‘गाली सहेर भएपनि विकासकाे काम गर्न पछि हट्दिन’

|

काठमाडौं : केशव स्थापित अधिकांश महानगरवासीमाझ परिचित नाम हो। एकपटक काठमाडौं महानगरको मेयर भइसकेका उनलाई महानगरवासीले ‘मेयर साब’को सम्बोधनसमेत गर्छन्। उनले यसअघि मेयर हुँदा गरेका कामका आधारमा महानगरवासीका लागि उनी विकासका पर्याय हुन् भन्दा खासै फरक नपर्ला। यसअघि उनी दुईपटक काठमाडौं महानगरपालिकाको मेयर भएका छन्।

मेयरमा उनी पहिलो पटक वि.सं. २०५४ मा मनोनीत भएका थिए। राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव, उपत्यका विकास प्राधिकरणको प्रमुख, बागमती प्रदेशका लागि भौतिक योजना तथा विकास मन्त्रीको समेत कार्यभार सम्हालिसकेका स्थापितले मेयरमा रहँदा महानगरवासीले सम्झनलायक काम गरेका थिए। तिनै स्थापित यसपटक नेकपा एमालेका तर्फबाट फेरि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन्। 

उनको मुख्य प्रतिस्पर्धीका रुपमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह रहेकी छन्। स्थापितसँगै काठमाडौं महानगरपालिकाको उपमेयरमा पूर्वमिस नेवा सुनिता डंगोललाई एमालेले उभ्याएको छ। विकास निर्माणको काममा साथ दिन युवा पुस्तालाई अघि सारेकाले पनि आफूलाई काम गर्न सहज हुने बताउँछन् स्थापित। 

‘प्रतिस्पर्धी नै छैनन्’

स्थापित भन्छन्, ‘घरदैलो कार्यक्रम गर्दा माहोल एकोहोरो हाम्रो पक्षमा छ। यसलाई आफ्नो दर्शन, पार्टीको आधारमा संगठन बोकेर नीति, कार्यक्रम काठमाडौं कस्तो बनाउने भनेर सार्वजनिक मञ्चमा आउने प्रतिस्पर्धी नै पाइएन।’

मेयरका उम्मेदवार स्थापित आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्। उनले आफ्ना प्रतिस्पर्धी गर्न खोज्नेहरूले बिना कुनै योजना महानगरको मेयरमा दाबी गर्नाले राजधानीबाट अन्य क्षेत्रमा जानुपर्ने सन्देश देशव्यापी बन्न नसक्ने बताए। उनले बिना कुनै एजेण्डाका प्रतिस्पर्धी आउँदा नयाँ युवा मतदातालाई २ दशकको शिक्षा दिनुपर्ने राजनीतिक अवसर गुमाउने दाबी गरे। 

‘अहिलेको मलाई लागेको खल्लो के हो भने अर्को पक्ष पनि यसरी प्रस्तुत भएको भए हाम्रा विचार, दर्शनका कुरा, कार्यक्रमका कुरा, शहरी योजनाका कुरा देशव्यापी जान्थ्यो‚’ उनले भने, ‘यसले राजधानीबाट अन्य क्षेत्रमा शिक्षा जान्थ्यो। मैले त अर्को पक्ष देखेकै छैन‚ समग्र होलस्टिक कुरा लिएर आएकै छैन। एउटा चुनावले २० वर्षको एजुकेसन दिनुपर्नेमा यसलाई हामी गुमाउँदै छौँ।’

उनले गठबन्धनका उम्मेदवारलाई आफूभन्दा कमजोर प्रतिस्पर्धीको संज्ञा दिए। यसअघि मेयर हुँदा आफूले काम गरेर देखाएकाले अहिले फेरि पनि त्यसैगरि काम गर्न सक्नेमा आफू विश्वस्त रहेको उनले बताए। अहिलेको युवा पुस्तालाई लिएर उनीहरूको योजनाअन्तर्गत जाँदा शहरले विकासको नयाँ रुप पाउनेमा उनी ढुक्क छन्।


‘मैले यसअघि गरेका कामहरूको अनुभव भन्नु पर्दा यो सतीले सरापेको देश केही हुँदैन भन्थे तर एउटा मान्छे भयो भने बन्दो रहेछ। अहिलेको पुस्ता धेरै परिवर्तन भइसकेको छ‚’ उनले भने, ‘अहिलेको पुस्ताले जातभात मान्न कम गरिसकेको छ। यस्तो अवस्थामा यो पुस्ताले सयमाथि फोरम खोलेर अन्तरराष्ट्रिय स्तरको विकास गरेर देखाउनु पर्छ। यो काम गर्न हामीले अब उनीहरूलाई जिम्मेवारी दिन सक्नुपर्छ।’

