जनमुक्ति सेनाको कमाण्डरदेखि महानगरपालिका प्रमुखको उम्मेदवारसम्म

|

काठमाडौँ: ललितपुर महानगर प्रमुखमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका दिनेश महर्जन 'दीपेश'को राजनीतिक यात्रा बुलेटदेखि ब्यालेटसम्म पुगेको छ। बैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ललितपुर महानगर प्रमुखमा प्रतिष्पर्धा गर्न लागेका १६ जना उम्मेदवारमध्येका एक जना दिनेश त्यस्ता व्यक्ति हुन्, जो १० वर्षे युद्धकालमा बुलेटमा खेलिरहेका थिए भने शान्ति प्रक्रियामा आएपछि व्यालेटमा प्रतिष्पर्धा गरिरहेका छन्।

०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो चुनावमा समानुपातिक उम्मेदवार बनेका उनी ०७० मा सम्पन्न संविधासभाकै दोस्रो चुनावमा ललितपुर क्षेत्र नं. ३ का उम्मेदवार थिए। नेपाली कांग्रेसका नवीनराज जोशीसँग नमीठो पराजय भोगेका उनी ०७४ बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको प्रमुखका उम्मेदवार बनेका छन्।

उसो त आफ्ना सबै निर्णय व्यक्तिगत नभएर जनताको लागि हुन् भन्ने महर्जनले अहिले महानगर प्रमुखको उम्मेदवार बन्नुमा आफ्नो व्यक्तिगतभन्दा धेरै पार्टीको चासो रहेको दावी गरे। सोमबार ललितपुरको लगनखेल नजिकै जनताको घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले सुनाए- 'ऊ बेला ज्यानलाई हत्केलामा राखेर गणतन्त्र स्थापनाको लागि लडेको हुँ। अहिले महानगरवासीका लागि छ महिनामै परिणाम आउने गरी काम गर्नेछु।' 

गोली लागेर पनि बाँचेको त्यो क्षण

देशमा संकटकाल लागेको थियो। माओवादी विचार राख्ने मात्र होइन, माअोवादीलाई सामान्य सहयोग गर्ने सबैमाथि तत्कालीन राज्यले चरम दमनको नीति अख्तियार गरेको थियो। ललितपुरमा रहेको आफ्नो डेरामा बसिरहेको समयमा एक दिन सुरक्षाकर्मीले उनको घर घेरा हाले। गोली लागेर पनि बाँचेको त्यो घटना सम्झिँदै उनले सुनाए- ‘त्यतिबेला मैले भर्खर भर्खर सैन्य तालिम लिएको थिएँ। नयाँ जोश थियो। मलाई मार्न आएका दुई सुरक्षाकर्मीलाई पछारेर भागेको हुँ।’ भाग्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली उनको गर्धनमा लाग्यो। गोली लागेका उनी दौडिएरै तत्कालीन सरकारी सुरक्षाकर्मीको घेरा तोड्न सफल भए। 

टाउकाको मूल्य तोकिएको समय 

त्यतिबेला राजनीतिक आस्थाकै आधारमा समात्ने र मार्नेसम्म गर्थ्यो तात्कालीन सरकारले। टाउकोको मूल्य तोकिएको अवस्था थियो। कुनै बेला माओवादी हुँदाको मूल्य सिंगो जीवन गुमाउनुपर्ने भएको सुनाउँदै दिनेशले भने, 'आज देश माओवादीकै एजेण्डामा चलिरहेको छ। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता एजेण्डा माओवादीले नै अगाडि सारेको हो।' गाउँगाउँमा सिंहदरबारको लागि आज व्यालेटमा प्रतिषपर्ध गरिरहेको उनी बताउँछन्।

युद्धकालमा पटक पटक मृत्युसँग जम्काभेट भएका क्षणहरू उनको यादमा छन्। उपत्यकामा सैनिक ज्यादति बढ्दै गएपछि उपत्यकाबाहिर पुगेर राजनीतिमा जोडिएका उनले मकवानपुर, गोरखा, भक्तपुर, धादिङ, काठमाडौँ, ललितपुर, लमजुङ, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा काम गरेका थिए। 

