दोस्रो-तेस्रोमै समेटिए एमाले र माओवादी

|

काठमाडौंः गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही ठाउँमा पहिलेदेखि नै पकड भएका पार्टीले सहज जित निकालिरहेका छन् भने केही ठाउँमा अघिल्ला निर्वाचन हेरी परिणाम फरक आएको छ। त्यस्तै केही ठाउँमा स्वतन्त्र उम्मेदवारले पनि जितिरहेका छन्। 

जम्मा ३५ हजार २ सय २१ पदको लागि १ लाख ३५ हजारभन्दा बढीले उम्मेदवारी दिएका थिए। १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेकोमा ६४ प्रतिशतले मात्रै मतदान गरे। जुन अघिल्लो स्थानीय तह निर्वाचनको भन्दा १० प्रतिशतले कम हो। 

सार्वजनिक मतपरिणाम अनुसार (समाचार तयार पार्दासम्म) यो निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ। जम्मा ३ सय ९५ स्थानीय तहको मतपरिणाम आउँदा ५० नगर प्रमुख र १ सय ३४ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने सयभन्दा बढी स्थानीय तहमा कांग्रेसको अग्रता कायम छ। 

साथै ४२ उपप्रमुख, १ सय ३२ उपाध्यक्ष, १८ सय ७१ वडाध्यक्ष, १७ सय ४५ महिला सदस्य, १७ सय ८० दलित महिला सदस्य र ३६ सय ९३ सदस्य गरी नेपाली कांग्रेसका ९ हजार ४ सय ४७ उम्मेदवार विजयी भएका छन्। 

त्यस्तै अहिलेसम्मको मतपरिणाले दोस्रो पार्टी बन्ने देखिएको नेकपा एमालेले २६ नगर प्रमुख र ८७ गाउँपालिका अध्यक्ष गरी १ सय १३ स्थानीय तहमा जित हाँसिल गरेको छ भने ८६ स्थानमा अग्रता लिइरहेको छ। प्रमुख र अध्यक्ष बाहेक एमालेका २८ उपप्रमुख, ८४ उपाध्यक्ष, १४ सय ५६ वडाध्यक्ष, १५ सय ६२ महिला सदस्य, १५ सय ४३ दलित महिला र ३१ सय ७० सदस्य गरी जम्मा ७ हजार ९ सय ५६ जना उम्मेदवार विजयी भएका छन्।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९ नगर प्रमुख र ६८ गाउँपालिका अध्यक्ष गरी ७७ स्थानीय तहमा जित हाँसिल गरेको छ भने ३३ स्थानीय तहमा अग्रता लिइरहेको छ। प्रमुख र अध्यक्ष बाहेक उपप्रमुखमा १३, उपाध्यक्ष ७१, वडाध्यक्ष ७ सय ९१, महिला सदस्य ७ सय ३७, दलित महिला सदस्य ७ सय ५० र सदस्य १३ सय ७० गरी माओवादीका ३ हजार ८ सय ९ जना उम्मेदवार विजयी भएका छन्। 

त्यस्तै जनता समाजवादी पार्टी चौँथो स्थानमा देखिएको छ। नगर प्रमुख पदमा एउटा पनि जित ननिकालेको जसपाले ५ गाउँपालिका अध्यक्ष पदमा जित निकालेको छ। उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी जसपाका ६ सय २० भन्दा बढी उम्मेदवारले जित हाँसिल गरेका छन्। पाचौँ स्थानमा देखिएको एकीकृत समाजवादीले १ नगर प्रमुख, ४ गाउँपालिका अध्यक्ष गरी ५ स्थानीय तहमा विजयी भएको छ। वडाका सबै पदहरूमा गरेर समाजवादीका ६ सय ५ बढी उम्मेदवार विजयी भएका छन्। 

यी बाहेक शुक्रबार हुन नसकेका केही स्थानीय तहमा आज पनि मतदान हुँदैछ। अहिले मतगणना भइरहेका ६ वटा महानगरपालिकाको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। 

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम छ। ललितपुरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन् भने भरतपुरमा रेणु दाहालले अग्रता लिइरहेकी छन्। त्यस्तै पोखरा लेखनाथमा एकीकृत समाजवादीका धनराज आचार्य, विराटनगरमा नेपाली कांग्रेसका नागेश आचार्य र विरगञ्जमा जसपाका राजेश मान सिंहले अग्रता लिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.