|

इलाम : ओखलढुङ्गाका हंसराज वाग्लेलाई कसैले राजनीतिकर्मीको रूपमा चिन्छन् त कसैले वैदेशिक रोजगार व्यवसायी।

अहिले प्रदेश नम्बर १ को खेलकुद विकास समितिका सदस्य सचिव बनेपछि उनलाई नचिनेकाहरूले पनि चिन्ने मौका पाए। नेकपा (एकीकृत समाजवादी) ओखलढुङ्गाका अध्यक्ष समेत रहेका वाग्लेका बारेमा कमैले जानेको विषय उनी नेपालको अन्तरराष्ट्रिय भलिबल खेलाडी समेत हुन्। नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिनिधित्व गर्दै उनले लामो समय नेपाली टिमबाट खेले। खेलाडी पृष्ठभूमिको पाना पल्टाउँदै जाँदा वीरेन्द्र शिल्डबाट भलिबललाई माया गरेका वाग्ले जिल्ला, अञ्चल हुँदै २०४८ सालमा १९ वर्षको उमेरमा नेपालको भलिबल टोलीमा समेटिए।

भलिबल टिममा छनौट भएको १ वर्षपछि बंगलादेशमा भएको प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरे। टिनएजमा नै राष्ट्रिय टोलीबाट खेलेका कारण उनलाई नेपालका विभिन्न क्लबले अवसर समेत दिए। जावलाखेल लगायत केही क्लबबाट खेलेका उनलाई स्थायी रूपमा भने महेन्द्र पुलिस क्लब (हाल नेपाल पुलिस क्लब) ले अवसर दियो। ५ वर्ष पुलिस टिममा उपकप्तान रहँदा धेरैजसो प्रतियोगितामा उनको टिमले गोल्ड मेडल जित्न सफल रह्यो।

उनको खेलाडी करियर समेत रोचक छ। ४० र ५० को दशकताका नेपालमा भलिबलको क्रेज हुँदा वाग्लेले विभिन्न क्याम्पसबाट खेल्ने अवसर पाए। ‘खेलाडीका रूपमा सम्झँदा गौरव लाग्छ। भलिबल खेल्दा खेल्दै एडमिशन गरेको क्याम्पस १९ वटा पुगेछ’, वाग्लेले भने, ‘युवा जोश जुन क्याम्पसबाट अफर आयो एडमिशन गरेर खेलिन्थ्यो। नेपालको सिन्धुपाल्चोक, धादिङ, म्याग्दी, बाग्लुङ, पोखराका प्रायः क्लबबाट खेलियो। नेपालका धेरै ठाउँ भलिबलबाटै घुमेको छु।’

५ वर्ष पुलिसका खेलाडी भएपछि उनको मन प्रशिक्षणतिर मोडियो। उनी राष्ट्रिय खेलकुद परिषद्को स्थायी प्रशिक्षक समेत बने। खेलाडी कम कोच ज्यादा हुँदै उनको खेलकुद करियर दोस्रो इनिङमा प्रवेश भयो तर नेपाली खेलकुद क्षेत्रमा अभावका बीच उनी लामो समय प्रशिक्षक बन्न सकेनन्। प्रशिक्षणको करियर त्यागेर व्यवसायी बने। ‘धेरै पटक विदेशमा समेत खेलियो। विदेशमा विजय हासिल गर्न सकिएन। हामी खेलाडी राम्रा थियौँ‚ राम्रो सुविधा थिएन। त्यसपछि खेलकुद छाडेर व्यवसाय रोज्न पुगेँ।’ इटहरी रंगशालामा भेटिएका उनले सुनाए।

करिब डेढ दशक भलिबलमा विभिन्न भूमिका निर्वाह गर्दै नेतृत्वमा पुग्ने उनको चाहना थियो। २०६४ सालमा नेपाल भलिबल संघको नयाँ नेतृत्व चयनका लागि होमिए। उनको प्यानलबाट उठेका सबैले जित्दा रणबहादुर थापासँग २ मतले पराजित बन्न पुगे। त्यसपछि खेलकुदबाट वितृष्णा जागेर व्यवसाय थालेको उनले सुनाए।

‘मेरो प्यानलबाट उठेका सबैले जित्दा मैले मात्र हार्न पुगेँ। खेलकुदमा केही गर्ने लक्ष्य थियो त्यो वेला मैले हारेको थिएँ‚ मेरो टिम जितेको थियो। त्यसले अहिले भलिबल संघ चलाइरहेको छ। उहाँहरू नै माथिल्लो ठाउँमा पुगेर भलिबललाई राष्ट्रिय खेल बनाउनुभयो।’  नेपाली भलिबललाई २ दशकभन्दा लामो समय कप्तानी गरेका भरत शाह र वाग्ले नेपाल पुलिसमा एकै दिन प्रवेश गरेका थिए। अहिले शाह भलिबलको माध्यमबाट नेपाल पुलिसमा डिएसपी बनेका छन्।

