|

हेटौंडा : स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा चलिरहँदा हेटौंडाको राजनीति यतिवेला रोचक र अनपेक्षित मोडमा चलिरहेको छ।

३ दशकदेखि हेटौंडामा आफ्नो बलियो गढ बनाउँदै आएको एमाले यो निर्वाचनमा प्रतिस्पर्धामा नै उत्रिन नसक्दा राजनीति नै नयाँ मोडमा चलेको हो। शनिबार शुरु भएको हेटौंडाको हालसम्मको मतगणना हेर्दा एमालेले दोस्रो स्थानमा पनि आउन सकेको छैन। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वटा वडा जितेको एमालेले यो निर्वाचनमा पनि सहजै जित हात पार्ने दाबी गरेको थियो।

तर हेटौँडा उपमहानगरपालिकाका ४ वटा वडाको मतगणना सकिएर ८ वटा वडाको मतगणना जारी रहँदासम्म एमाले तेस्रो स्थानमै सीमित भएको छ। हेटौंडामा गठबन्धन र राप्रपा मात्र मुख्य प्रतिस्पर्धामा रहेका छन्।

नेकपा एमालेबाट बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभा सदस्य कृष्ण दाहाल, युवा नेता महेश बर्तौलालगायत केन्द्रीय तहका नेताहरू भएको जिल्लाको एक मात्र उपमहानगरमा एमाले प्रतिस्पर्धामा नै उत्रिन नसक्नु हेटौंडाको लागि मात्रै होइन देशकै लागि अनपेक्षित विषय हो। अहिलेको निर्वाचनमा हेटौंडामा एमाले यसरी खस्किन्छ भन्ने कुरा एमालेले मात्रै होइन प्रतिस्पर्धामा रहेका अन्य दलले समेत कल्पना नगरेको विषय हो।

३ दशकदेखि अघिल्लो निर्वाचनसम्म लगातार पहिलो रहँदै आएको एमाले यसपालिको निर्वाचनमा एक्कासी तेस्रो स्थानमा कसरी खस्कियो? एमालेलाई राप्रपाजस्तो सानो दलले कसरी पछि पार्न सक्यो? यतिवेला हेटौंडाको चासो र चर्चाको विषय बनेको छ।

एमालेबाट हेटौंडामा मेयरको उम्मेदवार बनेका अनन्त पौडेल संविधानसभा सदस्य हुन्। उनको नाम हेटौंडामा सुपरिचित नै छ। २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका उनले हेटौंडामा आफूले सहज रुपमा राम्रो मतसहित विजयी हुने दाबी गरेका थिए। गठबन्धनलाई आफ्नो प्रतिस्पर्धी नै नमान्ने बताउँदै आएका पौडेल आइतबारदेखि आफैँ प्रतिस्पर्धामा उत्रिन सकेका छैनन्।

पौडेल र एमालेबाट उपमेयरको उम्मेदवार बनेकी सुमित्रा काफ्लेको मतान्तर हेर्दा उनले उपमेयरकी उम्मेदवारको तुलनामा एक हजार मत कम पाएका छन्। यद्यपि काफ्ले गठबन्धनको उम्मेदवारभन्दा ४ हजार मतान्तरले पछि नै छिन्। तर पनि काफ्लेले पाएको अनुपातमा मात्र पनि पौडेलले मत पाउन सकेको भए यतिवेला उनले पनि हेटौंडाको मेयरमा कडा प्रतिस्पर्धा गरिरहेका हुने थिए।

तर पौडेलले आफ्नै पार्टीबाट उपमेयरको उम्मेदवार बनेकी काफ्लेको जति पनि मत पाउन नसक्दा मेयरका अरु दुई उम्मेदवारसँग प्रतिस्पर्धा समेत गर्न सकेका छैनन्। मतपत्र हेर्दा उपमेयर काफ्ले र अन्य उम्मेदवारले पाएको मत पौडेलले नपाएको देखिन्छ। उनले पाउनुपर्ने मतमध्ये केही गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई त केही राप्रपा उम्मेदवार दीपकबहादुर सिंहलाई गएको देखिन्छ।

