|

सुर्खेत :  सुर्खेतका नौ पालिकामध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भइरहँदा कांग्रेसको वर्चस्व धेरै ठाउँमा देखिएको छ। 

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको पश्चिम सुर्खेतको वराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा विजय हासिल गर्न सफल भएको छ।

यसअगाडि चिगांड गाउँपालिका जितेको कांग्रेसले योपटक गुमाएको छ भने एमालेले जितेको लेकबेशी नगरपालिकामा विजय हासिल गर्न सफल भएको छ।

गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र वराहताल गाउँपालिकामा कांग्रेसले आफ्नो पुरानो वर्चस्व कायम राख्दै लेकबेशी नगरपालिका थपियो भने चिंगाड गाउँपालिका जोगाउन सकेन।

चिंगाड गाउँपालिकामा नेकपा माओवादी र कांग्रेसबीच गठबन्धन गर्ने निर्णय भए पनि सो अनुसार कांग्रेसले वडामा उम्मेदवारी नझिक्दा र भागबण्डा मिल्न नसक्दा माओवादीले यहाँ गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो। गठबन्धनबाट माओवादी बाहिरिएपछि एमालेलाई पालिका जित्न सहज भएको कतिपयको भनाइ छ।

पञ्चपुरीमा कांग्रेसका उम्मेदवार विजयी

सुर्खेतको पश्चिम क्षेत्रमा पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार लालवीर भण्डारीले ५९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याए भने नेकपा माओवादीका केशबहादुर शाहीले २७८३ मत ल्याए।

उपप्रमुखमा कांग्रेसकै मुक्तिदेवी रेग्मी विजयी भइन्। उनले ६०९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी दुर्गाकुमारी जैसीले ५१६८ तथा माओवादीका नेकपा एसका कविता सोडारीले १७५२ मत ल्याइन्। 

चिङ्गाडमा कांग्रेसको गढ तोडियो

चिङ्गाड गाउँपालिकामा नेपाली कांग्रेसको गढ तोड्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। चिङ्गाडमा एमालेका बोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन्।

मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन्। जिसीले ३५९१ मत प्राप्त गर्दा शर्माले ३५३० मत पाएर पराजित भएका छन्।

यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले ३५८१ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्य पराजित भएकी छन् भने उनले ३४६९ मत पाएकी छन्।

गुर्भाकोटमा दोहोरिए काँग्रेसका दुवै उम्मेदवार

गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ। नेपाली कांग्रेसका निवर्तमान प्रमुख र उपप्रमुख दुवै विजयी भएका छन्।

अघिल्लो कार्यकाल मेयर समेत रहेका हस्त पुनले ११ हजार ९७८ मत ल्याएर विजयी भएका हुन् भने नेकपा एमालेका तिलकबहादुर खत्रीले १० हजार १८६ मत पाएर पराजित भए। उपप्रमुखमा कांग्रेसकै मैना विक विजयी भएकी छिन्।

उनले ११ हजार ७४३ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीलाकुमारी विश्वकर्मा नारले १० हजार २९९ मत पाइन्।

लेकबेशी एमालेबाट खोसियो

लेकबेशी नगरपालिका नेकपा एमालेको राम्रो प्रभाव क्षेत्र मानिन्थ्यो । यसअघि दुवै पदमा धेरै मतान्तरमा एमालेका उम्मेदवार विजयी भएका थिए।
नेपाली कांग्रेसका उमेशकुमार पौडेलले नेकपा एमालेका देवबहादुर रानालाई पराजित गरेका हुन्।

उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा एमालेका विमला खडलुक विजयी भएकी छिन् भने नेकपा एकीकृत समाजवादीका देउकली थापामगर पराजित भएकी छिन्।

वराहतालमा कांग्रेसका भण्डारी विजयी

बराहताल गाउँपालिकाका अध्यक्षमा कांग्रेसका भीमबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन्। भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेले ३५५५ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन्। पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन्। उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पराजित गरेकी हुन्। विष्टले ३५९९ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.