|

हेटौंडा : अबको ४ दिनमा स्थानीय तहको निर्वाचन छ। देशभरि एकैसाथ ७ सय ५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ तर यतिवेला एउटै स्थानीय तहले सिंगो देशको ध्यान तानेको छ।

सत्ता, शक्ति, संघर्ष सबै आफूतिर तानेको चितवनको भरतपुर महानगरपालिका राजनीतिक दलका लागि मात्रै होइन आम मतदाताको पनि चासोमा छ। देशको संघीय राजधानी काठमाडौं महानगरपालिकामा भएपनि राजनीतिको केन्द्रीय थलो भने भरतपुर महानगरपालिका बनेको छ। भरतपुर सत्तापक्ष र प्रतिपक्ष दुवैको प्रतिष्ठाको विषय पनि  बनेको छ।

४ दिनपछि हुने स्थानीय तहको निर्वाचनले भरतपुरमा दिने परिणामले देशको राजनीतिक उतारचढाव हुने निश्चितप्रायः छ। भरतपुरमा आउने मत परिणामले नै हाल कायम सत्ता गठबन्धनको आयु पनि निर्धारण गर्नेछ। त्यसैले पनि यतिवेला भरतपुर महानगरपालिकामा परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरत भइरहेको छ।

मंगलबार रातिदेखि मौन अवधि शुरु हुने भएकाले प्रतिस्पर्धीहरू यतिवेला जीत आफ्नो पक्षमा पार्ने दाउसहितको कसरत गरिरहेका छन्। ३० गते हुने स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकाको नेतृत्व गर्न त्रिपक्षीय भीडन्त हुँदैछ। सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र प्रतिपक्षी रहेको एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्।

दाहाल र सुवेदी दुवैको भीडन्तलाई चुनौती दिएका छन्, जगन्नाथ पौडेलले। कांग्रेसका पूर्वसांसद पौडेलले गठबन्धनकी उम्मेदवार दाहालविरुद्ध उम्मेदवारी दिएका हुन्। अघिल्लो निर्वाचनमा पनि भरतपुर माओवादीले पाएको भन्दै यो निर्वाचनमा भरतपुर कांग्रेसले पाउनुपर्ने उनको माग थियो। तर भरतपुरमा फेरि माओवादीबाट रेनु दाहाल उम्मेदवार बनेपछि बागी उम्मेदवारी दिएका उनले भरतपुरको निर्वाचनलाई रोचक बनाएका हुन्।

उसो त अघिल्लो निर्वाचनमा पनि भरतपुरको निर्वाचन रोचक नभएको होइन। त्यतिवेला पनि मतपत्र च्यातेको विषयले सबैको ध्यान भरतपुरतिर तानेको थियो। गठबन्धनकी उम्मेदवार दाहाल माओवादी अध्यक्ष प्रचण्डपुत्री भएकाले उनको उम्मेदवारीले मात्रै पनि भरतपुरमा सबैको चासो रहने भएपनि पौडेलको उम्मेदवारीले त्यहाँको निर्वाचनलाई थप रोचक र पेचिलो बनाइदिएको छ।

बागी उम्मेदवार पौडेल रेनु दाहालको जीतका लागि मात्रै नभएर एमाले उम्मेदवार सुवेदीका लागि पनि चुनौती बनेका छन्। भरतपुर माओवादीलाई दिएकोमा कांग्रेस असन्तुष्ट थियो।

कांग्रेस कार्यकर्ता फकाउने एमालेको रणनीति

एमालेका सुवेदीले असन्तुष्ट कांग्रेसको मत आफूतिर तान्ने आश गरेका थिए। त्यसैले उनले उम्मेदवारी दर्ता गर्नुपूर्व विपीको शालिकमा माल्यार्पण गर्दै कांग्रेसलाई भावनात्मक रुपमा आफूतिर तान्ने प्रयास गरेका थिए। तर उनले उम्मेदवारी दिएको केही समयमा नै कांग्रेस नेता पौडेलले पनि उम्मेदवारी दिए। उनले उम्मेदवारी दिएलगत्तै सुवेदीले अपेक्षा गरेका कांग्रेसको असन्तुष्ट मत पौडेललाई जाने सम्भावना छ।

असंतुष्ट कांग्रेसको मत नपाउने अवस्था देखिएपछि आइतबार भरतपुरमा भएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत अधिकांश नेताहरूले कांग्रेस कार्यकर्तालाई सहानुभूति दिँदै भाषण गरे। २२ गते  सत्ता गठबन्धनका नेताले दिएको धम्कीपूर्ण भाषणले आक्रोशित कार्यकर्ता फकाउने आशयसहित एमालेले कांग्रेस कार्यकर्तालाई छुने भावनात्मक भाषण गर्‍यो।

एमाले अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै भने‚ ‘जिन्दगीभरि कांग्रेस भनेर हिँडेका साथीहरू हेर्नुस् त। पोहोर पनि ढाट्यौं, यसपालि पनि ढाट्यौं गीतजस्तै भयो। पहिले पनि उनैलाई जिताए, अहिले पनि उनै। उनलाई जिताए प्रचण्ड उत्साहित हुनुहुन्छ रे! २० वर्ष गठबन्धन रहन्छ रे! कांग्रेस कार्यकर्ताको हालत २० वर्ष छोरी बोक त्यसपछि ज्वाईं र भाइभतिजा बोक।’

