|

इलाम :  इलाम नगरपालिकामा पुर्व-राज्यमन्त्री केशव थापाले २०४९ सालमा कायम गरेको कांग्रेसको विरासत २०५४ मा आइपुग्दा गुम्यो।

एमालेका नरेन्द्रनाथ भट्टराईलाई हराउँदै थापा त्यसबेला इलाम नगरपालिकाको मेयर निर्वाचित भएका थिए। त्यसअघि पञ्चायतकालमा २०४३ सालमा पूर्व-जिल्ला सभापति हिमालय कर्मचार्य उहि नरेन्द्रनाथलाई नै हराउँदै इलाम नगरपालिकाको मेयर बनेका थिए।

तर, २०५४ मा आइपुग्दा थापा र कर्मचार्यले कायम गरेको कांग्रेसको विरासत एमालेका उम्मेदवार महेश बस्नेतले खोसिदिए। बस्नेतले कर्मचार्यलाई हराउँदै इलाम नगरमा कम्युनिष्टको झन्डा गाडे। २० वर्षपछि २०७४ सालमा मा पुन :  बस्नेत र कर्मचार्य नै इलाम नगर नेतृत्वका लागि भिडेका थिए। त्यहाँ पनि कर्मचार्य पराजित भए। उनलाई आफ्नै गृह क्षेत्र इलाम नगरपालिका–७ का कार्यकर्ताले पत्याएनन्। सो वडामा करिब ६ सयको संख्यामा कांग्रेसका क्रियाशिल सदस्य थिए।

कर्मचार्यले ३ सयको हाराहारीमा मात्र मत पाए ।  संयोग नै मान्नुपर्छ २०७० को संविधानसभा निर्वाचनमा १ हजार ८ सय १५ मतले पूर्व-प्रधानमन्त्री झलनाथ खनालसँग हारेका कर्मचार्यले नगर नेतृत्वका लागि नेकपा एमाले इलामका तत्कालिन सचिव महेश बस्नेतसँग १ हजार ७७९ मतान्तरले पराजित बने। २०७९ मा आएर कांग्रेसलाई ३० वर्ष पुरानो विरासत फकाउने अवसर छ। अर्को तर्फ पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको गृह नगरमा एमालेलाई साख जोगाउने चुनौती पनि। त्यसो त इलाम नगरपालिका झलनाथ खनालको समेत गृह नगर हो।

 नेम्बाङको पुर्ख्यौली घर इलाम बजार रहेको वडा- ७ मा छ। खनालको वडा- १ को साखेजुङमा। कांग्रेस नेता पूर्व-राज्यमन्त्री बेनुपराज प्रसाई  समेत इलाम नगरकै बासिन्दा हुन्।

अहिले इलाम नगरको राजनीतिलाई केन्द्र विन्दुमा राखेर हेरिएको छ।  नेकपा एमालेको अध्यक्ष मात्र होइन, देशकै प्रधानमन्त्री भइसकेका खनाल अहिले एमालेमा छैनन्। तर गठबन्धन भित्रको कांग्रेसलाई आफ्नो गृह नगरमा जिताउने कार्यभार पनि उनको काँधमा छ।

खनाल इलाम नगरपालिकाका मतदाता भने होइनन्। उनले २०७४ को स्थानीय तह निर्वाचन र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सूर्योदय नगरपालिका–९ को राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेका थिए।

यसपालिको चुनावमा इलामको नगर प्रमुखमा एमालेबाट धिरेन चेम्जोङ र नेपाली कांग्रेसका केदार थापा प्रतिस्पर्धामा छन्। सत्ता गठबन्धन भित्रकै जनता समाजवादी पार्टीका गोपालबहादुर सोराली मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका मायादेवी भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनका बुद्धबहादुर लोक्ताम र स्वतन्त्र फणीन्द्र न्यौपाने पनि मैदानमा छन्।

तर मुख्य प्रतिस्पर्धीको रुपमा थापा र चेम्जोङलाई नै हेरिएको छ। उपप्रमुखमा एमालेकी सीतादेवी रिजाल र नेपाली कांग्रेसकै विष्णुकुमारी लिम्बु बीचकै प्रतिस्पर्धा देखिन्छ। जनता समाजवादी पार्टीबाट भगीरथा कटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र चौहान, मंगोल नेशनल अर्जनाइजेशनका सेरगेम तामाङ र स्वतन्त्र डाकप्रसाद गौतम पनि उपप्रमुखका लागि मैदानमा छन्।

सत्तारुढ कांग्रेसलाई इलाम नगरको विरासत फर्काउने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ र समर्थन छ। एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बनेकाले इलाममा २०७४ मा महेश बस्नेतले पाएको मत पनि अहिले विभाजन भएको छ।

वडा तहमा एक्ला एक्लै र फरक–फरक दलबीच तालमेल भए पनि नगर प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादीसहितका तीन दल एउटै मोर्चामा छन्। इलाम नगरमा महेश बस्नेतले २०७४ मा ल्याएको मत मध्ये २ हजारको हाराहारीमा आफ्नो पक्षमा रहेको एकीकृत समाजवादीका अध्यक्ष भक्त केसी दाबी गर्छन्।   केसी वडा- ७ बाहेक अन्य वडामा २ सय भन्दा बढी मतदाता आफ्नो दलका रहेको जिकिर गर्छन्। माओवादी केन्द्रले अघिल्लो स्थानीय तहको चुनावमा प्रमुखमा ९६३ र उपप्रमुखमा १ हजार ४८ मत पाएको थियो।

यसपालि कांग्रेसलाई समर्थन गरेको माओवादीले आफ्नो मत अहिले बढेको दाबी गर्दै आएको छ। चुनावमा कडा प्रतिस्पर्धा हुने भएकाले दुवै पक्षका उम्मेदवार अहिले प्रचारप्रसार र घरदैलोमा जुटेका छन्। एमाले उम्मेदवार चेम्जोङ कृषि उत्पादन वृद्धि र ब्रान्डिङ, चिया तथा दुग्ध उद्योगीलाई विद्युत महसुलमा सहुलियत नीति, सबै वडामा कालोपत्रे सञ्जाल विस्तार, जलविद्युत आयोजनामा नागरिकलाई सेयर लगायतका मुद्दा बोकेर गाउँ छिरेका छन्।

इलाम अस्पताल विकास समिति र निर्माणाधीन इलाम बजार खानेपानी आयोजनाका अध्यक्ष समेत रहिसकेका कांग्रेस महासमिति सदस्य थापाले कर घटाउने, स्वच्छ खानेपानी, महेन्द्र रत्न बहुमुखी क्याम्पको गुणस्तर सुधार, इलाम अस्पतालमा विशेषज्ञ डाक्टर व्यवस्थापन, लक्षित वर्गलाई सेवा सुविधामा सहुलियतलगायतका मुद्दा उठाएका छन्। दुवै उम्मेदवार आफ्ना एजेन्डा जनप्रिय भएकाले जित्नेमा ढुक्क देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.