यसरी हेर्दा एमालेबाटै उनको भोट काटिएर अन्य उम्मेदवारतर्फ गएको अनुमान सहजै गर्न सकिन्छ। पौडेल हेटौंडाको प्रतिस्पर्धामा नै उक्लिन नसकिरहेको अवस्थामा उनको पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न थालिसकेका छन्। कार्यकर्ताको मनोभावना नबुझी नेता मात्र एकलौटी ढंगबाट अघि बढ्न खोज्दा पार्टीभित्रबाटै अन्तर्घात भएको उनीहरूको भनाई छ।

नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ यस विषयमा खासै बोल्न चाहेनन्। हेटौंडामा एमाले किन खस्कियो? भन्ने प्रश्नमा बोल्न नरुचाएका उनले पार्टीभित्र समस्या नभएको बरु गठबन्धनले गर्दा असर गरेको बताए। जबकि एक्लै सानो दल राप्रपाले समेत एमालेलाई उछिन्दै धेरैपटक पहिलो स्थानको प्रतिस्पर्धामा पुगिसकेको छ।

हेटौंडा राप्रपा नेपालको अध्यक्ष कमल थापाको गृहनगर हो। करिब ३ दशक राप्रपाबाट राजनीति गरेका उनले केही महिनाअघि मात्र राप्रपा त्यागे। राप्रपा त्यागेर राप्रपा नेपाललाई पुनर्जीवित गराएका उनको समर्थन नेकपा एमालेलाई नै छ। थापा नेतृत्वको राप्रपा नेपालले एमालेलाई समर्थन गरेको अवस्थामा उनको गृहनगरमा उनले छाडेको सानो पार्टीबाट सिंहले गरिरहेको प्रतिस्पर्धा आश्चर्यको नै छ।

यसअघिको निर्वाचनमा हेटौंडाको एउटा वडा सदस्यबाहेक अन्य कुनै पद जित्न नसकेको राप्रपा यो निर्वाचनमा एमालेलाई पछि पार्न सक्ने कसरी भयो? यो अर्को चासोको विषय बनेको छ।

कसरी पाए दीपक सिंहले पपुलर मत?

राप्रपाबाट मेयरको उम्मेदवार बनेका दीपक सिंह हेटौंडामा पुरानो र चर्चित नाम हो। धनाढ्य व्यक्तिमा गनिने उनी हेटौंडाका कुना काप्चाको वृद्धवृद्धासम्म परिचित छन्। गृहनगर हेटौंडा भएपनि हेटौंडा खासै नबस्ने उनी वैशाख १२ गते उम्मेदवारी दर्ता अन्तिम दिन प्लेनमा सिमरा अवतरण गरेर अपरान्ह ४ बजे हेटौंडा आइपुगेका थिए।

अन्तिम समयमा आएर उम्मेदवार बनेका उनले पाएको मतले सिंहलाई हेटौंडामा पपुलर बनाइरहेको छ। उनले पपुलर मत पाइरहँदा उनीसँगै राप्रपाबाट उपमेयरको उम्मेदवार बनेकी इन्दिरा डल्लाकोटी न्यौपाने भने निकै पछि परेकी छन्। करिब २८ हजार मत गणना गर्दा उनलाई २ हजार कटाउन पनि हम्मेहम्मे परेको थियो।

यस्तोमा सिंहले राप्रपाबाट सांगठनिक मत पाएको देखिँदैन। तर पछिल्लो समय नेकपा एमालेमा पार्टी विभाजनको असर र नेपाली कांग्रेसमा देखिएको विवादले सिंहलाई फाइदा भएको देखिन्छ। कांग्रेस पार्टी कार्यालयमा प्रमुख पद आफूहरुले पाउनुपर्छ भन्दै विवाद हुने र एमाले पार्टी सक्षम मान्छेभन्दा पनि नातावाद हाबी भएको भन्दै दुवै पार्टीमा विवाद देखिएको थियो। एमालेलाई उछिनेर प्रतिस्पर्धामा उत्रिनु गठबन्धनको लागि पनि सहज थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.