|

काठमाडौं : आजको मतदान देशभर शान्तिपूर्ण रुपमा चलिरहे पनि केही स्थानमा झडप भएको छ। केही स्थानमा प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको छ। हालसम्म प्राप्त सूचनाका अनुसार ७ जिल्लामा गोली चलेको छ।

मतदानका क्रममा दलका कार्यकर्ताहरूबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेको हो। थाहा संवाददाताहरुले दिएको सूचनाका आधारमा महोत्तरी, सर्लाही, गोरखा, बाजुरा, हुम्ला, धनुषा र सुनसरीमा गोली चलेको हो।

महोत्तरीको बलवा नगरपालिका-५ स्थित मनशिखा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको महोत्तरीका सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिए।

गोरखाको गण्डकी गाउँपालिका-७ स्थित ज्ञानभूमि माविको मतदान स्थलमा पनि माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएपछि हवाई फायर गरिएको हो।

बाजुराको बुढीगंगा नगरपालिका-९ मा २ राउण्ड हवाई फायर गरिएको छ। सोही नगरपालिका वडा नम्बर १० सिगडाको मतदान केन्द्रमा पनि एक राउण्ड हवाई फायर गरिएको बाजुराका सूचना अधिकारी गिन्द्र बोगटीले जानकारी दिए। यी बाहेक बुढीगंगा-५ मा पनि दलका कार्यकर्ताहरूबीच झडप भएको छ।

यस्तै, बाजुराकै बुढीनन्दाको अगाउपानीस्थित हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर गरिएको छ। तीनवटै मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि तनाव भएको थियो।

बुढीगंगा नगरपालिका–५ स्थित भानोदय मावि भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका छन्।

सर्लाहीको धनकौल गाउँपालिकामा पनि राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि सुरक्षाकर्मीले एक दर्जन हवाई फायर गरेका छन्। धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।

यसैगरी हुम्लाको चंखेली गाउँपालिका-२ को महादेव मावि मतदान स्थलमा सत्ता गठबन्धन दल पक्ष र अध्यक्षका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षबीच भएको सामान्य विवादले उग्र रुप लिएको थियो। यसै क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको प्रजिअ सीता परियारले जानकारी दिइन्। झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्यसहित ३ जना घाइते भएका छन्।

धनुषाको शहीदनगर नगरपालिका-१ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ। दृष्टिविहीन एक व्यक्तिको मत त्यहाँका मतदान अधिकृतले खसालेको विषयमा विवादपछि झडप भएपछि प्रहरीले रबरको गोलीले हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए। हवाई फायरपछि केहीबेर मतदान स्थगित भएको मतदान पुन शुरु भइसकेको छ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदान स्थलमा भने सुरक्षामा खटिएका प्रहरी जवानले बोकेको राइफल अचानक पड्किएको हो। राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो। मतदान स्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको राइफल पड्किए पनि घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

अछामको साँफेबगर नगरपालिका-१३ स्थित बाब्लामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरूबीच झडप भएको छ। मतदान जारी रहेकै वेला दुई पक्षबीच झडप भएपछि मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक जनक शाही बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.