|

पर्वत : पर्वतको फलेवास नगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले नगरप्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएका छन्।
नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले १ हजार ३२० मतले एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन्। तिवारीले ७ हजार ७०० मत ल्याउँदा शर्माले ६ हजार ३८० मत पाएका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका नेता गंगाधर तिवारीलाई ३३८ मतान्तरले हराउँदै नेकपा एमालेका पदमपाणी शर्मा नै फलेवास नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

त्यो वेलाको निकै प्रतिस्पर्धी र उत्साहपूर्ण निर्वाचनमा शर्माको पक्षमा ६ हजार १०३ मत आउँदा तिवारीको पक्षमा ५ हजार ७५५ मत परेको थियो। पाँच वर्षअघि प्रतिस्पर्धा गरेका तिनै शर्मा र तिवारी पुनः चुनावी मैदानमा रहे। दोहोरिने दाउमा रहेका शर्मा २०७४ को बदला लिन खोजेका तिवारीसँग पराजित भएका छन्।

गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएका तिवारीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कार्यकर्ता–समर्थकले पनि मतदान गरेका थिए।

नगरको उपप्रमुखमा गठबन्धनको तर्फबाटै उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भएकी छिन्। क्षेत्रीले ६ हजार ३२७ मत ल्याउँदा संस्थापक उपप्रमुख समेत रहेकी एमालेकी उम्मेदवार मञ्जु अधिकारी प्यासीले ६ हजार ५७ मत प्राप्त गरिन्। अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाट उपप्रमुखमा उम्मेदवारी दिएकी क्षेत्रीले उति बेला ६९६ मत मात्रै ल्याएकी थिइन्।
योसँगै फलेवासका ११ ओटा वडाहरूमध्ये ६ ओटा वडामा नेपाली कांग्रेसका र ५ ओटा वडामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्।

एमालेबाट वडा–२, ५, ७, ८ र ११ मा क्रमशः गङ्गानारायण श्रेष्ठ (८६२), नारायणप्रसाद लामिछाने (६६१), केशर पन्त (४३८), मनबहादुर कुँवर (४५०), रुद्र बहादुर पाठक (५८७) रहेका छन्। यस्तै नेपाली कांग्रेसबाट वडा–१, ३, ४, ६, ९ र १० मा क्रमशः चोलाकान्त पाध्या (६१०), अर्जुनबहादुर के.सी (१३३६), अच्युत तिवारी (७११), नवीनकुमार श्रेष्ठ (१००६), हितमान गुरुङ (५११) र अमरबहादुर क्षेत्री (६३७) रहेका छन्।
कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको पाङराङ गुमाउँदा अघिल्लो पटक गुमाएको कार्कीनेटा, मुडिकुवा, भंगरा र कुर्घामा भने ‘कम ब्याक’ भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.