‘स्थानीय तहलाई अधिकार दिनुपर्छ’

स्थानीय तहलाई शक्ति सञ्चालनको अधिकार दिएन भने विकासमा बाधा पुग्ने उनको भनाइ छ। उनले स्थानीय सरकार भने पनि अझै शक्ति सञ्चालनको अधिकार हस्तान्तरण हुन नसक्दा सेवा विस्तार हुन नसकेको बताए। 

मेयरमा जितेपछि अहिलेको उठिरहेको राजश्वभन्दा १० गुणा बढी राजश्व उठाएर काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे। उनले आफू मेयर भएको भोलिपल्टबाट नै आम नागरिकका समस्याको सुनुवाई गर्ने पनि बताए। 

‘हामीले पावर डेभलपिङ प्रोसेस शुरु भएको मान्नुपर्छ यसलाई। अहिले पनि महानगर र पालिकाहरूलाई स्थानीय सरकार भने पनि त्यहाँ पावर डेभलप भएको छैन। मैले त्यसमा ४ अर्बले पुग्दैन विकासका लागि ४० अर्ब दिनुपर्छ भन्न पाउनुपर्छ‚’ उनले भने, ‘हामीले आफ्नो मातहतमा पशुपति क्षेत्र विकास कोष, सडक विभाग, विद्युत आदि कुराहरू राख्यौँ भने आफूअनुकूल विकासका कार्यक्रम गर्न पाउँछौँ।’

पावर डेभलपिङ प्रोसेस गर्ने काम अब महानगरपालिकाले पाउनुपर्ने उनको भनाइ छ। 

सम्पदा संरक्षण र योजना

काठमाडौं महानगरभित्र रहेका केही सांस्कृतिक सम्पदा लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाको जग एकैपटक हालेर काम शुरु गर्ने बताए। उनले काठमाडौं वरिपरि रहेका केही स्थानमा ६ महिनाभित्र पार्क निर्माण गरिसक्ने र त्यहाँ युवाहरूले जीवनको कथा लेख्न सक्ने वातावरण सिर्जना गर्ने दाबी गरे। 

उनले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिसापिसाब गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 

पार्कका समस्या लगायतका अन्य समस्याहरूको समाधान गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले बताए। उनले केशव स्थापितभन्दा अहिले पनि मेयर साबको नामबाट आफू परिचित रहेकोले मेयरकै हिसाबमा काम गरेर देखाउने दाबी गरे। गाली सहेर भएपनि विकासका काम गर्न पछि नपर्ने तरिकाबाट आफूले योजना बनाएको उनको भनाइ छ।

उनले भने, ‘मैले अहिले मानिसहरूले बिर्सिसकेका ४८ वटा मन्दिर छानेको छु। २०९० सालको भूकम्प गएपछि कसैले त्यो विषय नै उठाएको छैन। ती ४८ वटाको जग म एकैपटक हाल्छु। यो काठमाडौंमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरू बनाउँछु। त्यहाँ युवाहरूले जीवनको कथा हाल्नुपर्छ। शौचालय नबनाउने अनि पिसाब फेरे कारबाही गर्ने भन्ने हुन्छ? मोटरसाइकल पार्किङस्थल नबनाउने अनि पार्किङ गर्‍यो भनेर समात्ने हुन्छ? सबै बनाउनुपर्छ नि! म यसबारेमा विभिन्न फोरम बनाएर काम गर्छु।’

उनले अहिले पनि २ सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पत्ति पर्खाल लगाएर राखेकाले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताए। सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गरे। 

काम गर्न सरकारका तर्फबाट व्यवधान आए अदालतबाट न्याय खोजेर भएपनि काम गर्ने उनको प्रतिबद्धता छ। आफूसँग विकास गर्नसक्ने कला भएकाले त्यसबारे गहन अध्ययन गरेको र त्यसैअनुसार कांग्रेस, कम्युनिष्टको सोचलाई हटाएर शहर विकासको परियोजनाअन्तर्गत काम गर्ने उनले बताए। 

