|
फाइल तस्वीर

हेटौंडा : स्थानीय तहको निर्वाचनको अघिल्लो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा भागदौड गरेका छन्।

निर्वाचनको मौन अवधि शुरु भइसकेको अवस्थामा प्रचण्डले निर्वाचनको अघिल्लो दिन चुनावलक्षित भागदौड गरेका हुन्। बुधबारबाट नै गृहजिल्ला चितवन झरेका उनले निर्वाचनको अन्तिम समयमा पनि मत परिणाम आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्। बुधबार चितवन पुग्नेबितिक्कै स्थानीय एक होटलमा भेला राख्दै गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका उनले राति अबेरसम्म भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार छोरी रेनु दाहालको निवासमा बसेर कार्यकर्ता भेटेका थिए।

निर्वाचनको ४८ घण्टाअगाडि अर्थात मंगलबार रातिबाट नै देशैभरि मौन अवधि शुरु भइसकेको अवस्थामा उनले आचारसंहिता उलंघन गर्दै मतदातालाई समेत भेटेर भोट मागेका छन्। उनले बिहीबार पश्चिम चितवन र माडीका विभिन्न ठाउँमा पुगेर मतदाता भेटेका हुन्। बिहिबार बिहानै माडी पुगेका प्रचण्डले त्यहाँको एक होटलमा गठबन्धनका नेता, उम्मेदवार र मतदातालाई समेत भेटेको स्रोतले बताएको छ।

गठबन्धनबाट माओवादीले नै मेयर पाएको माडीमा पनि प्रचण्डले चहलपहल गरेका हुन्। माडीमा माओवादी नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष प्रचण्ड समूहबीच द्वन्द्व रहेको समेत बुझिएको छ। माडीमा बिहिबार बिहानभरि बिताएका प्रचण्ड दिउँसो पश्चिम चितवनका विभिन्न गाउँमा समेत पुग्न भ्याए।

मौन अवधिमा चितवन पुगेर प्रचण्डले निर्वाचन प्रभावित पार्ने गरि गतिविधि गरेको भन्दै भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मौखिक उजुरीहरू समेत परेको स्रोतको दाबी छ। उनीविरुद्ध हालसम्म लिखित उजुरी नपरे पनि कार्यालयमा फोनबाट धेरैले मौखिक उजुरी दिएको बुझिएको छ।

यता, प्रचण्डलगायत अन्य बहालवाला मन्त्रीहरूले आचारसंहिता उलंघन गरेको भन्दै नेकपा एमाले चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। एमालेले निर्वाचनलाई प्रभावित पार्न प्रचण्डसँगै बहालवाला मन्त्रीहरूले समेत आर्थिक चलखेल गरेको सूचना आएको भन्दै आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न माग समेत गरेको छ।

एमाले चितवनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आम मतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न एमाले चितवन जोडदार माग गर्दछ।’

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा राज्य पक्षबाट भएको यस्ता कार्यले निर्वाचन निष्पक्ष हुनेमा शंका उत्पन्न भएको समेत जनाइएको छ। त्यसैगरि एमालेले आचारसंहिता गम्भिर उलंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्नसमेत माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.