|

शनिबार सडक दुर्घटनामा परेका अस्ट्रेलियाका लिजेन्ड पूर्व अलराउन्डर एन्ड्रयू साइमन्ड्सले ज्यान गुमाएका छन्। समाचार एजेन्सीहरूका अनुसार शनिबार राति करिब १०ः३० मा टाउन्सविलेमा भएको कार दुर्घटनामा उनी गम्भिर घाइते बने। लगत्तै उनलाई अस्पताल पुर्‍याए पनि डाक्टरले बचाउन सकेनन्। क्विन्सल्यान्ड पुलिसका अनुसार शहरबाट करिब ५० किलोमिटर पश्चिममा तीव्र गतिमा रहेको साइमन्ड्सको कार सडकमा पल्टिएको थियो।

पुलिसका अनुसार दुर्घटना एलिस रिवर ब्रिजनजिक भएको थियो। कारमा साइमन्ड्स एक्लै रहेको जनाइएको छ। उनलाई गम्भिर चोट लागेको थियो। उनलाई अस्पताल पुर्‍याए पनि डाक्टरले उनलाई बचाउन असफल भएका थिए।

४६ वर्षीय साइमन्ड्सको मृत्युले क्रिकेट जगतमा निराशा छाएको छ। उनले अस्ट्रेलियाका लागि १९९८ देखि २००९ सम्म राष्ट्रिय टीमको महत्वपूर्ण सदस्यका रुपमा क्रिकेट खेलेका थिए। उनले अस्ट्रेलियाका लागि २ पटक एकदिवसीय विश्वकप जित्दा उनी टीमका महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए।

विश्वभरबाट उनीप्रति श्रद्धाञ्जलि आइरहेको छ। पूर्व क्रिकेटरहरूले उनको निधनमा शोक प्रकट गरिरहेका छन्। अस्ट्रेलियाका पूर्व विकेटकिपर एडम गिलक्रिस्टले सामाजिक सञ्जालमा आफू मर्माहत भएको बताएका छन्। उनले यो निकै दर्दनाक समय भएको बताए।

अस्ट्रेलियाका पूर्व कप्तान मार्क टेलरले साइमन्ड्सको निधन क्रिकेटका लागि एउटा दुःखद दिनका रुपमा रहेको बताए। पाकिस्तानका दिग्गज बलर शोएब अख्तरले सामाजिक सञ्जालमा आफूले उत्कृष्ट साथी गुमाएको बताएका छन्। उनले फिल्डमा र फिल्ड बाहिरको सम्बन्ध निकै उत्कृष्ट रहेको बताए। 

यो वर्ष अस्ट्रेलियाका ३ खेलाडीको निधन

यो वर्ष अस्ट्रेलियाले आफ्ना दिग्गज स्टार खेलाडी गुमाइरहेको छ। यसअघि अस्ट्रेलियाले रोडनी मार्श र शेन वार्नलाई गुमाएको थियो। शेन वार्नको थाइल्यान्डमा हार्टअट्याकका कारण निधन भएको थियो। साइमन्ड्सको पनि अल्पआयुमा नै सडक दुर्घटनामा निधन हुन पुग्यो।

साइमन्ड्सले २६ टेस्टमा ४० दशमलव ६ को औसतमा १ हजार ४ सय ६२ रन बनाएका थिए भने २४ विकेट लिएका थिए। एकदिवसीयमा १ सय ९८ खेलबाट ३९ दशमलव ७५ को औसतमा ५ हजार ८८ रन बनाएका थिए भने १ सय ३३ विकेट लिएका थिए। टी-२० मा १४ खेलबाट ३३७ रन बनाउँदा ८ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.