|

धादिङ : धादिङको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो। धादिङमा करिब ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।

धादिङमा २ हजार २ सय ७५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ३ जना वडा सदस्यका उम्मेदवारहरू निर्विरोध भइसकेका छन्। सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन्। मतगणना भने भोलिदेखि हुनेछ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराएकोले ढिलासम्म मतदान भएको थियो। मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल लगत्तै मतगणना कार्य सुरु हुने जिल्ला निर्वाचन कार्यलय प्रमुख श्रेष्ठले जानकारी दिए।

जिल्लाका २ नगरपालिका र ११ गाउँपालिकाका १ सय ९ मतदान स्थलमा रहेका ३ सय ३ वटा मतदान केन्द्रबाट मतदान गरिएको थियो। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केहि स्थानमा बाहेक समग्रमा शान्तिपूर्ण र उत्साह पूर्वक मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.