|

हेटौँडा : सधैँजसो सुनसान प्रायः रहने मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित वनकरिया र नयाँ बस्तीमा पछिल्लो केही दिन यता छुट्टै रौनक छाएको छ।

नयाँ अनुहार देख्न मुस्किल पर्ने उक्त बस्तीमा दैनिकजसो भीड बोकेर नयाँ अनुहारहरू पुग्न थालेका छन्। खोला र जंगलको बीचमा रहेको वनकरिया र चेपाङ बस्ती सधैँ सुनसान हुन्थ्यो। तर,पछिल्लो समय गाउँमा ठूला आवाजमा गीतहरु घन्किन थालेका छन्। राम्रो ओतसम्म नभएका घरहरूका चारैतर्फ झण्डा फहराउन थालेका छन्।

पेटभरी खान नपाएरै भोकै सुत्ने गरेका चेपाङ र वनकरियालाई घरमै भोज र खाद्यान्न पुग्न थालेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै उक्त वस्तीमा चहलपहल बढेको हो।

स्थानीय तहको निर्वाचनले सिंगो देशको माहौल तातिरहेको बेलामा वनकरिया र चेपाङ बस्तीलाई पनि चुनावी रौनकले छोएको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरू चुनाव जित्ने दाउसहित घरदैलो कार्यक्रममा व्यस्त छन्।

चुनाव जित्नको लागि उनीहरुले हरसम्भव रणनीति अपनाइरहेको देखिन्छ। उम्मेदवारहरूलाई मतदाता कसरी आफूतिर प्रभावित पार्न सकिन्छ भन्ने ध्याउन्न छ।

त्यसैले उनीहरुले घरदैलोमा जाँदा स्थानीय मतदाताको आवश्यकता अनुसारको घोषणा र प्रतिवद्धता गर्दै मतदातालाई आश्वासन दिँदै आएका छन्। चुनावको लागि महत्वपूर्ण मत रहेको वनकरिया र चेपाङ वस्तीमा पछिल्लो समय विभिन्न वाचा र प्रतिवद्धता लिएर जानेको भीड नै लाग्ने गरेको छ।

चुनावअघि कसैको नजरमा पर्न नसकेको लोपोन्मुख वनकरिया र सीमान्तकृत चेपाङको वस्ती चुनाव आएसँगै सबैको लागि महत्वपूर्ण बनेको हाे। उक्त समुदायमा दैनिक विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुले सपना बाँड्दै मत माग्ने गरेका छन्। केही वर्षअघि मात्रै जंगल जीवन छोडेर समुदायमा झरेका चेपाङ र वनकरिया अशिक्षा र गरिवीको रेखामुनि पिल्सिँदै आएका छन्।

बाटो,शिक्षा,स्वास्थ्य,खानेपानीको मात्रै होइन उनीहरुमध्ये कतिसँग पेटभरी खाने अन्न समेत छैन। यस्तोमा विभिन्न योजना बोकेर आउने उम्मेदवारलाई भेटेर वनकरिया र चेपाङहरु दंग छन्।

वनकरिया बस्तीकी ६७ वर्षीया गोमा वनकरिया भोट माग्न आउने उम्मेदवारसँग लालपुर्जाको आश गर्छिन्। उनलाई मत माग्न आउनेले लालपुर्जा ल्याइदिए हुने भन्ने लाग्ने गर्छ। उनले अहिलेको निर्वाचनमा मात्रै धेरै उम्मेदवारलाई भेटिसकिन्। उनले आफूसँग भोट माग्न आउनेसँग सुरक्षित र स्थायी बसोबास मागेको बताउँछिन्।

करिव दुई दशकदेखि उक्त क्षेत्रमा बस्दै आएकी उनलाई कतिबेला सो ठाउँ छोड्नुपर्ने हो, भन्ने चिन्ता लागिरहन्छ। चितवन राष्ट्रिय निकुञ्जको जंगलमा सानो घर बनाएर बसिरहेकी उनलाई निकुञ्जले उठीबास लगाउने हाे कि भन्ने पीर लाग्ने गरेको सुनाउँछिन्। ‘यो जग्गा हाम्रो होइन। हामीलाई सरकारले ओडारबाट ल्याएर यहाँ राखेको हो। तर, अहिलेसम्म हामीले जग्गाधनीको लालपुर्जा पाएका छैनौँ, उनले भनिन् ‘आफ्नो नाममा जग्गा नहुँदा हामीले सुरक्षित महशुस गरेर बस्न पाएनौँ। ’जंगली जनावरको जोखिम मोलेर जंगल क्षेत्रमा नै बस्दै आए पनि उनले अघिल्लो निर्वाचनमा पनि लालपुर्जा दिलाइदिन्छौँ भनेकालाई नै भोट हालेकी थिइन्।

