|

नेपालीको लागि बुद्ध नेपालमा जन्मेको तथ्य सत्यबोध हुँदा गर्व लागिरहेको छ, लाग्छ र लागिरहन्छ। किनकी, बुद्ध व्यक्ति मात्र नभएर, दार्शनिक नभएर द्रष्टा नै हुन्।

हामीले उनको देशनालाई कति आत्मसात गर्न सकेका छौं ? जीवन बुद्धमय अर्थात् जोर बादि बुद्ध, बाहिर सफल भित्र आनन्दित बन्न सकेका छौं त्यो चाहिं बिचारणीय छ।

बुद्धको बारेमा जति बोध र उनको देशनालाई व्यवहारिक सरलता र सहजतामा अर्थ्याउने काम ओशोले जति कसैले गरेको छैन भन्दा अनर्थ हुँदैन। ओशो भन्नुहुन्छ– बुद्ध र तिमीमा के फरक छ ? सिद्धार्थ राजकुमार नै बुद्ध बने भने तिमी बुद्ध बन्न सक्छौं कि सक्दैनौं ? अर्थात् बुद्धत्वको अनुभूति के हो ?

व्यक्ति धेरै भए अनेक बाहिरी ज्ञान आर्जन गरेर दार्शनिक बन्न सक्छ र उसले आफ्नो क्षमता केवल सोच्नमा लगाउँछ। दार्शनिक जसले सोच्छ, कल्पना गर्छ, तर्क गर्छ र मस्तिष्कको रूपमा आफूलाई बुद्धिमानी र ज्ञानी बनाउन सक्छ।

बुद्ध द्रष्टा हुन् किनकी उनले दार्शनिकले सोचेका, मस्तिष्कमा आएका दृश्य र विचार या कर्मलाई देख्न प्रयास गरे। अनुभूति गर्ने प्रयास गरे अनि आन्तरिक बोधको प्रयास गरे। सोचाईले मात्र दृष्टि मिल्दैन।

ज्ञाता सबैले सोच्न सक्छन् तर सत्य अज्ञेय, शब्दातीत र अनुभूतिमा हुन्छ। भित्री आँखाले जे देख्छ त्यो दृष्टिलाई द्रष्टाले अनुभूति र अभ्यासमा उतार्छ त्यो बुद्धले अनुभूति गरे। के हामी सक्दैनौं त्यो अनुभूतिमा प्रवेश गर्न ? सक्छौं, सहज छ द्रष्टा बन्न तर बाधा छ अहंकारको। म किन बुद्ध बनूँ ?

संसारको प्रतिष्ठा, सफलता, ज्ञान, सम्मान सबै छ तर किन साधना आवश्यक छ ? त्यसैले व्यक्तिलाई बुद्ध बन्नमा असहज छ । तर बुद्धले बाहिर संसार पनि देखे, स्वयंलाई द्रष्टा भएर हेर्ने अभ्यासमा निरन्तर लागे र आफ्नो आत्मज्ञानमा स्थित रहन सफल भए।

दार्शनिक उहापोहकै कारण दृष्टि बोध गर्न सक्दैन व्यक्ति। आँखा छ तर दृष्टि छैन, आँखा भएर पनि भित्र दृष्टि लगाउन नसक्नेको लागि अन्तरप्रकाश देखाउने प्रयास गर्नुहुन्छ बुद्धले, यहि फरक छ बुद्ध र व्यक्तिमा।

ध्यानको आँखा

बुद्धका आँखा ध्यानका आँखा हुन् जसले बन्द गरेपनि भित्रको प्रकाश बोध गर्न सक्छ। धेरै सन्त, गुरूहरूले शब्द र शास्त्र भिडाएर ज्ञानको आँखा खोलिदिने प्रयास गरेका हुन्छन्। तर यसले केवल जानकारीको आँखा खुल्छ, भित्रि आँखा खुल्न ध्यानको नै सहारा लिनुपर्ने हुन्छ।

विचारको बोझले अन्तर प्रकाश छोपिएको हुन्छ, त्यो बोझबाट  बाहिर आउने माध्यम नै ध्यान हो। यहि ध्यानको अभ्यासले सबै दृष्टि, हेराई र सोचाई परिवर्तन भएर आन्तरिक सत्य बोधमा स्थित हुन मद्त गर्दछ।

जब सत्यताको बोध र अनुभूति हुन्छ तब व्यक्ति आफ्नो मौलिकतासंग रम्न थाल्दछ। अब उसलाई कुनै परम्परा, पुरातनवादी सोच र धारणाले असर गर्दैन। कसैले भनेको आधारमा मान्ने होइन आफ्नो अनुभूतिको आधारमा बोध गर्न र जान्न ध्यानले मद्धत गर्दछ।

