|

काठमाडौं :  पटक-पटक निर्वाचन आचारसंहिता मिचेर आचारसंहिताका धज्जी उडाएका राजनीतिक दलका नेता र उम्मेदवारले मौन अवधिमा पनि मौनता साध्न सकेनन्। भोलि शुक्रबार हुने मतदानका लागि २७ गते मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ।

यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने व्यवस्था छ।

यसैगरी, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ।

यो अवधि मतदानको समयभन्दा ४८ घण्टा अगाडि अर्थात्  वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि सुरु भएको छ। तर, देशका विभिन्न जिल्लामा भने राजनीतिक दलका नेता उम्मेदवार र कार्यकर्ताहरूले खुलेआम चुनावी प्रचार गरिरहेका छन्।

चुनावी प्रचारकै क्रममा धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन्। झडपमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठको श्रेष्ठको टाउको, आँखालगायत शरीरका विभिन्न ठाउँमा चोट  लाग्दा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गएराति चुनावी प्रचारप्रसार गरिरहेको अवस्थामा कांग्रेस र माओवादी कार्यकर्ताबीच जम्काभेट हुँदा एकअर्कामा जाई लागेका हुन्। मौन अवधि सुरु हुनु केहि घण्टा अघि पनि धादिङमै सत्तारुढ दलका उम्मेदवार र प्रमुख विपक्षी उम्मेदवारहरूबीच झडप हुँदा खुकुरी प्रहारबाट ४ जना घाइते भएका थिए।

गएराती नै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ३ स्थित पाल्चोक गाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका दुई जना गम्भीर घाइते भएका छन्।

स्थानीय एमाले नेता छेन्ज्यो तामाङको घरमा ढुंगामुढा गरेको भन्दै सुरु भएको भनाभन ठूलो झडपमा परिणत भयो।  झडपमा धारिलो हतियार खुकुरी ढुंगामुढा एकआपसमा प्रहार हुन थालेपछि स्थानीय नै भागाभागको अवस्थामा पुगेको स्थानीयले बताएका छन्। सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार झडपमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको धेरै स्थानमा सामान्य विवाददेखि धकेलाधकेल सम्मको घटना भएका छन्।

पाँचथरको हिलिहा गाउँपालिकामा पनि मौन अवधि तोड्दै गएराती चुनावी प्रचार गरिरहेका  सत्तारुढ गठबन्धन र नेकपा एमाले तथा राप्रपाको गठबन्धनबीच झडप भएको डिएसपी राकेश थापाले बताए। दुइ गठबन्धनबीचको झडप बिहीबार बिहान ३ बजेमात्र नियन्त्रणमा आएको हो।

रुकुम पश्चिम चौरजहारी नगरपालिका १० मा कांग्रेस कार्यकताबाट कुटिएका माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार सहित ४ जना घाइते भएका छन्।

बुधबार साँझ बुटवल मिलन चोकस्थित आकाशे पुल नजिक कुकर बम नै विस्फोट भएपछि प्रहरीले थप सतर्कता अपनाएको छ। गोरखाको गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी नै बोकेर पुग्ने कांग्रेस कार्यकर्ता मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको एसपी केदार खनालले जानकारी दिए।

उल्लेख भएका घटना त केही प्रतिनिधि घटनामात्र हुन्। मतदानको दिन नजिक नजिक हुँदा यस्ता गतिविधि भइरहेका छन्।

निर्वाचनको माहोलमा कुनै एक राजनीतिक दलमा आस्था राख्नेले अर्को दलमा आस्था राख्ने व्यक्ति समूह देख्नेबित्तिकै जाइ लाग्ने प्रवृत्ति बढ्दै गएको भन्न मौन अवधि तोडेर मध्यरातमा भएका यी झडपहरू नै काफी छन्।

फरक विचार, फरक धारणा फरक राजनीतिक दलमा आस्था राख्दै गर्दा हातहतियारको प्रयोगमै उत्रिएका यी स्थानीय नेता कार्यकर्ता निर्वाचनपछि एकै वडा वा समुदायमा भाइचाराको सम्बन्ध बनाउन सक्लान् त?  दलका नेतृत्वमा रहेकाहरूले आफु र आफ्ना कार्यकर्तालाई नैतिकताको राजनीति गर्न बाटोमा लान आवश्यक छ।

पैसाको चलखेलमा उम्मेदवार

इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बनेका उदय राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। उनले आर्थिक चलखेल गर्न लागको भन्दै गएराति वडा- ५ को जमुनामा स्थानीयले विरोध गरेपछि राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको हो।

मौन अवधिमा दुवैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले विरोध गरेपछि उनीहरूको सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटा बताए।

यस्तै, घटना मौन अवधि शुरु भएकै दिन सिराहामा पनि भयो। मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका २ गुरुधाममा नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रेम कुमार लाहेलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए। उनको साथबाट नौ हजार रुपैंया नगद फेला परेको जिल्ला प्रहरी कार्र्यालय सिराहाले जनाएको छ।

बागलुङमा पनि मतदातालाई पैसा बाँड्न हिँडेको आरोपमा गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। उनीविरुद्ध गएराति करिब १० बजे वडा नम्बर ९ विरकोटमा उम्मेदवारले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै प्रहरीमा सूचना पुगेको थियो।

उम्मेदवारको टोली नभेटिए पनि त्यसभन्दा केही तल गाडीसहित भेटिएपछि चालिसेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले जानकारी दिए। उनका अनुसार चालिसेको साथबाट पैसा फेला नपरेपछि सामान्य छलफल गरी छाडिएको हो।

मौन अवधिमा भोट माग्नेलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई मौन अवधिमा सामाजिक सञ्जालमा भोट मागेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ। गुरुङले बुधबार बिहान विहान ८ बजेर १० मिनेटमा आफ्नो फेसबुक एकाउन्टबाट भिडियो पोष्ट गर्दै भोट अपिल गरेको विषयमा स्पष्टीकरण मागेको हो।

‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’ आयोगले प्रश्न गरेको छ।

यस्तै, मौन अवधिमै सामाजिक सञ्जालबाट आफ्नी दिदी रेनु दाहाललाई भोट मागेको भन्दै आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहाललाई पनि स्पष्टीकरण सोधेको छ। दाहाल माओवादी केन्द्रकी बागमती प्रदेश सदस्य रहेकी छन्।

मौन अवधिमा मतदातालाई पैसा बाँडेको उजुरी परेको भन्दै वीरगञ्ज महानगरमा एमालेको मेयर उम्मेदवार विजयकुमार सरावगी र चुनाव चिह्न अंकित टिसर्ट लगाएर प्रचार गरेको भन्दै माओवादी केन्द्रका तर्फबाट कलैया उपमहानगरपालिका-२३ का वडाअध्यक्षका उम्मेदवार विक्रम साहलाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.