भारतीय सुरक्षाकर्मीले असुल्छन् रकम

|

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरका नवराज आचार्य भारतबाट घर फर्किँदै थिए। औषधोपचार गरेर शनिबार उनी गौरीफन्टा सीमानाका हुँदै धनगढी पुगेका थिए। गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्दा उनले साह्रै दुःख पाएको सुनाए। सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीले आफूलाई दुःख दिएको उनले बताए।

भारतीय सुरक्षाकर्मीले नाकामा नगद रकम नै लिएको उनले गुनासो गरे। भारतीय सुरक्षाकर्मीले प्रतिव्यक्ति २ सय भारतीय रूपैयाँ असुलेको उनले सुनाए। ‘झोला थियो। झोला सबै खोलियो। पैसा दिएपछि मात्रै आउने अनुमति पाएँ,’ उनले भने।

कतिपय नेपालीसँग त १ हजारदेखि २ हजार भारतीय रूपैयाँ असुल्ने गरेको उनको भनाइ छ। स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि भारतबाट स्वदेश फर्किने नेपालीहरू गौरीफन्टा सीमानाकामा लुटिन थालेका हुन्। सीमा क्षेत्रमा सुरक्षा जाँचको नाममा भारतीय सुरक्षाकर्मीले रकम असुल गर्दै आएपछि उनीहरू लुटिन थालेका हुन्।

भारतीय सुरक्षाकर्मीलाई रकम दिएपछि मात्र नेपाल प्रवेशको अनुमति पाउने गरेको नेपालीहरूले बताएका छन्। नेपाल प्रहरीले पनि सुरक्षा जाँचका नाममा भारतबाट फर्किएका नेपालीलाई दुःख दिने गरेको छ। धनगढीमा होटलसम्म नगर बसमा आउनेले भने नेपाली सुरक्षा अधिकारीको झन्झट सहनु पर्दैन।

भारतबाट फर्केका अर्का नेपालीले भने, ‘१/२ सय दिएँ, पारीका प्रहरीलाई। नेपालतिर बसमा आएकासँग लिँदैनन्। अटोमा आएको चेक हुँदै थियो। बसमा आएकाहरुको चेक भएन।’ यसैगरी बस तथा होटल सञ्चालकहरूले पनि प्रहरीसँग मिलोमतो गर्दै आएका आरोप छ।

तर जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सीमा क्षेत्रमा नेपालीमाथि हुने दुर्व्यवहार रोक्न भारतीय सुरक्षा अधिकारीलाई आग्रह गरेको बताए। उनले भने, ‘कैलालीको गोदावरीमा केही दिन पहिला भएको बैठकमा भारतीय पक्षले दिने दुःखको विषयमा पनि कुरा भएको छ।’ सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि भारतीय ज्यादती रोक्नुको सट्टा आफैँ नेपालीमाथि दुर्व्यवहार गर्ने गरेको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.