'यसरी उम्मेदवार बनौँला भन्ने कहिल्यै लागेको थिएन', उनले सुनाए, 'गरिव दु:खीको अधिकारको लागि मरे शहीद, बाँचे सिंगो संसार जित्ने लक्ष्यका साथ युद्धमा होमिएको थिएँ।' आफूहरूले ज्यानको बाजी थापेर नै गणतन्त्र ल्याउन सकेको उनले सगर्व सुनाए। युद्धका चरम संकटकालीन दिनहरूमा उनी भ्याली अर्थात् उपत्यकामा सैनिक विट सम्हाल्थे। त्यति बेला उनी माओवादी जनसेनाको एउटा रूप स्पेशल टास्क फोर्सको उपत्यकाका सहकमाण्डर थिए। तत्कालीन सरकारले माओवादीमाथिको दमन बढाउँदै लगेपछि उनी भ्यालीको सैन्य जिम्मेवारी छोडेर संगठनको जिम्मा सम्हाल्दै गाउँ पसेका थिए। 

उनी गोरखाको भच्छेक चौकी रेडमा प्रत्यक्ष सहभागी भएका थिए। भच्छेकमा कुनै मानवीय क्षतिविना नै १० मिनेटमा माओवादीले रेड सफल पारेको थियो। रातारात चौकी रेड गरेर हतियार कब्जा गरिसकेर सेल्टरमा फर्किंदै गर्दा उनको टिम प्रहरीको घेरामा परेको थियो। त्यो भिडन्तमा उनले आफ्नो टिम परिचालन गरेर सुरक्षित तरिकाले घेरा तोडेका थिए। 

चुनावी परिणामको आँकलन

कहिलेकाहीँ चुनावको तयारी हुँदै गर्दा मानिसले एउटा ढंगले आँकलन गरिरहेका भए पनि परिणाम अर्कै आइरहेको बताउने दिनेशले परिणामको कुरा गर्दा ०५६ सालको चुनावमा नेपाली कांग्रेसले जीत हात पारेपछि अर्को पटक पनि कांग्रेसले नै जित्छ भन्नेहरूले ०६४ सालमा आएर हावा खाएको बताए। अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेबीचमा कडा प्रतिष्पर्धा हुने बताउँदै उनले अहिलेको चुनावमा आफूले नै जित्ने दावी गरे।

यस्ता छन् उनका प्रतिवद्धता

कडा रूपमा चुनावी प्रतिष्पर्धा हुने र त्यसबाट आफू विजय भएपछि केके काम गरिनेछ भनेर माओवादी केन्द्रले प्रतिवद्धतापत्रमा उल्लेख गरिसकेको दिनेशले बताए। त्यसबाहेक उनका योजना यस्ता छन्। 

  • खानेपानीको व्यवस्थापनको लागि पहिलो कदम चाल्ने। 
  • अव्यवस्थित ढल र त्यसबाट निस्किने दुर्गन्धलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने।
  • भद्रगोल बिजुलीका तारहरूलाई व्यवस्थापन गरी ललितपुर महानगरपालिकालाई ताररहित शहर बनाउने।
  • बाटोघाटो मर्मत र बिस्तार गर्ने, सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पहिलो छ महिनाभित्रैमा सडक व्यवस्थापन गर्ने।
  • ललितपुरका बुङमती, खोकना, पाटन दरबार क्षेत्रलगायतलाई पर्यटन सिटी बनाउने। पर्यटनबाटै त्यहाँका जनताको आय आर्जनमा वृद्धि हुने गरी होम स्टेको योजना अगाडि बढाउने।
  • धादिङमा एक जना किसानले पाँच रुपैयाँमा बेचेको टमटर उपत्यका बसेकाले पनि त्यही अनुपातको मूल्यमा पाउने।
  • किसानको लागि ललितपुरमा जग्गाको वर्गीकरण गरिने, प्लटिङलाई कडाइपूर्वक बन्द गरिने, तीनदेखि चार ठाउँमा कृषि फार्म खोलिने, ताजा सागसब्जी सस्तो पैसामा खाने व्यवस्था गर्ने।
  • एक दिनमा हुने जनताको प्रशासनिक काम महिना दिन लगाएर गरिदिने परम्पराको अन्त्य गरिने, एक दिनमार हुने कामलाई एक घण्टामै गर्न सक्ने गरी महानगरलाई विकास गरिने, फोहोर व्यवस्थापनमा जोड गर्ने। 
  • माथिल्लो भागको निकै विकट भूगोलको विकास गरिने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.