|

पर्वत : कास्कीको पोखरा महानगरपालिकाका प्रमुख पदमा प्रतिस्पर्धा गरिरहेका गठबन्धन र एमालेबीचको मतान्तर झनै फराकिलो बन्दै गएको छ। 

एमालेका आधार क्षेत्रमा गणना हुँदा मतान्तर कम हुने आकलन कार्यकर्ताले गरेको भए पनि गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले एमालेका कृष्ण थापालाई करिब २ हजार मतको अन्तरले पछाडि पारेका छन्।

पछिल्लो पटक सार्वजनिक गरिएको ३६ हजार ८१३ मतको नतिजामा आचार्यले थापालाई १ हजार ९५९ मतले पछाडि पारेका छन्। आचार्यको पक्षमा १५ हजार २८८ मत आउँदा थापाले १३ हजार ३२९ मत पाएका छन्। 

नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ५५६, अटेरी समूहका गनेश पौडेलले ८६६, विवेकशील साझाकी सुशीला केसी (अधिकारी) ले १११ मत पाएका छन्। यी बाहेकका अन्य उम्मेदवारहरूले एक सय मत पनि कटाउन सकेका छैनन्। 

उपप्रमुखमा रहेको मतान्तरको सीमा भने बुधबार बिहानको तुलनामा केही घटेको छ। पछिल्लो परिणामअनुसार कांग्रेसबाट उम्मेदवार रहेकी कोपिला रानाभाटले एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई ३७० मतले पछाडि पारेकी छिन्। रानाभाटको पक्षमा १५ हजार ५९५ मत आउँदा गुरुङको पक्षमा १५ हजार २२५ मत आएका छन्।

जबकी बुधबार बिहानको नतिजामा गुरुङ ४१० मतले पछाडि परेकी थिइन्। उपप्रमुखमा प्रतिस्पर्धा गरिरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रन्जनाकुमारी सेन पौडेललाई १ हजार ३२३ र विवेकशील साझाका माधव पौडेललाई ७० मत आएका छन्। यी बाहेकका अन्य उम्मेदवारहरूको मत ५० पनि पुगेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.