बुद्ध भन्नुहुन्छ–बोध विनाको श्रद्धा पनि उधारो नै हुन्छ। बोध विनाको विश्वास पनि खोक्रो हुन्छ। मान्ने र धारणा बनाउने काममा समय र शक्ति खर्च नगर्न बुद्धको देशनाले आँखा खुलाउँछ। कल्पना र धारणा बनाएर श्रद्धा पैदा गर्नुपनि झुटो श्रद्धा नै हो। जब ध्यान साधनाबाट बोधको प्रकाश खिल्छ तब श्रद्धा र प्रेम सबैको लागि प्रकट हुन्छ। श्रद्धा त साधना र बोधको परिणाम हो।

कुनै मन्दिरमा दियो बलिरहेको छ, त्यसलाई बाहिरको उज्यालोको मात्र प्रतिक किन मान्नु ? आफ्नो भित्र त्यस्तै प्रकाश छ छैन ? अन्धकार छ भने कारण के हो खोज्न सक्नुपर्छ। अन्धकारसंग डराउनु पर्दैन किनकी अन्धकाररूपी अज्ञानताको बोध पछि मात्र उपचारको खोजी गर्न सकिन्छ। बाहिरको दियो निभ्यो र पनि डराउनु पर्दैन किनकी भित्रको प्रकाशले सबै अन्धकार मेटाईदिन्छ।

सामान्य भाषामा भन्ने–मन सफा हुनुपर्दछ को अर्थ पनि यहि हो कि मनमा विकार र अराजकताको हलचल छ कि छैन ? त्यसैले बुद्ध भन्नुहुन्छ– मेरो प्रतिमा र मूर्तिमा दियो जलाउनुपर्दैन। ध्यानको अभ्यासबाट तिम्रो आन्तरिक प्रकाशलाई प्रज्वलित गर। अप्पःदीपो भव ! निराकारप्रति जागृत बन। अन्तर जगतप्रति नै जाग। किनकी बाहिर त तिमी जीवनभर चलाख बन्ने कोशिस गरिरहेका हुन्छौ।

विचार, भाव, उत्तेजना र तर्कको माध्यमबाट बाहिर चलाख बन्ने प्रयास गर्दै गर्दा आत्मस्मरणमा रहने अभ्यास ध्यानले गराउँछ। यहि अभ्यास विकसित हुँदै गएर पूर्णतःसमाधि अर्थात् पूर्ण विश्रामको अवस्थामा पुग्न सकिन्छ। पूर्ण विश्रामको अर्थ शारीरिक श्रमबाट विश्राम होइन, भावना, तर्क, उत्तेजना र विचारबाट विश्राम लिनु हो।

जब व्यक्तिमा ध्यान, आत्मजागरण, आत्मस्मरण, समाधि र बोधको विकास हुन्छ तब व्यक्ति भेद रहित, शान्त, साक्षी र सन्तोषको अवस्थामा रहन सक्छ। उसका सबै क्रियाकलाप र जीवनशैली सरलता, दयालु, करूणावान र क्षमाशील हुन्छ।

हरेक परिस्थिति र व्यक्तिप्रति गुनासो होइन अहोभावमा जिउने शैलीको विकास हुन्छ। निष्काम कर्म योग उसको गुणवत्ता बन्दछ। कर्ममा आनन्द लिनु र परिणामप्रति अस्विकार नजनाउनु नै निष्काम कर्म योगको मर्म हो। कर्म सही तरिकाले गरेपछि परिणाम त सही आउँछ नै त्यसमा चिन्ता लिनुपर्दैन।

अब यति विकास भईसकेपछि बहुजन हिताय, बहुजन सुखाय जीवनको उद्देश्य हुन्छ। त्यसैले बुद्धले ध्यानमा जोड दिनुको अर्थ नै गुनासो रहित, प्रेम, शान्ति र आनन्दमा जिउने आयाम ध्यान हो। यहि जीवनशैली ले व्यक्ति सधैं उत्सवमयरूपमा जिउन सक्छ।

बुद्ध पण्डित होइनन् वैज्ञानिक

बुद्ध भन्दा पहिले सबै धर्म र परम्परा अन्धविश्वासमा आधारित थिए। बुद्धले आफ्नो ध्यान साधना मार्फत धर्मलाई सिंहासनमा ल्याएर राखिदिए। धर्म त व्यक्तिको स्वभाव हो, जीवनको गरिमा हो र परम सत्य हो। त्यसैले एस धम्मो सनंतनो अर्थात् सदा चलिरहेको  शाश्वत र  सनातन परम्परा नै धर्म हो ।

बुद्धले सम्झाउनु भयो– स्वर्ग र नर्कको चिन्ता नगर। स्वर्गको लोभ र नर्कको डर पनि नलिऊ। बाहिरबाट प्राप्त हुने या भोग्ने भनेका यि सबै कथन व्यर्थ हुन्। तिम्रो स्वभाव असल र इमान्दार छ भने त्यहि स्वभाव नै धर्म हो।

