|
फाइल तस्वीर

विराटनगर : सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ। उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्लाको फैसला बदर गरेको हो।

गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो। जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्टाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए। उनका अनुसार उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणहरू पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिएको छ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि हिरासतको अवधि सिद्धबाबाले विराट नर्सिङ होममा बिताएका थिए।

३ लाख धरौटीमा छोड्ने आदेश थियो

गिरीलाई २०७६ पुस १४ गते  जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो। २०७६ माघ ९ गते उच्च अदालत विराटनगरका तत्कालिन मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। जिल्लाको फैसलापछि भने उनी कारागारबाट आश्रम फर्किएका थिए।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो।

जिल्लाको फैसलाविरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरिएको थियो भने जिल्लाको फैसलाविरुद्ध २०७७ चैत २६ गते सिद्धबाबा उच्च अदालतमा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.