तर, उनले भोट हालेर जितेर गएकालाई लालपुर्जा नदिएको उनको दुखेसो छ। ‘जितेर गएपछि उनीहरु ठूलो मान्छे भइहाल्छन्। हामीलाई सुरक्षित रुपमा बस्नको लागि लालपुर्जा दिनुपर्छ,' उनले भनिन्। वनकरिया सधैँ अरुलाई जिताउनको लागि मात्रै नभएको उनले बताइन्।

२६ वर्षीया सुस्मिता वनकरिया पनि आफूहरुलाई जग्गाधनीको लालपुर्जा दिनेलाई मात्रै मत दिने बताउँछिन्। ‘हामीलाई अरु ठाउँमा सार्छौं भनेर पनि हुँदैन। वर्षौदेखि यहीँ बस्दै आएका हामीलाई यहीँको लालपुर्जा दिनुपर्छ, यो ठाउँ छोडेर हामी अन्त जान सक्दैनौँ’, उनले भनिन्। उनले वनकरियाहरु विभिन्न अभावको बीचमा असुरक्षित र अस्थायी बासस्थानमा बस्दै आएको बताइन्।

आफूहरु बसिरहेको स्थान मात्रै आफ्नो नाममा भएपनि वनकरियालाई ठूलो राहत पुग्ने उनको भनाई छ। ‘सबैले लालपुर्जा दिलाइदिन्छौँ त भन्नुहुन्छ तर, कसरी विश्वास गर्ने ? अघिल्लो चुनावमा पनि त्यस्तै भनेकाहरूले जितेपछि केही गरेका होइनन्’, निराश हुँदै उनले भनिन्।​

चेपाङबस्तीकी राममाया प्रजालाई भने अब जग्गाधनीको लालपुर्जा पाइन्छ भन्ने आश नै लाग्न छोडिसक्यो। वर्षेनी मत माग्न आउनेहरूले दिएको आश्वासन पूरा नभएपछि उनलाई अब जग्गाधनीको लालपुर्जा पाइन्छ भन्ने आश लाग्न छोडेको बताउँछिन्।

तर, भोट माग्न आउनेहरूसँग उनले एउटा अपेक्षा भने राखेको बताउँछिन्। ‘लालपुर्जा पाउँछु भन्ने त मलाई आश नै लाग्न छोडिसक्यो बरु निशुल्क रुपमा पढ्न पाउने व्यवस्था चाहीँ गरिदिनुपर्यो’, उनले भनिन्। ८ वटा सन्तान भएकी उनलाई छोराछोरीले राम्ररी पढ्न नपाएको दुख लागेको छ।

गाउँमा नजिकै स्कुल नहुनु र टाढा गएर पनि पढ्न सक्ने अवस्था नहुनुले गर्दा चिन्तित भएकी उनी निशुल्क रुपमा पढ्ने व्यवस्था गरिदिनेलाई मत दिने बताउँछिन्।

आफूले नपढेको कारण रोजगारी नपाएको र गरिबीमा बस्नु परेको उनको भनाई छ। ‘हामीले पढ्न नपाउँदा जागिर खान सकेनौँ, त्यसैले गरिब भएर बाँच्नु पर्यो। छोराछोरीलाई पढाउन पाए हामीले जस्तो भोग्नु पर्दैनथ्यो होला।म त भोट माग्न आउनेहरूसँग म निशुल्क शिक्षा माग्छु’, उनले थपिन्।

मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले वनकरिया र चेपाङहरुलाई लालपुर्जा दिलाउन आफूहरुले पहल गरेको भएपनि सफल हुन नसकेको बताए। उनले उक्त समुदायको बासस्थानलाई स्थायी बनाउन पहल गरेको भएपनि विभिन्न कारणले सम्भव नभएको बताए। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.