हिंसा, द्वेष, मोह लगायतका रिपु तिम्रा स्वभाव होइनन्। तिम्रो स्वभाव अनुसारको कर्म, कर्म अनुसारको परिणाम भोग्ने छौ त्यसप्रति जागरूक बन। तिम्रो भित्र रहेको अहर्निशको पहिचान गर। अहर्निश अर्थात् हरपल, हरक्षण तिम्रो भित्र के रहन्छ ? तिम्रो स्वभाव, स्मृति, प्रेम, करूणा त्यो भित्र छ, हरपल त्यो छ कि छैन याद गर। छैन भने फेरि याद गर कहाँ गयो र के कारणले गयो।

बेहोशी र विचारका उथलपुथलले आफ्नो स्वभावमा तुफान ल्याइदिन्छ। अन्धविश्वास र पुरातनवादी सोचले रूपान्तरण हुन दिंदैन। बाहिर परिवर्तन र विकसित भएको जस्तो महसुस हुन्छ तर भित्र जड़, मूर्छित, मुर्दा र असहजता बाँकि नै रहेको हुन्छ। नवीनता, संभावनाकासाथ प्रज्वलित अवस्था ऊर्जाको ऊर्ध्वगमन र शास्वत सत्यता र बोधको अनुभूतिमा डुब्न भित्रको कुनै चिजले बाधा पर्दैन। समस्या छ त तिम्रो विचार, दृष्टिकोण र धारणामा छ।

हिलो माथिको कमल अर्थात् हिलो मै उम्रेर पनि हिलोलाई नछोई माथि फुल्न र फक्रिन सक्ने स्वभाव हौ तिमी। यहि चेतनाको शिखरलाई पहिचान गर्न अभ्यासरत सन्देश प्रवाह गर्ने बुद्ध पण्डित नभएर वैज्ञानिकको संज्ञा पाउन सफल भएका हुन्।

सपना र यथार्थ

एउटा प्राचिन कथा थियो–जब ब्रह्माले सृष्टि रचना गर्नुभयो सबै चिज बनाएपछि यथार्थ र स्वप्न पनि बनाउनु भयो।

जब यथार्थ र स्वप्न भेट भए झगडा पर्न शुरू भयो। यथार्थले भन्थ्यो म श्रेष्ठ हूँ, स्वप्न भन्छ म श्रेष्ठ हूँ। झगडा र तर्क बढ्दै गयो, अब ब्रह्मालाई सोध्नु पर्यो भनी दुबै ब्रह्मा कहाँ गए। ब्रह्माले एउटा जुक्ति लगाउनु भयो र भन्नुभयो–सजिलो छ एउटा प्रयोग गरी हेरौं। तिमीहरू दुई मध्ये जो जमिनमा पुरीएर आकाश छुन सक्छौ त्यहि श्रेष्ठ हुनेछौ।

स्वप्नले त तत्काल आकाश छुन सक्यो तर पैताला जमिनमुनि जान सकेन। आकाशमै झुण्डिनु पर्यो। किनकी स्वप्नको पैताला नै थिएन। यथार्थ जमीनमा पुरिएर खडा हुन सक्यो तर हातले आकाश छुन सकेन। तब ब्रह्माले भन्नु भो–देख्यौ त स्वप्न आकाशमै अड्किनु पर्यो र  यथार्थ जमीनमै भड्किनु पर्यो। त्यसैले स्वप्न र यथार्थ मिल्न सक्यो भने  दुबै काम सम्भव हुने रहेछ।

बुद्धले आफ्नो यथार्थलाई नभुली पैतालालाई जमिनमुनि राखेर स्वप्नको सहायताले चेतनाको स्वर्णकलश सहित बोधको मन्दिर निर्माण गर्नुभयो। त्यसैले त भन्न सकिन्छ धेरै नास्तिकहरू जमिनमै अड्किए आदर्श र सिद्धान्त बोकेर।

जब व्यवहारवादी भएर ध्यानको माध्यमबाट चेतनाको अन्तरआकाश छुन, जमिनमा उम्रेको बिज रूख बनेर आकाशमा फल लागेजस्तो बन्न सक्नुपर्ने अभ्यासगत शिक्षा दिएर मानव जातिलाई कल्याण गर्नुभो। हामीले त्यसलाई कति अंगाल्न सक्यौं, समुद्रमा पुगेर पनि हाम्रो पात्र सानो छ भने दुई मुठी जल न ल्याउन सकिन्छ। जागरण र बोधको साधना मार्फत बुद्धलाई हृदयमा बसाउने प्रण गरौं जसले गर्दा आफ्नै स्वभावमा स्थित रही एस धम्मो सनंतनोको मर्मलाई आत्मसात गर्न मद्धत पुगोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.