कांग्रेसको मत दाहालतिर जानबाट रोक्दै आफूतिर तान्ने रणनीतिसहित एमालेले कार्यक्रम अवधिभर आफ्नोभन्दा पनि कांग्रेसका असन्तुष्ट कार्यकर्ताको पक्षमा वकालत गरिरह्यो। अघिल्लो निर्वाचनमा दाहालसँग भरतपुरको मेयरमा पराजित देवी ज्ञवालीले पनि कांग्रेसलाई भरतपुरमा आफ्नो ग्राउण्ड सकिएको चिन्ता नभएपनि कार्यकर्तालाई भएको टिप्पणी गरे।

उनले भने‚ ‘भरतपुरमा आफ्नो ग्राउण्ड सकिएको चिन्ता कांग्रेसका नेतालाई छैन, तर कार्यकर्तालाई छ। ती कार्यकर्ताले कांग्रेस जोगाउन यसपटक एमालेलाई मत दिनुपर्छ र माओवादी हराउनुपर्छ। सधैँ माओवादी जिताए भरतपुरमा कांग्रेसको पालो कहिले आउने?’

अघिल्लो निर्वाचनको लेखाजोखा

अघिल्लो निर्वाचनमा कांग्रेसमा अहिलेको जस्तो असन्तुष्टि नदेखिएको भएपनि त्यतिवेला पनि कांग्रेसको मत माओवादीले पूर्ण रुपमा नपाएको देखिन्छ। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेनु दाहाल ४३ हजार १ सय २७ मत ल्याएर विजयी भएकी थिइन्। उनले ४२ हजार ९ सय २४ मत ल्याएका एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले मात्रै पराजित गरेकी थिइन्।

गठबन्धनबाट मेयरमा निर्वाचित भएकी दाहालले भन्दा उपमेयरमा निर्वाचित भएकी पार्वती शाहले ४ हजारभन्दा बढी मत पाएको देखिन्छ। कांग्रेसकी शाहले ४७ हजार १ सय ९७ मत पाएकी थिइन्। जुन मेयर दाहालको भन्दा ४ हजार ७० ले बढी हो। दुवैजना एउटै गठबन्धनबाट उठेको भए पनि यी दुईबीचको मतान्तरलाई हेर्दा नै त्यतिबेलाको निर्वाचनमा पनि रेनुलाई कांग्रेसको पूरै मत नखसेको देखिन्छ।

०७४ को निर्वाचनमा कांग्रेसभित्र अहिलेको जस्तो विद्रोह नदेखिए पनि दाहाल र शाहबीचको मतान्तरलाई हेर्दा उनलाई कांग्रेसले पूर्ण रूपमा साथ नदिएको देखिन्छ। अहिलेको निर्वाचनमा कांग्रेसभित्रको विद्रोह विष्फोट भएर बागी उम्मेदवार बनेर पौडेल उभिएका छन्।

अन्तिम कसरतमा तीन प्रतिस्पर्धी

भरतपुर महानगरपालिकामा जीत आफ्नो पक्षमा पार्ने योजनासहित तीनैजना उम्मेदवार अन्तिम कसरतमा छन्। उनीहरू मत माग्ने अन्तिम समयसम्ममा मतदातालाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने ध्याउन्नमा छन्। सत्ता गठबन्धनले असन्तुष्ट मत बागी उम्मेदवार पौडेलकोमा जान नदिने हरसम्भव प्रयास गरिरहेको छ भने पौडेलले कांग्रेसको मत सकेसम्म आफूतिर तान्ने प्रयास जारी राखेका छन्।

एमाले भने दुवै पक्षको कमजोर कडीलाई समाएर आफू बलियो हुने प्रयास गरिरहेको देखिन्छ। एमालेले मत परिणाम आफ्नो पक्षमा पार्न दौडधुप बढाएको छ। घरदैलो, कोणसभा र भेटघाटलाई तीव्र बनाएका भरतपुरका उम्मेदवार दाहाल र सुवेदीले कांग्रेसको मत तान्ने आशयले शनिबार एउटै स्थानमा कार्यक्रमसमेत गरे।

दुवैले कांग्रेसबहुल मतदाता भएको क्षेत्र पश्चिम चितवनको हरैया, दिव्यनगर, शारदानगर र चनौलीमा घरदैलो तथा कोणसभा गरेका हुन्। आइतबार एमाले उम्मेदवार सुवेदी पार्टीको आमसभामा व्यस्त भए। गठबन्धन उम्मेदवार दाहाल भरतपुर बजारकेन्द्रित हुँदै घरदैलो कार्यक्रमसँगै महिला, युवा र पेशागत संगठनहरूलाई छुट्टाछुट्टै सम्बोधन गर्ने, गठबन्धननिकट चिकित्सकहरूसँग भेटघाट लगायत कार्यक्रममा व्यस्त भइन्।

बागी उम्मेदवारी दिएका पौडेल पनि दैनिक चुनावी कार्यक्रममा व्यस्त छन्। उनी घरदैलो कार्यक्रम गर्ने, चोक र चौतारामा गएर मतदाता भेट्ने कार्यमा व्यस्त छन्। पौडेलले विशेषगरि कांग्रेस कार्यकर्तासँगको भेटघाट तीव्र बनाएका छन्। तीनैजना उम्मेदवार आज पनि मतदातालाई भेटेर मत माग्नमै व्यस्त छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.