सदस्य सचिव बनेपछिका योजना : खेलाडी बीमादेखि कर्पोरेट हाउसको इन्ट्री

खेलकुद छाडेर वैदेशिक रोजगार व्यवसायी बनेका वाग्लेको खेलकुद मोहलाई सम्मान गर्दै प्रदेश सरकारले अहिले सदस्य सचिव बनाएपछि उनी उत्साहित छन्। इटहरीमा भेटिएका उनले आफ्ना गौरवका योजना सुनाए। ‘चरम राजनीतिक भएको ठाउँ हो, काम गर्ने वातावरण कति हुन्छ तथापि प्रदेशको बोर्डमा मन्त्रीहरूलाई स्पष्ट भनिदिएको छु।

अरूको जस्तो सेवा चाकरी गर्नेभन्दा काम गर्नेछु पूर्ण सहयोग चाहिन्छ। मुख्यमन्त्री र खेलकुद मन्त्री खेलकुद बुझेको ऊर्जाशील भएकाले केही निर्णय गर्ने आश छ।’ उनी खेलकुद क्षेत्रलाई चलायमान बनाउन खेलाडी प्रोत्साहित गर्नुपर्ने बताउँछन्। ‘सबैभन्दा पहिलो खेलाडीलाई प्रोत्साहित गर्नुपर्छ। खेलाडीले कसरी जीविकोपार्जन गर्न सक्छ र खेलाडी बाँच्ने आधार के हो। पुरस्कार दिएर २ दिन राखेर खेलाडी अघि बढ्न सक्दैनन्। ग्रासरुटबाटै प्रोत्साहित गरेर अघि बढ्नुपर्छ भनेर लागेको छु।’

उनले खेलकुदमय प्रदेश १ बनाउने योजना साथ अघि बढेकाले सबैको सकारात्मक अपेक्षा राखेको बताए। वाग्लेले सरकारको मात्र मुख नताकेर निजी क्षेत्रलाई समेत खेलकुदमा आकर्षित गर्नुपर्ने बताउँछन्।

‘खेलाडीहरूलाई विशेष ब्रान्डसँग जोडेर लग्नुपर्छ। विदेशमा हेरौँ त खेलाडीहरू खेलेरभन्दा पनि विभिन्न ब्रान्डका एम्बेसडर बनेर धेरै कमाउँछन्। हाम्रो देशमा पनि निजी क्षेत्रलाई खेलकुदमा जोडेर लग्न सके खेलाडी व्यावसायिक बन्न सक्छन्।’ उनले तत्कालै नेपालको राष्ट्रिय एवम् अन्तरराष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूको योगदानलाई उच्च सम्मान गर्ने योजना रहेको सुनाए।

‘प्रदेश १ का खेलाडीहरूलाई ऊर्जाशील बनाएर खेलकुदमय १ नम्बर प्रदेश बनाउने लक्ष्य। मेरो योजनामा के बनाएको छु भने १ नम्बर प्रदेशका को को खेलाडी विदेशमा खेले, मेडल ल्याए। ती मान्छे को चाहि कहाँ जाँड खाएर बसेका छन्। उनीहरूलाई सकेसम्मको सम्मान दिने हो।’ वाग्लेले भने ‘उनीहरूलाई केही दिनभित्रै सम्मान गरिनेछ।

तत्काल राष्ट्रियलाई नसकिए पनि अन्तरराष्ट्रिय खेलमा सहभागी भएकाहरूलाई इटहरीमा बोलाएर आर्थिक सहित सम्मान गरेर तपाईंहरूको ऊर्जालाई मर्न दिँदैनौ सम्झिन्छौ भन्ने वातावरण बनाउने तयारी गर्दै छु।’

खेलाडीहरूको इन्जुरीका कारण पनि अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बताउँदै बीमा र स्वास्थ्य उपचारका लागि सहकार्यका कार्यक्रम अघि बढाइएको बताए। ‘खेलाडीको बीमा छैन। खेलुन्जेल खेल्यो त्यसपछि उसको शारीरिक अवस्था र आर्थिक अवस्था कमजोर हुन्छ। खेलुन्जेललाई मात्र खेलाडी हैन। व्यावसायिक करियरपछि पनि उनीहरूले खेलकुदकर्मी भन्ने वातावरण बन्नुपर्छ’, वाग्लेले भने ‘चोट लागेर लड्यो २/३ दिन क्लबले व्यहोर्छ त्यसपछि परिवारले व्यहोर्नुपर्छ। खेलाडीलाई बीमामा प्रदेशले केही सहयोग गरोस् निजी क्षेत्रलाई ल्याएर पनि बीमा गर्न तयार छौँ।’

उनले विराटनगरमा रहेको नोबल मेडिकल कलेज र विराट मेडिकल कलेजसँग खेलाडीको सहुलियत उपचारका लागि छलफल अघि बढाउने बताए। वाग्लेले खेलाडीहरूको स्तर अनुसार छुटका लागि पहल गर्ने बताए। ‘राष्ट्रियस्तरका लागि शतप्रतिशत गर्न नसकिए पनि केही प्रतिशत छुट गराउने प्रयास छ। त्यति मात्र हैन खेलाडीको परिवारलाई समेत उपचारमा छुटको प्रयास गर्नेछु।’

