|

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगाण्डाविरुद्ध टी–२० सिरिजको सुरुवात गर्दैछ।  सोमबार टीयू मैदान कीर्तिपुरमा पहिलो टी–२० दिउँसो १ बजे सुरु हुने छ। 

नेपालले घरेलु मैदानमा खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो। यद्यपि समग्रमा भने यो दोस्रो अन्तराष्ट्रिय सिरिज हो।

नेपाल आफ्नो अन्तर्राष्ट्रिय सिरिजमा घरेलु मैदानमा सुखद नतिजाको प्रतीक्षामा रहेको छ। युगाण्डा पनि नेपाललाई उसकै मैदानमा हराउने लक्ष्यमा रहेको छ। युगाण्डाविरुद्धको टी–२० सिरिज महिला टोलीका लागि ऐतिहासिक मानिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलो पटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो। नेपालले २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाइला चालेको थियो।

त्यस्तै महिला टोलीले घरेलु भूमिमा खेल्न लागेको यो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। नेपालले २०१९ मा १३ औँ सागको आयोजना गरेको थियो। त्यही समय महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। साग अन्तर्गत पोखरामा भएको महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको थियो।

युगाण्डाविरुद्धको सिरिज नेपालको दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिज हो। यसअघि नेपालले कतारविरुद्ध गत मंसिरमा सिरिज खेलेको थियो। कतार भ्रमण गर्दै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको थियो। पाँच खेलको सिरिज अन्तर्गत नेपाल र युगाण्डाबीचको दोस्रो टी–२० मंगलबार प्रतिस्पर्धा गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.