|

धादिङ : धादिङमा स्थानीय तह निर्वाचनको व्यवस्थापनको तयारीस्वरुप नमुना मतदान गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय धादिङले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमा नमुना मतदान गरेको हो। ३० वैशाखमा हुने मतदानमा खटिने कर्मचारीहरुको तालिमको सिलसिलामा नमुना मतदान गरिएको निर्वाचन कार्यालय धादिङले जनाएको छ।

मतदानमा खटिने मतदान अधिकृतसहितका सबै कर्मचारीलाई मतदान सफल बनाउने प्रक्रियाबारे जानकारी दिन तालिम गरिएको जिल्ला निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए।

नमुना मतदान केन्द्रमा ३० गते हुनेजस्तै व्यवस्थापन गरी महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो। प्रवेश गर्ने ठाउँमा र मत पेटिकाको सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसमेत खटाइएको थियो।

नमुना मतदानमा मतदातालाई केन्द्रमा प्रवेश गर्ने प्रक्रियादेखि लाइन बस्ने, मतपत्र लिने, हातको औँलामा मसी लगाउने, मतदान गर्ने, मतपत्र पट्याउने र मत पेटिकामा मतपत्र खसाल्ने लगायत सबै प्रक्रिया पूरा गरिएको थियो। 

धादिङमा सुरक्षाकर्मीबाहेक १ हजार ५ सय १५ जना कर्मचारी र ९ सय ९ जना स्वयंसेवक चुनावका लागि खटिनेछन्। धादिङमा आउनुपर्ने मतपत्र सबै आइसकेको र कर्मचारीको तालिम सकिएर सम्बन्धित मतदान केन्द्रमा कर्मचारी खटाउन थालिएको प्रमुख निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.