|
हसन अन्सारी

विराटनगर : नेपाली काङ्ग्रेसका नेता एवम् महासमिति सदस्य हसन अन्सारीमाथि कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।

अन्सारीका भनाइअनुसार विराटनगर वडा नं. १७ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएर भर्खरै पराजित भएका असलम आलम र उनको समूहले अन्सारीलाई दुर्व्यवहार गरेको हो।

विराटनगर–१७ स्थित उनका घरमा असलमको नेतृत्वमा बिहान साढे ११ बजे  केही युवाको समूह आएर उनीमाथि दुर्व्यवहार गरिएको अन्सारीले बताए।

‘त्यसपछि गुण्डागर्दी कस्तो हुन्छ हामी देखाइदिन्छौँ भन्न थाले‚’ युवाको समूह एक्कासी अन्सारीको गेटबाट जबर्जस्ती भित्र पसेको बताउँदै उनले  भने, ‘ यसो भन्ने अबुल थिए। अबुलले नै मलाई देखाएर यसलाई गोली ठोकिदेऊ भनेका थिए।’ उनीहरूले आफूले अन्तरघात गरेको आरोप लगाउँदै दुर्व्यवहार गरेको बताउदै उनले भने, ‘आपने चुनाव हरा दिया बधाई हो’ भन्दै गाली गरे।’

अन्सारीको भनाईअनुसार यसपछि उनका घरमा रहेका युवक र उनको कार्यालयका कर्मचारीहरूले उनलाई छुट्टै राखे। घरमा भएका मान्छेले गर्दा कुनै अप्रिय घटना हुन नदिएको उनले बताए।

हसनले यस विषयमा आफूले इलाका प्रहरी कार्यालय रानीमा जाहेरी दिएको बताए। उनले जाहेरी दिन गएका आफ्ना कार्यकर्ता मुन्नालाई असलमका कार्यकर्ताले इलाका प्रहरी कार्यालयअगाडि कुटपिट गरेको आरोपसमेत लगाएका छन्।

यता असलम आलमका समर्थक रहेका मोहम्मद फैयाजले हसनको आरोपको खण्डन गर्दै हसनमाथि कुनै आक्रमणको प्रयास नभएको दाबी गरे।

‘असलम दाइहरू चुनावी समीक्षा गर्न हसन दाइका घरमा जानु भएको थियो,’ उनले भने, ‘हसनले एक्कासी गेट बन्द गरे र यिनीहरू सबैलाई पिट भन्न थाले। हसनका छोराले बाँसको मुङ्ग्रो र फर्सा निकाले। हाम्रा साथीहरू ज्यान जोगाएर त्यहाँबाट निस्किए।’

इलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक महेन्द्र दर्नालले चुनावी समीक्षामा विचार नमिलेर सामान्य विवाद भएको भन्ने  रिपोर्ट आफूले पाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.