वडा नं. ८ को विवादले मतपरिणाम सार्वजनिक भएन

|

धनकुटा : जिल्लाको महालक्ष्मी नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ध्रुबराज राया विजयी भएका छन्। यस्तै, उपमेयरमा नेकपा एमालेका मञ्जु कार्की अधिकारी निर्वाचित भएकी छन्।

रायाले नेकपा एमालेका दीपक बुढाथोकीलाई पराजित गरेका हुन् भने कार्कीले गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रेम खड्कालाई पराजित गरेकी हुन्।

निर्वाचन अधिकृतको कार्यालयले उनीहरुले पाएको मत भने सार्वजनिक गरेको छैन। महालक्ष्मी नगरपालिका वडा नं. ८ मा वडाअध्यक्षका उम्मेदवार एमालेका रामबहादुर खड्का र कांग्रेसका हिक्मत बहादुर भण्डारीका प्रतिनिधिको विवादको कारणले मत परिणाम सार्वजनिक नभएको हो। वडा नं. ८ मा सुरुमा कार्की र भण्डारीको बराबर मत आएको भनिएको र पछि पुन खड्का २ मतले विजयी भएको भनेर निर्वाचन अधिकृतको कार्यालयले बताएपछि विवाद आएको बताइएको छ।

यस विषयमा बुझ्न निर्वाचन अधिकृत लक्ष्मीदेवि होमागाई खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ।

यता, जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले वडा नं. ८ मा विवाद आएकाले मत परिणाम सार्वजनिक नभएको जानकारी दिए। उनले नगरपालिका प्रमुखमा राया र उपप्रमुख कार्की विजयी भएको जानकारी दिए।

श्रेष्ठका अनुसार वडा नं. ८ मा विवाद भए पनि वडा नं. १, ४ र ९ मा एमाले र २, ३, ५, ६ र ७ मा गठबन्धनका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.