|

काठमाडौं :  शुक्रबार देशभरका ७ सय ५२ पालिकामा भएको मतदानका क्रममा अधिकांश ठाउँमा शान्तिपुर्ण मतदान भएपनि केही जिल्लामा भने मतदान गर्न गएका कार्यकर्ताले मतपेटिका जलाउने र मतपेटिका नै बोकेर खेतखेतै भाग्ने चर्तिकला देखाएका छन्। 

कतै मतपेटिका लात्ती प्रहार भएको छ भने कतै लाइन मिलाउन गाडेका बाँसका लौरी उखेलेर आक्रमण भएको छ। देशभरका ४७ स्थानमा झडप तथा हुलहुज्जत हुँदा बल प्रयोग गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीले जानकारी दिए। 

उनका अनुसार त्यस्ता गतिविधिमा संलग्न भएका १६ जनालाई नियन्त्रणमा लिइएको छ। 

महोत्तरी, सर्लाही, गोरखा, बाजुरा, हुम्ला, धनुषा, सुनसरी, उदयरपुर, अछाम, डडेल्धुरा, काभ्रेपलाञ्चोक र रौतहटका केही मतदान स्थलमा स्थिति तनावपूर्ण बनेको थियो। त्यस्ता स्थानमा शान्ति सुरक्षा कायम राख्न अश्रु ग्याँस प्रहार र हवाई फायर गरिएको प्रहरीले जनाएको छ। 

तराईका जिल्लाहरूमा अझै मतदान जारी रहेको भन्दै केही स्थानमा बाहेक शान्तिपुर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रवक्ता केसीको दाबी छ। 

स्थानीय तह चुनावको मतदानमा बुथ कब्जा गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर उदयपुरको कटारी नगरपालिका १० सोरुङ छविसेमा एक जनाको मृत्यु भएको छ।

मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रहरी प्रवक्ता केसीले बताए। 

‘त्यहाँ मतदान सकिएपछि मतपेटिका सिलिङ गरेर मतगणना स्थलमा लाने तयारी हुँदा हुँदै केही व्यक्तिहरू प्रहरी माथि नै जाइलागेपछि केही राउण्ड हवाई फायर भएको छ’, उनले थाहाखबरसँग भने, ‘त्यस्ता व्यक्तिहरू पनि घाइते भएको अपुष्ट खबर आएको छ। हामी बुझ्दै छौं।’

उनका अनुसार उदयपुरमै एक मतपेटिका तोडफोड र एक मतपेटिकामा आगजनी पनि भएको छ।

रौतहटको यमुनामाइ गाउँपालिका २ भिडियाही टोलमा भने स्थानीयहरूले मतपेटिका नै लिएर खेतैखेत भागेका छन्। भोट खसाल्न पुगेका स्थानीयले मतपेटिका नै टाउकोमा बोकेर खेतैखेत भागेपछि सुरक्षा निकायलाई ठूलो चुनौती थपिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.