|

धादिङ : धादिङको गजुरी गाउँपालिका ८ को बरभञ्ज्याङ मतदान स्थलमा पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले अस्वीकार गरेको छ। पुन: मतदान अस्वीकृत गर्दै फुटेकै मत गन्न आयोगले निर्देशन दिएको छ। 

शुक्रबार मतदानका क्रममा मतदाताहरूले गरेको हुलदङ्गाका कारण मतपेटिका फुटेको थियो। फुटेका मतपेटिका टेप टाँसेर पालिकामा लगिएको थियो। सो मतदान स्थलमा पुनः मतदान गर्न पालिका स्तरीय सर्वदलीय संयन्त्रले निर्णय गरि निर्वाचन आयोगमा पठाए पनि आयोगले फुटेकै मत पेटिकाको मत गणना गर्न निर्देशन दिएको हो। 

गजुरी स्थित निर्वाचन अधिकृत चक्रपाणी शर्माले आयोगले गरेको निर्णय अनुसार नै आफूले काम गर्ने स्पष्ट पारे। उनले यसअघि पालिका तहमा बसेको सर्वदलीय बैठकको पुन मतदान गर्नुपर्ने माग निर्वाचन आयोगमा पठाएका थिए। यद्यपी आयोगले पुनः मतदान गर्न अस्वीकार गरेको छ। 

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा समाजवादीले समेत मतदान दोहोर्‍याउन गरेको माग बेवास्ता गरिएको एमाले उम्मेदवार योगेन्द्र बस्नेतले बताए। 
शुक्रबार मतदानकै क्रममा विवाद भएपछि बरभञ्ज्याङ मतदान केन्द्रमा दिउँसो ४ बजेदेखि मतदान रोकिएको थियो। 

मतदानका लागि एक सय ५० भन्दा बढी मतदाता लाइनमा भएपनि विवाद मिलाउन हवाई फायर भएपछि मतदाताहरू भागा भाग भएका थिए। त्यसपछि मतदान गर्न नदिइएको मतदाताहरूले बताएका छन्। 

मतदान अधिकृत र केही राजनीतिक दलको मिलेमतोमा लाइनमा उभिसकेका मतदातालाई मतदानबाट बञ्चित गरिएको मतदान स्थलमा रहेका स्थानीय राजेन्द्र बस्नेतको आरोप छ।  तीन वटा मतदान केन्द्र रहेको यस स्थानमा २ हजार ४ सय ७७ मतदाता छन्। शुक्रबार एक हजार ६ सय ८८ जनाले मतदान गरेको मुचुल्का उठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.