|

काठमाडाैं : साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।

स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो।

मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंकले गिरावट आएको छ।

मंगलवार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

मंगलवार नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै,विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ।

लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

मंगलवार नेप्से परिसूचक गिरावटसँगै तीन कम्पनीको मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ।

त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जी र युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। तर यता सामुदायिक लघुवित्तको शेयर मूल्य भने ५ प्रतिशत बढीले बढेको छ।

मंगलवार कारोबार रकमका आधारमा ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर कम्पनीको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.