|

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।  नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेलअनुसार अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले ३ हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले २ हजार ८१२ मत पाएर निर्वाचित भएका हुन्।

अध्यक्षमा प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार थमसरा पुनले २ हजार ५४८ र उपाध्यक्षमा एमालेकै प्रगति कार्कीले २ हजार ६१८ मत पाएका छन्। सातवटा वडा रहेको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेसले २, एमालेले ३ र माओवादीले २ वटा वडामा अध्यक्ष जितेका छन्। वडा नं. १ माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन्। १० हजार ९४० मतदाता रहेको धवलागिरीमा ६ हजार ६९४ मत खसेको थियो।

म्याग्दीमा ६ स्थानीय तहमध्ये ४ को स्थानीय तहको मतगणना सकिएको छ। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुन घर्ती निर्वाचित भएका छन्। त्यस्तै रघुगंगाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन्।

मंगलाको अध्यक्षमा एमालेका शतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित भएका छन्। बेनी नगरपालिकामा मेयरमा एमालेका सुरत केसी र उपमेयरमा गठवन्धनकी ज्योति लामिछाने विजयी भएका छन्। अन्नपुर्ण गाउँपालिकाको भने अन्तिम परिणाम आउन बाकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.