|
फाइल

काठमाडौं : बालबालिकामा आँखासम्बन्धी एक समस्या हो ‘रेटिनोब्लास्टोमा’। रेटिनोब्लास्टोमा बालबालिकाको एउटा वा दुवै आँखाको नानीको भित्री भागको पर्दा (रेटिना) मा हुने क्यान्सर हो। समयमै थाहा पाएमा यो रोगको उपचार गरेर पूर्णतः निको पार्न सकिन्छ।

यो विशेषगरि नवजात शिशुदेखि ५ वर्षमुनिका बालबालिकामा देखा पर्दछ। १५ हजार नवजात शिशुमध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुने सबैखाले क्यान्सरको ५५ प्रतिशत ओगटेको छ।

यो रोगको उपचार गर्न ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यानसमेत जान सक्दछ। नेपाललगायत विकासोन्मुख देशमा यो रोगबाट हुने मृत्युदर अधिकतम ५०  प्रतिशत रहेको छ तर विकसित देशहरुमा भने ५ प्रतिशतभन्दा न्यून पाइएको छ।

रेटिनोब्लास्टोमा बालबालिकामा देखिने एक जटिल रोग भए तापनि यसको लक्षण प्रारम्भिक अवस्थामा थाहा पाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमुक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान दुवै जोगाउन सकिन्छ।

यी हुन् रेटिनोब्लास्टोमाका मुख्य लक्षण

रेटिनोब्लास्टोमाको मुख्य लक्षण आँखाको कालो नानीको बीच भागमा सेतो देखिनु हो। आँखामा यस्तो लक्षण देखिए पनि बालबालिका भने स्वस्थ नै देखिन्छन्। यसकारण बालबालिका तथा अभिभावकले यो विषयमा थाहा नपाउने र उपचारका लागि ढिलो स्वास्थ्य संस्था पुग्ने गर्छन्।

यसका साथै रंगीन फोटो खिचेमा रोग लागेका बालबालिकाको आँखाको नानीमा सेतो टीकाजस्तो देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु, आँखाको आकार ठूलो हुँदै जानु र बाहिरतिर निस्कनु यसका अन्य लक्षण हुन्।

वेलैमा उपचार नभए आँखाको डल्लो बाहिर निस्कने र आँखाको आकार असामान्य रुपमा बढीरहने हुन सक्छ। यो क्यान्सर भएकाले बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम रहन्छ।

तिलगंगा आँखा अस्पतालकी डा.पूर्णिमा राजकर्णिकारका अनुसार आँखा डेढो भएका तथा आँखाको कालो भागको बीच भाग सेतो हुनु पनि रेटिनोब्लास्टोमाको लक्षण हुनसक्छ।

‘हाम्रो समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकालाई भाग्यमानी ठान्ने चलन छ तर यी कुनै रोगका लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन। कतिपय मानिसले भने यी लक्षणका जटिलता बुझेका हुँदैनन् भने कतिपयले बच्चाको रोग लुकाउन अस्पताल जान ढिलो गर्छन्। यीनै कारणले गर्दा यो रोग लागेका बालबालिकालाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ‚’ उनले भनिन्।

यो रोग लागेका बालबालिकामध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ। दुवै आँखामा देखा परेमा यो रोग वंशाणुगत हुनसक्ने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ।

यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने भएकाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ। यो रोगको उपचारका लागि लेजर तथा शल्यक्रियाबाहेक केमोथेरापी, थर्मोथेरापी, क्रायोथेरापी र रेडियोथेरापी लगायत उपचार पद्दति मुख्य हुन्।

तिलगंगा आँखा प्रतिष्ठानमा भएको एउटा अनुसन्धानमा आँखासहित आँखा वरपरका हड्डीसमेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारणमध्ये ३२ दशमलव १ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ। नेपालमा यो रोगको उपचार तिलगंगा आँखा अस्पतालमा १५ वर्षदेखि हुँदै आइरहेको छ।

विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह २०२२ को सन्दर्भमा तिलगंगा आँखा प्रतिष्ठानले रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउन यही वैशाख २५ देखि ३१ गतेसम्म सचेतना सप्ताह मनाइरहेको छ। प्रतिष्ठानले साताभरि आँखामा क्यान्सर भएका बालबालिकाहरूको निःशुल्क जाँच तथा उपचार गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.