|

पाल्पा : पाल्पाको रम्भा गाउँपालिकामा मतगणना स्थगित भएको छ। पाँचदलीय सत्ता गठबन्धन दलहरुले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन्।

गठबन्धन दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै मत गणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन्। 

मतगणना ट्याली गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्यांकमा एकरूपता नभएपछि मतगणना स्थगित भएको रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए।

निर्वाचन अधिकृत भण्डारीले दलहरुबीच सहमति नभएसम्मका लागि मतगणना स्थगित गरेको बताए।

रम्भा गाउँपालिकाका एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मङ्गोल नेशनल अर्गनाइजेशनले विज्ञप्ति जारी गर्दै वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको बताएका छन्।

चार दलका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराइएको, आवश्यक बिजुली बत्तीको वैकल्पिक व्यवस्था नगरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरूलाई प्रवेश दिइएको जस्ता आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार विभागीय कारबाही तथा पुनः मतदानका लागि माग गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति रहेको व्यहोरा जानकारी गराउँदछौँ।’

मतगणना शनिबारदेखि नै रोकिएको हो। वडा नं ५ ताहुँमा जम्मा एक हजार ९२२ मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.