|

इलाम : इलामको माई नगरपालिका–२ की फूलमाया कुमाल बिहानै ८ बजेको समयमा चेप्टी खोलाको बगरमा भेटिन्छिन्। उनी बगरमा गिटी, बालुवा चाल्न नभएर खानेपानी लिन चेप्टी खोला पुग्ने गरेकी हुन्। उनी जस्तै छिमेकका करिब ३५ घरपरिवारको बिहान चेप्टी खोलामै बित्ने गरेको छ।

त्यस क्षेत्रका धेरैजसो परिवारको नुहाउनेदेखि खाना पकाउनेसम्मका काममा त्यही खोलाको पानी प्रयोग हुन्छ। खोलामा पानीको स्थायी मुहान छैन्। ठाउँठाउँमा सानो खाल्डो खनेर जम्मा भएको पानी भरेर उनीहरू दैनिक उपभोग गर्ने गरेका छन्।

स्थानीय सरकार खानेपानी व्यवस्थापनमा गम्भीर नबन्दा चेप्टी क्षेत्रमा करिब ३५ घरपरिवार खोलामा खाल्डो खनेर पानी प्रयोग गर्न बाध्य छन्। फूलमायाले पानी प्रयोग गर्ने खोलाको किनारमै स्थानीय जनप्रतिनिधिको पहलमा अर्बौको लागतमा ‘चेप्टी फन पार्क’ निर्माण हुँदै छ।

आधारभूत आवश्यकता खानेपानीका लागि भनेर जनप्रतिनिधिको पहल पुगेको देखिदैन। जसका कारण शुद्ध खानेपानीबाट त्यस क्षेत्रका बासिन्दा वञ्चित छन्।

‘वडाध्यक्षहरूले पनि केही गर्नुभएको छैन। पानी बिग्रिरहेको छ भन्नुहुन्छ, शुद्ध खानेपानी पाएका छैनौँ। फोहोरमैला पस्छ पार्कमा आउने मान्छेले कुल्चिदिन्छन्। यस्तै पानी खानुपर्छ।’ कुमालले भनिन्, ‘बर्खाको समयमा बाढी आउँछ त्यस वेला पानी खोज्न टाढा पुग्नुपर्छ। बाढी अलि हुन्छ अनि खाल्डो खन्दा जहाँ पानी आउँछ त्यहीँको प्रयोग गरिन्छ।’

सो वडाका पूर्व वडाध्यक्ष खम्बसिंह लिम्बु अहिले नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार छन्। उनले आफ्नो प्रतिबद्धता पत्रमा प्रत्येक घरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने उल्लेख गरेका छन्। तर उनकै घर नजिकैका बासिन्दाले भने अझै शुद्ध खानेपानी पाएका छैनन्। फूलमायाको खानेपानी समस्या नयाँ हैन। स्थानीय सरकार आउनुअघि पनि त्यस क्षेत्रका बासिन्दाहरूले खाल्डो खनेर नै पानी प्रयोग गर्ने गरेका थिए। 

चेप्टी खोला पारीको आरुपानी गाउँमा समेत समस्या उस्तै छ। खानेपानीको मुहानबाट भाडामा संकलन गरिएको पानी मोटर प्रयोग गरेर ल्याउनुपर्ने बाध्यता छ। वडा कार्यालयले गाउँसम्म पानी तान्न दिएको मोटर काम नलाग्ने भएपछि अहिले स्थानीयले आफै मोटर खरिद गरेर ल्याएका छन्। कतिपयले मुहानबाट ड्रममा पानी संकलन गरेर घरमा ओसार्छन्।

पर्याप्त खानेपानी नहुँदा चेप्टी क्षेत्रका बासिन्दा खोला खोल्सी धाउन बाध्य छन्। भौगोलिक रूपमा डाँडाकाँडा रहेको क्षेत्रमा खानेपानी घरमा ल्याइदिनेलाई भोट दिने ज्येष्ठ नागरिक मनमती आङदाम्बे बताउँछिन्।

‘मलाई भोट दिनुहोस् है भनेर चाहिँ आउँछ तर पानीको सुविधा चाहिँ छैन। बाटो त बनायो पुल पनि लगायो कहिले सुविधा पार्ने हो? बूढाबूढीले खानेपानी ओसार्न पनि सकिदैन।’ उनले दुखेसो पोखिन्, ‘मैलो लुगा लगाउनुपर्छ। अब पानी जसले दिन्छ उसलाई भोट दिने हो।’

निर्वाचनको दिन नजिकिएसँगै त्यस क्षेत्रका बासिन्दाहरु आधारभूत आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मत दिने बताउँछन्। विगत लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाको माग फेरिएको छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.