माओवादी र समाजवादीलाई एकअर्काको भर

|

धनगढी : कञ्चनपुरमा ९ स्थानीय तहमध्ये सबैभन्दा बढी भीमदत्त नगरपालिकामा चुनावी रौनक छ। जिल्ला सदरमुकाममा रहेको भीमदत्तको निर्वाचनलाई महत्वका साथ हेरिएको हो। संघीयता कार्यान्ययनपछि पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा भीमदत्तमा एमालेले जितेको थियो।

वैशाख ३० गते हुने निर्वाचनका लागि पनि विभिन्न दलका उम्मेदवारहरु चुनावी मैदानमा छन्। ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटी भीमदत्तमा पराजित भएका थिए। अहिले पनि उनी नै काँग्रेसबाट उम्मेदवार बनेका छन्।

०७४ मा विजयी भएका एमालेका सुरेन्द्र बिष्टले ११ हजार ८ सय ३१ मत ल्याउँदा पराजित भएका बोगटीले ११ हजार ६ सय ६५ मत पाएका थिए। त्यसकारण पनि भीमदत्तमा प्रमुख दलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

मेयरका उम्मेदवार बोगटीले भने आफ्नो जित निश्चित भएको बताए। ‘जित्छु त सबैले नै भन्छन्,’ उनले भने, ‘म पनि जित्नका लागि चुनावमा लागेको छु। चुनावी एजेण्डा पार्टीको घोषणा पत्रमा छन्।’

एमालेले महेश पन्तलाई उठाएको छ भने एकीकृत समाजवादीले राजेन्द्र पाण्डेयलाई र राप्रपाले गजेन्द्र चन्दलाई प्रमुखमा उम्मेदवार बनाएको छ। भीमदत्त नगरपालिकामा समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन भएको छ।

जिल्लाको बेदकोट नगरपालिकामा पनि गत निर्वाचनमा एमालेका अशोककुमार चन्द विजयी भएका थिए। कांग्रेसका भोजराज बोहरालाई पराजित गर्दै उनी विजयी भएका हुन्। उक्त नगरपालिकाको मतान्तर पनि धेरै थिएन। अहिलेको निर्वाचनमा पनि समाजवादीले माओवादी केन्द्रसँग तालमेल गरेर निर्वाचनमा छ भने काँग्रेस र एमाले एक्ला–एक्लै मैदानमा छन्।

बेदकोटमा पनि विगतको नतिजालाई हेर्दा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। एकीकृत समाजवादीबाट मेयर पदका उम्मेदवार रामचन्द्र रेग्मीले आफ्नो माहोल राम्रो भइरहेको बताए। ‘वडा तहसम्म नै हामीले जित्छौं,’ उनले भने, ‘हाम्रो चुनावी एजेण्डाहरु पनि जनताले मन पराएका छन्।’

जिल्लाको शुक्लाफाँटा नगरपालिकामा भने ०७४ को निर्वाचनमा नेपाली काँग्रेस बिजयी भएको थियो। कांग्रेसका दिलबहादुर ऐर १ हजार बढी मतान्तरले विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महरा ५ हजार ४ सय २९ मत ल्याई पराजित भएका थिए। अहिले तीनै महरा एमालेबाट मेयरका उम्मेदवार बनेका छन्।

शुक्लाफाँटाको समग्र विकास गर्न तथा स्थानीयलाई खुशी बनाउन उम्मेदवारी दिएको उनले बताए। ‘मेरो प्रतिस्पर्धा कसैसँग छैन। काम गरेर देखाउनका लागि उम्मेदवार बनेको छु। जनताले निर्वाचित गर्नेमा पनि विश्वस्त छु,’ उनले भने।

योसँगै जिल्लाका अन्य स्थानीय तह कृष्णपुर नगरपालिका, पुनर्वास, बेलौरी, लालझाडी, दोधराचाँदनी र बेल्डाँडीमा पनि एमाले, काँग्रेस, एकीकृत समाजवादी र माओवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ।

विगतको निर्वाचनमा भीमदत्त, बेदकोट, बेल्डाडी, पुनर्वास र कृष्णपुरम एमाले विजयी भएको थियो। माओवादी केन्द्रले लालझाडी र बेलौरी, काँग्रेसले दोधराचाँदनी र शुक्लाफाँटा नगरपालिका जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.