|

झापा :  दक्षिणी झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षसहित पाँचवटा वडा प्यानल नै जितेको छ।

नेकपा (एमाले)ले गाउँपालिका उपाध्यक्षसहित एउटा वडा जितेको छ। यसपल्ट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र एमालेले चुनावी तालमेल गरी प्रमुख पद भागबण्डा गरेका थिए। वडामा भने कांग्रेस र एमाले एक्ला एक्लै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए।

जिल्लामै राप्रपाको राजधानी भनेर चिनिएका कचनकवलमा राप्रपाले यसपल्टको निर्वाचनमा एउटा सदस्य पद मात्र जितेको छ। त्यो पनि वडा नम्बर २ मा दलित महिला सदस्य।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी भारी मतान्तरले जितेका छन्। राजवंशीले राप्रपाका उम्मेदवार तथा गाउँपालिकाका निवर्तमान अध्यक्ष अन्जरा आलमलाई ४८१० मतान्तरले पराजित गरेका हुन्। राजवंशीले ११ हजार ४७७ मत ल्याउँदा आलमले ६ हजार ६६७ मत ल्याएका छन्। राजवंशीले २०७४ सालको निर्वाचनमा हार बेहोरेको बदला लिएको छ।

त्यस्तै, उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका छन्। उनले राप्रपाकी उम्मेदवार तथा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष निमसरि राजवंशीलाई एक हजार ३४२ मतान्तरले पराजित गरेका हुन्। भट्टराईले ८ हजार १४३ मत ल्याउँदा राजवंशीले ६ हजार ८०१ मत ल्याइन्। कांग्रेसले पाँच वडा अध्यक्षसहित २० समेत जितेका छन्। गाउँपालिकामा ३७ जनप्रतिनिधि हुनुपर्नेमा कांग्रेसले मात्र २७ जनप्रतिनिधि जिताएर एकल बहुमत ल्याएका छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा कचनकवलमा राप्रपाको एकल बहुमत थियो।

एमालेले उपाध्यक्ष, एउटा वडा अध्यक्ष र तीन वटा सदस्य जितेको छ। ६ नम्बर वडा एमालेको गढ मानिन्छ। अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो। तर, यसपल्ट कांग्रेसले राप्रपासँगै एमालेको गढ पनि भत्काउन सफल भएको छ। ६ नम्बर कांग्रेसको प्यानल नै जितेको छ।

को हुन कालेन्द्र?

पिता स्व.घेनकेटु राजवंशी र माता स्व.थेपो राजवंशीको कोखबाट वि.सं. २०२४ साल कार्तिक १६ गते जन्मिएका कालेन्द्रप्रसाद सिंह राजवंशी सरल र शान्त स्वभावका व्यक्ति हुन्।

उनको स्थानीय घर साबिक घेरावारी गाविस-८ हाल कचनकवल गाउँपालिका( १ हो। गरिब परिवारमा जन्मिएका राजवंशी कक्षा ५ सम्म बुद्ध प्रावि घेरावारीमा प्रारम्भिक शिक्षा पूरा गरे । त्यसपछि पथरिया माविबाट उनले एसएलसी पास गरे। २०४१ सालमा मेची बहुमुखी क्याम्पस पढ्दै गरेको पारिवारिक आर्थिक बोझका कारण उनी कामको खोजीमा लागे।

कामको सिलसिलामा उनी शिक्षण पेसातर्फ लागे। तर, उनी त्यो शिक्षण पेसा बीचमै छाडेर आफ्नो पढाइलाई पूरा गर्नतर्फ लागे। उनले २०४६ सालमा मेची क्याम्पसबाट स्नातक मानविकी पास गरे। सोही बेला पारिवारिक सम्बन्धका कारण उनीसँग कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग भेटघाट भयो। भेटघाटको सम्बन्ध त्यति नजिकियो कि राजवंशी सिटौलाको विश्वासपात्र नै बन्यो।

उनको पारिवारिक समस्यालाई हेरेर सिटौला राजवंशीसँग झन् नजिकियो। टङ्कनारायण राजवंशी त्यस बेला जिल्ला विकास समिति झापाको सभापतिमा निर्वाचित भएपछि सिटौलाकै पहलमा उनले जिविसमा २०४३ देखि ०४६ सम्म नायव सुब्बाको जागिर खाए।

