|

हेटौंडा : देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ।

पाँच वर्षपछि भएको निर्वाचनमा मतदाताहरू उत्साहित देखिएका छन्। आफ्ना जनप्रतिनिधि आफै चुन्न बिहानैदेखि विभिन्न स्थानको मतदान केन्द्रमा पुगेका मतदाताहरू उत्साहित देखिएका हुन्। उत्साहित भएर मतदाताहरू मतदान गर्न जाँदा उम्मेदवारहरू भने सेलाएको देखिएको छ।

हेटौंडाका विभिन्न मतदानस्थलमा भइरहेको मतदानमा उम्मेदवारहरू नआएको मतदाताको गुनासो छ। ‘हिजो अस्तिसम्म भोट माग्दै आउने उम्मेदवारहरू आज भोट हाल्ने दिनमा कता जानु भयो  कुन्नि ? कतै देखिएन’, सरस्वती आचार्यले भनिन्।

उनले आफूहरू हौसिएर मतदान गर्न पुग्दा निर्वाचनको दिन नै उम्मेदवारहरूलाई नभेटिएको भन्दै निर्वाचनपछि भेटिनेमा आशंका समेत व्यक्त गरिन्।

मत हाल्न पुगेका अर्का मतदाता ऋषभ दंगालको पनि उस्तै गुनासो छ। उनले पनि अघिल्लो पटक मतदान गरिसकेपछि जितेकालाई भेट्न मुस्किल परेको भन्दै फेरि सोही कुरा दोहोरिने चिन्ता व्यक्त गरे।

‘हामी उहाँहरूलाई भोट हाल्न भनेर घण्टौँ हिँडेर आयौँ। उहाँहरू कोही भेटिनुभएन। चुनावका दिन त नभेटेको अरू दिन के भेटिएला ?’, उनले प्रश्न गरे। 

मकवानपुरमा रहेका १० वटै स्थानीय तहमा बिहान ७ बजेदेखि नै मतदान भइरहेको छ। जिल्लामा रहेका १६५ वटै मतदान स्थलबाट शान्त र सुरक्षित वातावरणमा मतदान भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए।

उनले हालसम्म जिल्लाको कुल मतदाताको करिब ३० प्रतिशत मत खसिसकेको समेत बताएका छन्। जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.