अन्तरराष्ट्रिय खेलमा पदक ल्याएकाहरूलाई निःशुल्क उपचारका लागि सरकारले नीति बनाउनुपर्ने उनको जोड छ। यातायातमा समेत खेलाडीहरूको छुटका लागि व्यवसायीहरूसँग तत्काल छलफल अघि बढाइने उनले बताए। खेलाडीहरूले रंगशाला प्रवेशमा उनीहरूको योगदानको मूल्यांकन हुन नसकेकाले प्रदेशबाट पहिचानका लागि परिचयपत्र कार्ड तत्काल उपलब्ध गराइने वाग्लेले बताए।

‘अन्तरराष्ट्रिय खेलमा सहभागी खेलाडी रंगशाला छिर्न पनि सामान्य दर्शकले जस्तो टिकट काट्नुपर्छ। उनीहरूले यत्रो वर्ष देशलाई दिएको योगदानको मूल्यांकन के भयो र?’, उनले प्रश्न गरे।

उनले प्रदेशभरका सबै रंगशालामा खेलाडीहरूका लागि सिट छुट्याएर परिचयपत्रका आधारमा प्रवेश सहज बनाइने बताए। ‘मेरो कार्यकालमा प्रत्येक रंगशालामा भिआइपी बस्ने नजिकै खेलाडीलाई सिट छुट्याउने व्यवस्था हुन्छ। त्यसपछि विशेष कार्ड दिएर रंगशालामा सम्मानका साथ भिआइपी छिर्नेबाट छिर्न पाउने तत्कालै लागू गर्दै छु।’

उनले नेताहरूले जस्तो अन्तरराष्ट्रिय खेलमा सहभागी खेलाडीहरूले भिआइपी कक्ष प्रयोगका बारेमा नागरिक उड्डयन प्राधिकरणसँग पहल गरेको बताए। ‘खेलाडीहरूले भिआइपीले जस्तो सुविधा पाउन सके उनीहरूको आत्मसम्मान बलियो हुन्थ्यो।’ उनले आफू कर्मचारी जस्तो जागिर खानका लागि नआएकाले खेलकुद र खेलाडीको निम्ति अन्य गौरवका योजना ल्याउने बताए।

‘कर्मचारीको जागिर जस्तो सेवा सुविधा पाउन सदस्य सचिव चाहिएको हैन। खेलकुदको प्रदेशमा १‚२ महिनाभित्र कायापलट हुने निर्णय गर्नेछु। काम नगर्ने कर्मचारी र प्रशिक्षकलाई बर्खास्त गरेर वर्षौंदेखि करारमा नरहेका ऊर्जा भएकालाई नियुक्ति गराएर पारिवारिक वातावरणदेखि नै खेलकुदमा इच्छा बनाउने योजनाका साथ यहाँ छु।’

उनले खेलाडी पलायनबारे आफू चिन्तित रहेको सुनाए। खेलाडी पलायन रोक्नका लागि खेलकुदबाट बाँच्ने वातावरण बनाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘खेलाडी पलायनका क्रममा मेरो ब्याचको १२ जनामा १० जना बाहिर छन्। एकजना बित्नुभयो एकजना म यहाँ छु। कोही मकाउ। कोही सेक्युरेटी गार्डमा छन्।’

पलायन रोक्न राष्ट्रिय एवम अन्तरराष्ट्रिय खेलमा सहभागी खेलाडीहरूको जिम्मा सरकारले लिनुपर्ने बताउँछन्। ‘विदेशी टिम सामाजिक सुरक्षा भन्छ‚ खेलाडीको परिवारलाई निःशुल्क उपचार हुनुपर्‍यो। छोराछोरीको शिक्षाको जिम्मा लिनुपर्‍यो। जसले गर्दा उसले परिवारको बोझका कारण खेलकुद छाड्नुपर्दैन।’

खेलाडीहरू मानसिक रूपमा अब्बल भए मात्र शारीरिक रूपमा जित्न सक्ने बताउँदै वाग्लेले कर्पोरेट हाउसहरूले खेलाडीहरूलाई निश्चित पारिश्रमिक दिएर ब्रान्ड एम्बेसडर बनाउनुपर्ने बताउँछन्। ‘सरकारबाट मात्रै सबै सम्भव नहोला। यति धेरै बैंकहरू छन्, हाइड्रोपावरहरू छन् व्यावसायिक घरानाहरू छन् उनीहरूले खेलकुद र खेलाडीका लागि ५÷७ करोड हालिदिए हुन्छ नि’  निजी क्षेत्रले खेलकुद र खेलाडी जिम्मा लिने वातावरण नबनेसम्म नेपालबाट खेलाडी पलायन हुने क्रम नरोकिने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.