शिक्षक महासंघ भन्छ : शिक्षकको होइन, पार्टीको गल्ती छ

|

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि भोट माग्दै शिक्षकहरूले राजनीतिक दलका झण्डा बोकेको पाइएको छ। निर्वाचन आचारसंहिता २०७८ को दफा (९) को सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा सोमा आबद्ध कर्मचारी प्राध्यापक तथा शिक्षकहरूले पालना गर्नुपर्ने आचरणबारे उल्लेख छ।

जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न नहुने व्यवस्था छ। त्यस्तै, सामाजिक सञ्जालमा पनि कुनै पनि दलको पक्ष वा विपक्षमा सन्देशहरू प्रचारप्रसार गर्न र शेयर गर्न नपाइने व्यवस्था छ।

तर ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–८ मा रहेको जाल्पा माविका प्रधानाध्यापक कैलाश पौडेल सूर्य अंकित झण्डा बोकेर भोट माग्दै हिँडेको भिडियो यतिखेर सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा भाइरल छ। पौडेलसँगै त्यही पढाउने अरु शिक्षक केशव रोका, गणेश पौडेल लगायतले पनि प्रचारप्रसारमा साथ दिएका छन्। 

गाउँपालिकाका शिक्षा अधिकृत रचना मैनालीले पनि आचारसंहिता विपरीत प्रअ पौडेल प्रचारप्रसारमा हिँडेको जानकारी आएको तर उजुरी भने नपरेको जानकारी दिइन्। उनले भनिन्, ‘शिक्षकहरू चुनावी प्रचारमा हिँडेको भन्ने जानकारी आएको छ, पुष्टि भएमा आचारसंहिता अनुसार कारबाही हुन्छ।’

त्यस्तै, बारा जिल्लाको परवानीपुर गाँउपालिका–३ लिपनीमालस्थित भोज भगत माविका प्रधानाध्यापक बलिराम सर्राफ पनि चुनावी प्रचारप्रसारमा व्यस्त भएको देखिन्छ। बागलुङ जिल्लाका शिक्षक राजनीतिक दलका चुनावी प्रचारमा खुलेआम हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ।

एकाइ प्रमुख कुश्मराज उपाध्यायले आचारसंहिताले यसरी शिक्षकहरूले भोट माग्न नपाउने र तत्काल नरोकिए नियमानुसार कारबाही हुने चेतावनी दिए। धनकुटा जिल्लामा पनि यस्ता आचारसंहिताको उल्लंघन शिक्षकहरूले गरिरहेको पाइन्छ।

यतिमात्र होइन, शिक्षकहरूले राजीनामा उपमेयरलगायत नदिइ विभिन्न पदमा उम्मेदवारीसमेत दिएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको कांग्रेस पार्टीबाट उममेयरको टिकट पाएका शिक्षक तेजबहादुर खत्रीले राजीनामा नदिइ चुनावी प्रचारप्रसारमा हिँडेको पाइएको छ।

खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुन्। यसैगरि अन्य जिल्लाहरूमा पनि शिक्षकहरू पार्टीको झण्डा बोक्दै प्रचारमा लागेका छन्। तर कारबाही भएको पाइँदैन। 

प्रचारप्रसारमा हिँडेको पुष्टि भए कारबाही गर्छौं : न्यौपाने

ओखलढुंगा जिल्लाका निर्वाचन अधिकृत प्रेम न्यौपाने बारम्बार आचारसंहिताको पालना गर्न आग्रह गरेको बताए। ‘अहिलेसम्म यहाँ शिक्षकहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी परेको छैन, विभिन्न ठाउँमा मतदान अधिकृतहरू खटाएका छौँ, जाल्पा माविको पनि बुझ्छौँ,’ उनले भने। चुनावी प्रचारप्रसार गरेको पुष्टि भए कानुनअनुसार शिक्षकहरूलाई कारबाही गर्ने उनको भनाइ छ।

शिक्षक महासंघ भन्छ : शिक्षकको होइन, पार्टीको गल्ती छ

यता, नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर चुनावी प्रचारप्रसारमा दोषी शिक्षक नभई विभिन्न पार्टीका क्रियाशील कार्यकर्ताहरू रहेको तर्क गर्छिन्। ‘राजनीतिक दलका मान्छेहरू नातागोतादेखि सबै जोड्छन् र प्रचारप्रसारमा शिक्षकहरुलाई हिँडाउँछन्, त्यसैले आचारसंहिता उल्लंघन गर्नुभएन भन्ने चेतना ती पार्टीहरूलाई हुनुपर्छ,’ उनले भनिन्।

आफूहरू शिक्षकहरूलाई आचारसंहिताभित्र रहेर कार्य गर्न निर्देशन दिइरहेको उनको भनाइ छ। ‘कोही शिक्षकहरू राजनीति नै गर्ने पनि होलान्,’ उनले भनिन्, ‘त्यस्तो भए राजीनामा दिएर राजनीतिमा लाग्ने शिक्षकहरू पाइन्छन्।’

आयोगका अनुसार देशभर निर्वाचनका लागि २ लाखभन्दा बढी जनशक्ति खटिएको छ। जसमा सामुदायिक विद्यालय, विश्वविद्यालयका ५० हजारभन्दा बढी शिक्षकहरू खटिएका छन्।  

‘हालसम्म शिक्षकहरूले आचारसंहिता उल्लघंन गरेको भन्ने उजुरी हामीकहाँ आएको छैन,’ महासंघकी अध्यक्ष तुलाधरले भनिन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पुडासैनीले कोही पनि सरकारी कर्मचारी राजनीतिक दलको चुनावी प्रचार गर्न नपाइने र त्यस्तो गर्नेलाई निलम्बन गरिएको पनि बताए।

‘आचारसंहिता उल्लंघन गर्नेहरूलाई निलम्बन गरिएको भन्ने जिल्लाबाट खबर पनि प्राप्त भएको छ, त्यसरी उल्लंघन गरेको पाइए तत्काल एक्सन लिनु भनी निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छौँ,’ उनले भने।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.