|

स्पेनिस ला लिगाको उपाधि जितिसकेको रियल म्याड्रिडले आफ्नो रवाफिलो प्रदर्शन जारी राखेको छ। बिहीबार राति भएको खेलमा रियलले लेभान्टेमाथि ६–० को प्रभावशाली जित निकाल्दा ब्राजिली विंगर भिनिसियस जुनियरको ह्याट्रिक पूरा गरे। पराजित लेभान्टे भने रेलिगेसनमा परेको छ। 

रियलको जितमा फर्लान्ड मेन्डी,  कप्तान करिम बेन्जेमा र रोड्रिगोले समान १–१ गोल गरेका थिए। सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले खेलको १३औं मिनेटमा फर्लान्ड मेन्डीको गोलबाट अग्रता लिएको थियो। १९औँ मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे।

३४औं मिनेटमा रोड्रिगोले लुका मोड्रिचकै पासमा गोल गरेपछि रियल खेलमा ३–० को सहज अवस्थामा पुगेको थियो। ४५औँ मिनेटमा भिनिसियल जुनियरले मोड्रिचकै पासमा गोल गरेपछि रियल पहिलो हाफमानै ४–० ले अघि रह्यो।

६८औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरेपछि रियल खेलमा फराकिलो जिततर्फ अग्रसर भएको थियो। ८३औँ मिनेटमा भिनिसियसले ह्याट्रिक पूरा गर्दै रियललाई शानदार जित दिलाए।

जितसँगै च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ३६ खेलबाट ८४ अंक बनाएको छ। पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा रहँदै रेलिगेसनमा परेको छ। अब बाँकी दुई खेलमा सफलता हात पारेपनि लेभान्टे रेलिगेसनबाट बच्ने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.