|

काठमाडौं : स्थानीय तहको चुनाव आउन केही दिन मात्रै बाँकी रहँदा राजनीतिक पार्टीहरू प्रचारप्रसारको अन्तिम चरणमा छन्। विभिन्न पदका उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। कामको शिलशिलामा बाहिर भएकाहरू आफ्नो गाउँ ठाउँ फर्किने क्रम बढेको छ। मोबाइलको रिंग ब्याक टोनदेखि सामाजिक सञ्जाल, गाउँ शहरमा घन्किएका विभिन्न पार्टीका प्रचार गीत चौतारा, बिजुलीका पोल र रुखहरूमा टाँगिएका झण्डाले चुनाव लागेको महशुस गराएका छन्।

देशमा चुनावको लहर चलिरहँदा नेपाली कला क्षेत्र पनि राजनीतिले तरंगित छ। केही कलाकार चुनावमा उम्मेदवार नै बनेर उत्रिएका छन्, केही कलाकारले आफूलाई मन परेको उम्मेदवार तथा पार्टीको खुलेर समर्थन गरिरहेका छन् भने केही कलाकारले आफ्नो भोट कसलाई भनेर खुलेर भनेका छैनन्। केही कलाकारले आफ्नो समर्थन जनाउँदा सामाजिक सञ्जालमा आलोचित पनि भएका छन् भने केही कलाकारको वाहवाही पनि भएको छ। 

यतिवेला सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चा काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको छ। र्‍यापर तथा इन्जिनियर बालेन शाहले मेयरमा उम्मेदवारी दिने घोषणा गरेसँगै कलाकारको ठूलो जमात बालेनको समर्थनमा उभिएका थिए। चुनाव नजिकिँदै गर्दा धेरै कलाकारहरूले खुलेर बालेनको समर्थनमा बोलिरहेका छन्। 

लेखक तथा फिल्म निर्देशक प्रदिप भट्टराई, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आफ्नो सामाजिक सञ्जालमा नियमित रुपमा बालेनको समर्थनमा पोस्ट गर्दै आएका छन्। क्याप्टेन तथा कलाकार विजय लामा, निर्माता तथा कलाकार निर्मल शर्मा, अभिनेत्री सुरक्षा पन्त लगायतले पनि आफूहरू बालेनको पक्षमा रहेको बताउँदै आएका छन्। योसँगै सिंगो नेपाली हिपहप समुदाय नै बालेनको पक्षमा उभिएको छ। विभिन्न र्‍यापरले बालेनको पक्षमा र्‍याप गीत पनि सार्वजनिक गरेका छन्। 

त्यस्तै केही हप्ताअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर चुनावी प्रचारप्रसारका लागि देश दौडाहामा छिन्। आफूले कुनै पदमा उम्मेदवारी नदिएको भए पनि उनी आफ्नो पार्टीको राम्रैसँग प्रचार गरिरहेकी छिन्। पूर्व ताप्लेजुङदेखि पश्चिम दाङसम्मका विभिन्न आमसभामा भाग लिँदै आएकी करिश्माको सामाजिक सञ्जाल पनि एमालेमय छ। 

गत फागुनदेखि राप्रपाको केन्द्रीय सदस्य बनेकी रेखा थापालाई पनि यतिवेला भ्याइ नभ्याइ छ। इलामको फिक्कल, झापाको बिर्तामोड, उदयपुर, रामपुर, पोखरा लगायतका विभिन्न ठाउँमा आयोजित राप्रपाका आमसभामा सहभागी हुँदै रेखाले राप्रपा र चुनाव चिह्न हलोको प्रचार गरेकी छिन्।

राप्रपाको महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिएकी रेखा पराजित भएपनि पछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई केन्द्रीय सदस्य बनाएका थिए।

त्यस्तै, यसै महिना कांग्रेसमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले पनि चुनावको लागि प्रचार गर्न थालेकी छन्। आफ्नो सामाजिक सञ्जालमार्फत उनले कांग्रेसको प्रचार गरेकी छिन्। श्वेतासँगै कांग्रेस प्रवेश गरेका अभिनेता भुवन केसी र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि चुनावको लागि आफ्नो आफ्नो ठाउँबाट लागि परेका छन्। 

कुनै पनि पार्टीको साधारण सदस्यता पनि नलिएको बताउने हास्य कलाकार सन्दीप क्षेत्रीले भने गत बिहीबार चितवनमा आयोजित कार्यक्रममा नेकपा माओवादीबाट मेयरमा उम्मेदवारी दिएकी रेनु दाहालको पक्षमा बोलेका थिए।

आफू पार्टीको सदस्य नभए पनि दाहालको काम मन परेका कारण समर्थनमा बोलेको बताएका सन्दीप उक्त अभिव्यक्तिपछि विवादमा तानिएका थिए। सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो।

यीबाहेक विभिन्न पार्टीमा आबद्ध गायक कलाकारहरू पनि चुनाव प्रचारप्रसारमा सक्रियताका साथ लागि परेका छन्। पुराना चर्चित चुनावी गीतहरू त बजेका छन् नै साथै धेरै नयाँ गीतहरू पनि सार्वजनिक भइरहेका छन्। 

कलाकारलाई राष्ट्रको गहना मानिन्छ। कलाकारलाई पछ्याउने मन पराउनेको संख्या ठूलो हुन्छ। जसकारण समाजमा कलाकारले सजिलै आफ्नो प्रभाव छोड्न सक्छ। एउटा कलाकारले राजनीतिमार्फत समाज सेवा गर्ने चाहना राख्नु सकारात्मक कुरा हो।

आफ्नो विचार मिल्ने पार्टीको समर्थन गर्नु, त्यसलाई जिताउने प्रयास गर्नु स्वाभाविक कुरा हो। तर कलाकार चुनावको मुखमा जति सक्रिय हुन्छन्, अरु समय त्यो सक्रियता देखिँदैन। अधिकांश कलाकार सामाजिक मुद्दामा बिरलै बोल्ने गरेको पाइन्छ। जसले गर्दा अहिलेको सक्रियता देखावटी र दोहारो सम्झौताबाट प्रेरित मात्रै पो हो कि भन्ने प्रश्नले ठाउँ पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.