‘साढे २ सय वटा पर्खालले घेरेको सरकारी सम्पत्ति छ। त्यो किन चाहियो? त्यहाँ भ्रष्टाचार गर्न, अरु गर्न? नहुने कुनै कर्म गर्नु छ र पर्खालले घेरेको? पर्खाल फोरेर ट्युबहरू गज्जबको बनायो। पानीको फोहोरा, हरियाली फूलहरू। मान्छेको मन खुशी हुन्छ नि! राजदरबारको ६ सय रोपनीको पर्खाल खोलेपछि काठमाडौंको स्वरुप कस्तो होला? अबको योजना पप्पुले पाउँदैन। सबै क्षेत्रलाई पहिला स्पेस क्रिएट गर्छु,’ उनले दृढतापूर्वक भने। 

मेयरका उम्मेदवार स्थापितले महानगरले उठाउन बाँकी राजश्व ४८ अर्ब रूपैयाँ रहेको आफ्नो विज्ञ टिमले पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिबद्धता पनि जनाए। 

सरकारसँग ४० अर्ब माग गर्ने 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको बताए। भूकम्प र कोरोनाकालमा समेत विकास निर्माणका कामहरू भएकोप्रति उनले खुशी व्यक्त गरे। महानगरलाई सरकारले ४ अर्ब छुट्याएर सबै काम गर्न लगाउने गरेकोप्रति उनले गुनासो गरे। 

महानगरको विकासका लागि सरकारसँग ४० अर्ब रूपैयाँ माग गर्ने बताए। विकासको लागि रकम माग्दा नदिए उपत्यकाका सबै मेयरलाई एकजुट गराएर माग राख्ने बताए। 

‘४८ अर्ब रूपैयाँ त उठ्नै बाँकी रहेछ। जनता तिर्न तयार छ तर उठेको छैन। त्यो छानबिन गरेर जे पर्छ बेहोर्छु भन्ने मान्छे मेयर हुनुपर्छ। यसअघि हाम्रो मेयरलाई भूकम्पतिर ध्यान गयो। पुँजी वृद्धिमा ध्यान गएन। अब लाग्छुभन्दा कोभिड आयो। मान्छे जोगाउने कि पैसा उठाउने?‚’ उनले भने, ‘अरु गर्ने। उहाँले भन्न जान्नुभएन होला तर उहाँले गरेका काम हेर्दा यति धेरै काम गरेको छ। ४८ अर्ब रूपैयाँ म ६ महिनामा नै उठाउँछु भन्ने लागेको छ‚ कुनै जोरजुलुम नगरिकन। तर मैले एउटा आन्दोलन घोषणा गर्छु।’

‘काठमाडौं महानगरपालिकालाई ४ अर्ब रकम दिएर सबै सिटी म्यानेज गर भनेर भन्ने त्यो सबै सामन्ती भन्छ नि, त्यो होल्ड गरेर राख्न पाइन्छ? मलाई ४० अर्ब चाहिन्छ नत्र म काठमाडौं बन्द गर्छु भनेर यो उपत्यकाभरिका सबै मेयरले भन्ने हो। सबैले समृद्धिमा जान त्यो आह्वानलाई त मान्नुपर्छ नि।’

उनले आफू मेयरमा जितेपछि योजना भएका मानिसहरूलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताए। हरेक क्षेत्रमा काम गर्न भिजन भएकाहरूको आवश्यकता पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकाले आम युवालाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रम अघि बढाउने उनले बताए। 

युवाहरूमा पनि महिलाहरूले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै महिलालाई आफ्नो टिममा समावेश गरेर काम गर्ने उनको भनाइ छ। भिजन भएका युवाहरूलाई आफ्नो टिममा आउनका लागि आह्वानसमेत गरे। 

राजतन्त्रमा मेयर बन्दा बटुलेको अनुभव  पौरख, मेरो गौरव, मेरो काठमाडौं भन्ने नारासहित काठमाडौं महानगरको विकासका लागि लड्ने उनको भनाइ छ। मेयर बन्दा माइतीघर, पशुपति क्षेत्र विकास र तीनकुनेजस्ता ठाउँका अव्यवस्थित टहरा उनले भत्काएर नयाँ संरचना बनाएका थिए।

स्थापित २०४७ सालमा गठित एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघका महासचिवसमेत थिए। त्यो वेला यसको अध्यक्ष केपी शर्मा ओली थिए। त्यो बेलाको ओली र स्थापितको सम्बन्धले पनि अहिले थप काम गरेको बुझाइ एमालेभित्र छ। 

स्थापितको पालामा काठमाडौं महानगरमा धेरै काम भएको र उनले नै काठमाडौंमा आकाशे पुल, सडक फराकिलो बनाउने कामको शुरू गरेको एमालेका नेताहरूको दाबी छ। त्यही वेलाको उनको छवि, खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण एमालेले काठमाडौं महानगरको मेयरमा स्थापितलाई अघि सारेको समर्थकहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.