|

काठमाडौं : स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रबार देशभर हुँदैछ। जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोग, नेपालले जनाएको छ।

काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन्। सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसककेको आयोगले जनाएको छ।

काठमाडौंको चाबाहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भएको बताए। उनले नयाँ मतदाताहरुलाई नमुना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचनसम्बन्धी अन्य जानकारी पनि दिइएको बताए।

मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको काम आज दिउँसो ३ बजेसम्म चल्नेछ। त्यसपछिको समयमा भोलि हुने स्थानीय तहको निर्वाचनका लागि बाँकी तयारी सक्ने र मतदातालाई सुरक्षित, भयरहीत र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाले बताए।

मतदान अधिकृत धमलाले भने, ‘हामीले दुई दिन परिचयपत्र वितरण गर्ने कार्यक्रम राखेका छौँ, यो मतदान केन्द्रमा दुईवटा रहेका मतदान क र खदुई मतदान केन्द्र रहेका छन्। सम्पूर्ण कर्मचारीहरु बिहानैदेखि काममा खटिसक्नुभएको छ। साथै हामीले मतदाता शिक्षा कार्यक्रम पनि गरेका छौँ। जसमा मतदान केन्द्रमा एउटा कक्ष नै बनाएर मतदाता शिक्षा दिइरहेका छौँ। हामीले मतदाता शिक्षामा विशेष गरेर कसरी मतदान गर्दा मत बदर हुँदैन भन्ने कुरा डेमो राखेर सिकाएका छौँ।

मतदान केन्द्रमा आउने मतदान प्रतिनिधिहरुसँग बेलुका बसेर छलफल गर्नेछौँ। मतदान कार्यलाई सुव्यवस्थित ढंगले सम्पन्न गर्न जनप्रतिनिधिहरु, कर्मचारीहरुका बीचमा हामीले साझा धारणा बनाएर कर्मचारीलाई खटाएका छौँ। हामीले मतदाताहरुले सरल ढंगले मतदान गर्न सक्नुहुनेछ। निर्वाचन आयोगबाट एउटा मतदान केन्द्रका लागि ५ जना कर्मचारी खटाएको छ। अन्य तीन जना स्वयंसेवक नियुक्ति गर्नसक्ने अधिकार मतदान अधिकृतलाई दिइएको छ।’

मतदान अधिकृत धमलाले मतदाताहरुलाई सरल तरिकाले बदर नहुने गरी भोट हाल्न सिकाइएको बताए। उनले निर्वाचन आायेगले एउटा मतदान केन्द्रका लागि उपलब्ध गराएका ५ कर्मचारी र अन्य तीन जना स्वयंसेवक सहितको टिमले अहिले चुनावका लागि बाँकी तयारीका कामहरु गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.