, नेपाली कांग्रेसबाट वीरेन्द्र भट्ट, माओवादी केन्द्रबाट विक्रम विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गाकुमार पोखरेल, लोकतान्त्रिक समाजवादीबाट फकलु चौधरी, राष्ट्रिय जनमुक्तिबाट रामबहादुर रावल, राष्ट्रिय जनमोर्चाबाट हरिकृष्ण पाण्डे तथा स्वतन्त्रमा टेकबहादुर विक र मिन मल्लले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखका उम्मेदवार हरिकृष्ण पाण्डेले नेतृत्व राम्रो भए परिवर्तन सम्भव रहेको बताए। उनले भने, ‘गोदावरी नगरपालिकामा भ्रष्टाचार छ। ८ जना अहिले पनि सस्पेन्सनमा छन्। मेरो २ मात्र अजेण्डा छ। पहिलो आर्थिक पारदर्शिता र दोस्रो सुशासन हो।’

एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टले जनताको घरदैलोमा रहेको बताए। गोदावरीमा एमालेको पुरानो विरासत जोगाउने दाउमा रहेका उनले भने, ‘म गोदावरीलाई नयाँ परिवर्तनको प्रत्याभूति गराउनेछु। शिक्षा, स्वास्थ्य, रोजगार जनताका आधारभूत विषयमा प्रतिबद्धता गर्दै आएको छु।’

०७४ सालको निर्वाचनमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै मेयरमा विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र भट्टले ८ हजार ४ सय ५७ मत पाएका थिए। माओवादीका गोकर्ण भट्ट तेस्रो भएका थिए।

कांग्रेसका वीरेन्द्र भट्ट र माओवादीबाट एमाले प्रवेश गर्दै गोकर्ण भट्ट फेरि उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनले गरेको सिट बाँडफाँडमा गोदावरीमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर लडाउने सहमति थियो। तर माओवादी र एकीकृत समाजवादीका नेताले पनि त्यहाँ मेयरमा उम्मेदवारी दिएका छन्।

कांग्रेसबाट मेयरका उम्मेदवार वीरेन्द्र भट्टले सबै समुदायको प्रतिनिधित्व हुने गरि नगर विकासको काम गर्ने बताए। उनले भने, ‘म पनि कोभिडबाट पीडित भएको मान्छे हो। सबै समुदायको प्रतिनिधित्व गर्ने गरी नगरलाई अगाडि बढाउनेछु। सबैको नेतृत्व हुने गरि विकास निर्माणका काम अगाडि बढाउनेछु।’ गोदावरीमा कांग्रेसको स्थानीय सरकार बन्ने उनको दाबी छ।

नगर उपप्रमुखका लागि राष्ट्रिय जनमोर्चाबाट कल्पना बराल, राप्रपाबाट खिमादेवी विष्ट, नेकपा एकीकृत समाजवादीबाट रतना कडायत, माओवादी केन्द्रबाट रिता खड्का र एमालेबाट शारदादेवी रोकाया चुनावी मैदानमा छन्। गोदावरीमा एमाले र कांग्रेसबीच कडा टक्कर हुने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.