विद्यार्थी जीवनमै जागिर पाए पनि पारिवारिक समस्याका कारण उनी त्यो जागिर पनि छाडेर फेरि गाउँ नै फर्किए। त्यसपछि उनी गाउँ फर्किएर पुनः शिक्षण पेसामा लागे। २०४६ सालदेखि नै निरन्तर शिक्षक पेसामा लागेका उनी बुद्ध आधारभूत विद्यालयमा २०६५ सालदेखि ०७३ सम्म प्रधानाध्यापकको जिम्मेवारी निभाए। सोही बेला उनी कांग्रेसका क्रियाशील सदस्य बने। उनी नेपाल शिक्षक संघ क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव हुँदै जिल्ला सदस्य पनि बने।

 त्यसपछि पार्टीमा निरन्तर लागेका उनी कांग्रेसको १२ औं जिल्ला महाधिवेशन र १३ औं जिल्ला महाधिवेशनबाट गरी दुई कार्यकाल जिल्ला सदस्यमा निर्वाचित भए। भर्खरै सम्पन्न १४ औं जिल्ला महाधिवेशनबाट उनी जिल्ला सहसचिवमा निर्वाचित भए।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा कांग्रेसले उनीलाई गाउँपालिका अध्यक्षको टिकट दियो। तर, सो निर्वाचनमा उनले राप्रपासँग पराजय भोग्यो। त्यसपछि उनी निरन्तर पार्टीका काम सक्रिय भएर लागे र पालिकामा सङ्गठन विस्तारलाई तीव्रता दिए। त्यसैको फल स्वरूपमा २०७९ सालको निर्वाचनमा कांग्रेसले गाउँपालिकामा आफ्नो पुरानो बर्चस्व फर्कायो।     

कांग्रेसले फर्कायो पुरानो विरासत

वि.सं. २०५४ सालको स्थानीय निकाय निर्वाचनसम्म दक्षिणी झापाको कचनकवल गाउँपालिकामा समावेश भएका ६ वटा गाविसहरू नेपाली कांग्रेस र नेकपा (एमाले)को पकडमा थियो। त्यसमध्ये साबिक गाविसहरू पाठामारी, केचना, घेरावारि, बालुवाडी कांग्रेसको गढ र बनियानी, पथरीया एमालेको गढ हो।

त्यसभन्दा अघि ती गाविसहरूमा नेपाल सद्भावना पार्टीको दबदबा रहेको स्थानीय कनक राजवंशीले बताए। गाउँपालिका अध्यक्षमा निर्वाचित कालेन्द्रका भाइ समेत रहेका कनकले भने, ‘पहिला हाम्रो परिवार सद्भाव पार्टी आबद्ध थियो, नेता सिटौलाकै कारण हामी सद्भावना छाडेर कांग्रेसमा लाग्यौ’। ‘पछि सबै जना सद्भावना छाड्दै गएपछि गाविसहरू कांग्रेसमय बन्यो।'

यता २० वर्ष लामो जनप्रतिनिधि विहीन अवस्थामै सरकारले नगर तथा गाविसहरू पुनर्संरचना गरी पालिका बनायो। पालिका बनाएपछि सरकारले पहिलो पटक २०७४ सालमा स्थानीय तह सदस्य निर्वाचन गर्यो। त्यस बेलाको निर्वाचनमा कांग्रेस र एमालेको गढ भत्काउँदै राप्रपाले बाजी मार्यो। कांग्रेस र एमाले दुई÷दुई वडा जित्दा राप्रपाले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित तीन वडा जित्यो। पाँच वर्ष राप्रपाले गाउँपालिकामा बहुमतको स्थानीय सरकार चलायो।

ती पाँच वर्षमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधिले गरेको कामप्रतिको मूल्याङ्कनलाई कचनकवलबासीले आफ्नो मत अधिकार दिएर फर्काइदिएको छ। यसपल्टको स्थानीय तह निर्वाचनमा कांग्रेस आफ्नो पुरानै विरासत फर्काउन सफल भएको छ।

स्मरण रहोस् झापा क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र हो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले एमाले र माओवादीसँग चुनावी तालमेल गरी कांग्रेस नेता सिटौलालाई पराजित गर्दै राप्रपाका लिङदेन विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.